• १६ भदौ २०८१, आइतबार

दुर्गममा खटिए कर्मचारी

blog

मतदान केन्द्रमा पठाउने सामग्री मिलाउँदै निर्वाचनका कर्मचारी । तस्बिर : नरेन्द्र ढकाल

गोरखा समाचारदाता

गोरखा, वैशाख २३ गते  ।  उत्तरी गोरखाका दुर्गम क्षेत्रमा निर्वाचन गराउन खटिने मतदान अधिकृत र कर्मचारी कार्यस्थलतर्फ प्रस्थान गरेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीको टोलीलाई शुक्रबार बिहान बिदाई गरिएको हो । “चुमनुब्रीका २१ मतदान केन्द्रमा खटिनुभएका साथीले आफ्ना सामान बुझबुझारथ गर्नुभयो,” जिल्ला निर्वाचन अधिकारी टेकराज कोइरालाले भन्नुभयो, “उहाँहरूलाई बिदाई गरेर कार्यस्थलतर्फ पठाइएको छ ।” उत्तरी गोरखाको चुमनुब्रीका अधिकांश केन्द्रमा पुग्न चार दिनभन्दा बढी लाग्ने भएकाले शुक्रबार नै पठाइएको हो । यसअघि सो क्षेत्रमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाउने गरिन्थ्यो । 

“यस पटक आयोगले हेलिकप्टर प्रयोग नगर्ने निर्णय गरेकाले हामीले स्थलगत रूपमै मतदान सामग्री र कर्मचारी पठाएका छौँ,” प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भन्नुभयो, “आशा छ, समयमै पुगेर काम सुरु गर्नुहुनेछ ।”  धार्चे, चुमनुब्री, गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबार अभिमुखीकरण तालिम दिइएको छ । शुक्रबार अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका र शहीद लखन गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गराइएको छ । 

यसैगरी शनिबार गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले जानकारी दिनुभयो  । २७ गतेसम्म सबै निर्वाचन केन्द्रमा टोली पुगिसक्ने उहाँले बताउनुभयो । मतदान अधिकृतले कार्यक्षेत्रमा पुगेर मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्ने छन् । 

तीन सय मिटरभित्रको क्षेत्रलाई चार किल्ला बाँधेर त्यसलाई सुरक्षित गर्ने, मतदान स्थलको व्यवस्थापन गर्ने, आवश्यक संरचना निर्माण गर्ने, मुचुल्का तयार गर्ने, सर्वपक्षीय बैठक गर्नेलगायतका धेरै काम गर्नुपर्ने भएकाले उक्त टोली तोकिएको समयभित्र मतदान स्थलमा पुग्नु आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्लाका कुल २१५ मतदान स्थल र ३११ मतदान केन्द्रमा एक हजार ५१८ जना कर्मचारी खटाइएको छ । पाँच सयभन्दा कम मतदाता भएको ठाउँमा एक जना र त्यसभन्दा माथिमा मतदाता भएको ठाउँमा दुुई जना सहायक मतदान सहायक कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा रहेका कर्मचारी र केही शिक्षकलाई मतदान गराउने जिम्मेवारी दिइएको छ । मतदाताको अवस्था, भूूगोल र जिल्लामा उपलब्ध जनशक्तिलाई आधार मानी उत्तरी गोरखाका केही मतदान केन्द्रमा अनुभवी नायब सुब्बालाई पनि मतदान अधिकृतका रूपमा खटाइएको उहाँले बताउनुुभयो ।  गोरखाका ११ वटा स्थानीय तह र ९४ वटा वडामा निर्वाचन हुँदैछ । जिल्लाका दुुई लाख १८ हजार ५६३ जना मतदाताले निर्वाचनमा भाग लिने छन् । जिल्लामा दुुई लाख ४१ हजार मतपत्र प्राप्त भइसकेको छ । नगरप्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा गरी ४९२ पदका लागि एक हजार ८५० जनाले उम्मेदवारी दिएका छन् ।