तानसेन समाचारदाता
तानसेन, भदौ ३ गते । आयातित जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले तानसेनमा जनै बनाउन सिकाइएको छ । नयाँ र युवा पुस्ताका विद्यार्थीलाई जनै बनाउन सिकाइएको छ । जिल्लामा क्रियाशील ब्राह्मण समाज पाल्पाले मेसिनबाट बनेको जनै लगाउन निरुत्साहित गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई जनै बनाउन सिकाएको हो ।
जनैपूर्णिमा नजिकिँदै गर्दा बजारमा आयातित जनैको प्रभाव बढेको छ । आयातित जनैको प्रभाव घटाउन र परम्परागत जनैमा आत्मनिर्भर बनाउन युवा विद्यार्थीलाई सिकाइएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो । आयातित जनै मेसिनमा बनेका हुने भएकाले त्यसलाई निरुत्साहित गर्न नयाँ पुस्तालाई जनै बनाउन सिकाइएको उहाँले बताउनुभयो । परम्परागत विधिबाट जनै तयार गर्न तानसेनका ३९ जना किशोर, युवा, महिलादेखि वृद्धवृद्धासमेत सहभागी भएको उहाँले बताउनुभयो ।
विदेशबाट आयात हुने जनै मेसिनमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भन्दै परम्परागत विधिलाई संरक्षण गर्न तालिम दिइएको पण्डित नारायण अर्यालले बताउनुभयो । जनै बनाउन काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । यसलाई त्रिखुट्टीमा सङ्कलन गरिन्छ । त्यसपछि २७ सराको दरले बेर्ने गरिन्छ । त्यसपछि उठाउने र फेरि फर्काउने (औँलामा) बेरिन्छ । परम्परागत ढाँचा अनुसार कतुवा लिने र दाहिने बाट्ने प्रचलन छ । साथी वा किलाको सहयोगमा जनैको टुप्पामा सिक्का पारिन्छ । एउटा टुप्पो समातेर तीन सरा बनाउने र तेब्राउनुपर्ने जानकारहरू बताउँछन् ।
जनैको शिखामा ब्रह्मा, विष्णु र महेश्वरको बास हुने धार्मिक विश्वास छ । जनै मन्त्रँदा शिखामा तिनै देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्मा तेज पैदा गर्ने बनाउनु पर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ भन्ने धार्मिक मान्यता छ । उपनयन संस्कार अर्थात व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने माध्यता रहेको पण्डित अर्यालले बताउनुभयो ।