अमृतप्रसाद पौडेल
म्याग्दी, साउन ३२ गते । पर्वतको मालढुङ्गादेखि मुस्ताङ र चीनको सिमाना कोरलासम्म लामो धार्मिक क्षेत्रमा कुनै पनि शाकाहारी भोजनालय छैनन् । सामान्यतया धार्मिक पर्यटकले शाकाहारी भोजन गर्ने गर्छन् । शुद्ध शाकाहारी भोजनालय अनिवार्य आवश्यकता जस्तै हुने गर्छ । व्यापारका हिसाबले पनि राम्रो सम्भावना हुने भए पनि यसतर्फ ध्यान पुगेको पाइँदैन ।
कालीगण्डकी कोरिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्मको लामो दुरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि भोजनालय छैनन् ।
मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अन्तर्गतको झन्डै २१० किलोमिटर लामो दुरीमा खाने बस्ने सुविधासम्पन्न धेरै होटल, रेस्टुरेन्ट भए पनि शुद्ध शाकाहारी खाना चाहनेका लागि भने त्यस्तो व्यवस्था छैन । मालढुङ्गादेखि कोरलासम्म तीन वटा पवित्र तीर्थस्थल पर्छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारनजिकै रहेको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वर धाम, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा रहेको मुक्तिनाथ मन्दिर र लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ को सुर्खाङमा रहेको दामोदर कुण्ड हिन्दुका लागि निकै पवित्र तीर्थस्थल हुन् ।
नेपाल तथा भारतमा समेत चर्चित मुक्तिनाथ तथा दामोदर कुण्डमा दर्शनका लागि आउने धार्मिक पर्यटकलाई लक्षित गरी व्यवसाय सञ्चालन गरिनुपर्ने माग छ । म्याग्दी जिल्लामा मात्रै होटल व्यवसायी सङ्घमा आबद्ध २६५ भन्दा धेरै होटेल तथा रेस्टुरेन्ट छन् ।
होटेल सञ्चालन व्यवसायी महासङ्घका केन्द्रीय सचिव तारानाथ आचार्य शाकाहारी धार्मिक पर्यटकलाई लक्षित गरी होटल नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धार्मिक पर्यटकको चाहनालाई ध्यानमा राखी म आफैँ गलेश्वरमा शाकाहारी भोजनालय सञ्चालन गर्ने योजनामा छु । हालसम्म मालढुङ्गादेखि कोरलासम्म शाकाहारी मात्रै सेवा दिने छैनन् ।”
भारतको हैदराबादका अशोक कुमारले आफूले माग गरे अनुसारको शाकाहारी खानेकुरा पाए पनि गुणस्तरीय र शाकाहारी मात्रै पाइने भोजनालय भने नभेटेको बताउनुभयो । उहाँले हैदराबादबाट काठमाडौँको पशुपतिनाथ दर्शनपछि मुक्तिनाथका लागि आएको र आफूले पाएको आतिथ्यता उत्कृष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वागत राम्रो पाए पनि खानाका लागि भने गुणस्तर बढाउनुपर्ने देखियो ।” शाकाहारी खानाका लागि उचित खालको प्रबन्ध अझै गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
मुस्ताङको जोमसोमस्थित होटेल शालिग्रामका सञ्चालक अमृत सुवेदीले शाकाहारी भोजनका लागि आफूले कुनै पनि कसर बाँकी नराखेको भए पनि शाकाहारी मात्रै सेवा दिने भोजनालय भने नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शाकाहारी भोजनका लागि कुनै पनि मिसावटबिना शुद्ध तवरले हामीले सेवा दिने गरेका छौँ तर शाकाहारी मात्रै भोजनालयचाहिँ मुस्ताङमा छैनन् ।”
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले मुक्तिनाथ तथा दामोदर कुण्ड दर्शन तथा अवलोकनका लागि धेरै पाहुना मुस्ताङ भ्रमणका लागि आउने उल्लेख गर्नुभयो । शुद्ध शाकाहारी भोजनालयको राम्रो सम्भावना भए पनि मुस्ताङमा नभएको उहाँले बताउनुभयो ।