दिवस भनेको दिउँसोको समय वा दिन हो । मानव समुदायमा अनेकन घटना हुन्छन् । विशेष घटनाको सम्झना गर्न तोकिएको विशेष दिनलाई दिवस भन्ने गर्छौं । त्यस्ता दिवसलाई विभिन्न देशका समुदायले सम्झिने गर्दछन् । देशभित्र मात्र मनाइनेलाई राष्ट्रिय दिवस भनिन्छ भने संसारभरि मनाइनेलाई विश्व वा अन्तर्राष्ट्रिय दिवस भनिन्छ । राष्ट्रिय शिक्षा दिवस, राष्ट्रिय योग दिवस, राष्ट्रिय बालबालिका दिवस आदि नेपालभित्र मात्र मनाइन्छ भने अन्तर्राष्ट्रिय साक्षरता दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, विश्व पृथ्वी दिवस आदि विश्वभरि मनाइन्छ ।
विभिन्न दिवसमध्ये विश्व आदिवासी दिवस पनि एक हो । यो दिवस हरेक वर्ष अगस्त ९ तारिख (साउन २४ वा २५ गते) मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घ (युएन) ले सन् १९९४ डिसेम्बर २३ तारिखमा विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको थियो । नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र हो । नेपालका आदिवासी जनजातिले सन् १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । यो वर्ष ३०औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।
शब्दकोशमा कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गर्दै आएको जातिलाई आदिवासी भनी उल्लेख गरिएको पाइन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय हो भनी उल्लेख गरिएको छ ।
राष्ट्रसङ्घका अनुसार विश्वभरि ४७ करोड ६० लाखभन्दा बढी आदिवासी रहेका छन् । हरेक देशमा आदिवासी छन् । नेपालमा ६० थरीका आदिवासी जनजाति छन् । किसान, कुमाल, कुशबाडिया, गुरुङ, चेपाङ, छन्त्याल, छैरोतन, जिरेल, झाँगड, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, थकाली, थामी, राई, याक्खा, दनुवार, नेवार, मगर, लिम्बू, शेर्पा, हायु, थारू आदि आदिवासी जनजाति हुन् ।
विश्व आदिवासी दिवसका दिन काठमाडौँका सडकमा विभिन्न जातिका परम्परागत पोसाक र गहना पहिरिएका महिला तथा पुरुषको जुलुस देख्न पाइन्छ । बाजागाजा, ब्यानर, विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको हुन्छ । यस दिन काठमाडौँ उपत्यकाबाहिर पनि आदिवासी जनजातिले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यस दिन काठमाडौँको टुँडिखेलमा राति अबेरसम्म नाचगान, खानपिन गरेर निकै रमाइलो गरिन्छ ।