• १३ साउन २०८१, आइतबार

नागरिकलाई निःशुल्क बीमा

blog

बनेपा समाचारदाता 

बनेपा, वैशाख २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेका स्थानीय तहका गरीब तथा विपन्न नागरिकहरूको पाँच वर्षको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले राप्रपा काभ्रेद्वारा शुक्रबार बनेपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाले जितेका स्थानीय तहमा एकदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमा नै स्वास्थ्य जाँचको व्यवस्था मिलाइने बताउनुभयो । 

उहाँले राप्रपाले विजयी हाँसिल गरेका सबै स्थानीय तहमा एउटा स्थायी तालिम केन्द्र स्थापना गरी पालिकाभित्र रहेका गरीब, बेरोजगार युवालाई विभिन्न सीप सिकाउनुको साथै उनीहरूलाई उद्यम सञ्चालनका लागि बिनाधितो सस्तो ब्याजदरमा ऋणसमेत उपलब्ध गराउने पार्टीको नीति रहेको बताउनुभयो । 

पार्टी अध्यक्ष लिङ्देनले राप्रपाले विजयी हाँसिल गरेका स्थानीय तहमा त्यहाँका नागरिकलाई विद्युत् र खानेपानीमा सहुलिय प्रदान गर्ने भन्दै आफू स्वयं भ्रष्टाचार नगर्ने कसम खाएर पार्टीमा हिँडिरहेकोले अहिलेको राप्रपामा भ्रष्टाचार गर्न छुट नभएको बताउनुभयो । उहाँले नेपाली जनताले शासन सत्ता आफ्नो कब्जामा लिएका राजनीतिक दलबाट कुनै परिवर्तन नपाएकाले अब यी पार्टीहरूको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अध्यक्ष लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जति पटक मौका दिए पनि देशको विकास नगरेकाले अब देशको बिजुली देशमा नै खपत गर्ने, पेट्रोलियम पदार्थ हैन बिजुलीबाट नै सवारी चलाउने, देशका रहेका बेरोजगार युवाहरूलाई देशमा नै रोजगारीको सिर्जना गर्ने योजना भएका दलका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपाका महामन्त्री भुवन पाठकले ३१ वर्षसम्म देश सञ्चालन गरेका काँग्रेस, एमाले र माओवादी केन्द्रले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । 

कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चितवनमा रेनु दाहाल विजयी नगराएमा देश अर्को द्वन्द्वमा जाने भन्दै दिएको अभिव्यक्ति आपत्तिजनकको बताउनुभयो ।