• १२ साउन २०८१, शनिबार

प्रदेश १ मा चुनावी सरगर्मी बढ्दै : उम्मेदवारद्वारा घरदैलोलाई तीव्रता

blog

सचिन पोखरेल

विराटनगर, वैशाख २४ गते  । प्रदेश १ मा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ । चौध जिल्लामा पर्ने एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकामा एकसाथ चुनावी सरगर्मी बढेको हो । 

निर्वाचनको दिन नजिकिँदै जाँदा सबै स्थानीय तहका उम्मेदवार तथा राजनीतिक दलले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारले आ–आफ्ना दलका नेता, कार्यकर्ता तथा समर्थकलाई साथमा लिएर घरदैलो अभियान सञ्चालन गरी मत मागिरहेका छन् भने केही स्थानीय स्तरमा चुनावी सभा र आम सभाको पनि आयोजना भइरहेको छ । यस क्रममा उम्मेदवारले आफ्ना घोषणापत्र, सङ्कल्पपत्र र प्रतिबद्धतापत्र मार्फत स्थानीय स्तरको विकास र विस्तारसम्बन्धी चुनावी मुद्दा र एजेन्डाहरू मतदातासमक्ष प्रस्तुत गरिरहेका छन् । 

यता सबै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारीको कामलाई पनि गति दिएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अधिकांश निर्वाचन अधिकृतको कार्यालयले स्थानीय स्तरमा सर्वदलीय र सर्वपक्षीय भेलाको आयोजना गरी निर्वाचनलाई निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्ने गराउने वातावरण निर्माणका लागि आह्वान गरिसकेको छ । चुनाव प्रचारप्रसारको क्रममा कतिपय स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेको भन्दै निर्वाचन कार्यालयले सम्बन्धित उम्मेदवार र दलको ध्यानाकर्षणसमेत गराउन थालेको छ । 

यसबाहेक निर्वाचनको सुरक्षालाई मध्यनजर गरी प्रदेश र जिल्ला तहमा स्थानीय प्रशासनको समन्वय र संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसमेतको सहभागितामा संयुक्त सुरक्षा रणनीति र अवधारणाअनुसार सरक्षा फौज परिचालित भइसकेको प्रदेश १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीले जानकारी दिनुभयो । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता छन् ।

यसैबीच, भारतीय सिमावर्ती क्षेत्रबाट निर्वाचनको सुरक्षामा पर्नसक्ने प्रभावका सन्दर्भमा छलफल गर्न नेपाल र भारतबीच सिमाना जोडिएको सुनसरी, मोरङ तथा भारतको अररिया जिल्लाको प्रशासनिक र सुरक्षा अधिकारीबीचको संयुक्त बैठकसमेत सम्पन्न भएको छ । मोरङको विराटचोकमा सम्पन्न बैठकमा सहभागी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, छलफलको क्रममा आसन्न निर्वाचनमा मतदानको समयभन्दा ७२ घण्टाअगाडि प्रभावकारी रूपमा सीमा बन्द गर्ने तथा निर्वाचनलगायत समग्र सुरक्षाको सन्दर्भमा द्विपक्षीय रूपमा सूचना आदानप्रदान गर्ने सहमतिभएको छ । 

बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाल, अररियाका ‘ड्रिस्ट्रिक मेजेस्टेड’ प्रशान्त कुमारलगायतका प्रशासनिक तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

उदयपुरमा तीव्र तयारी 

गाईघाट समाचारदाता भक्तिविलाश पोखरेलका अनुसार आठवटा स्थानीय तह रहेको उदयपुर जिल्लामा स्थानीय तह निर्वाचनका लागि सर्वपक्षीय तयारी तीव्र पारिएको छ । सदरमुकाम गाईघाटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले कर्मचारी खटनपटनदेखि लिएर मतदान स्थलमा जाने निर्वाचन सामग्रीको प्याकिङसमेत गरिसकेको उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयो ।

यसअनुसार जिल्लाका आठवटा पालिकामा निर्धारण गरिएका २५८ वटा मतदान केन्द्रमा लैजान प्रतिकेन्द्र करिब एक सय प्रकारका निर्वाचनसम्बन्धी सामग्रीसहित ५१६ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत तयारी अवस्थामा राखिएको छ । उहाँहरूलाई वैशाख २३, २४ र २५ गते नमुुना मतदानसहितको एक दिने प्रशिक्षण दिएर अन्य कर्मचारीसहित २६ गतेसम्ममा मतदान केन्द्रमा खटाइने खनालले बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय गाईघाटस्थित सशस्त्र प्रहरी बल र नेपाली सेनाको पशुपतिप्रसाद गणले पनि सबै मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालनको आवश्यक तयारी पूूरा गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा भित्री तहमा म्यादी प्रहरी, जनपद प्रहरीको टोली, त्यसपछि सशत्र प्रहरी र त्योभन्दा बाहिरको घेरामा नेपाली सेनाको सुरक्षा घेरा रहने छ ।

यता सबै राजनीतिक दलले पनि आ–आफ्ना उम्मेदवारलाई लिएर भोट माग्न घरदैलो अभियानलाई तीव्रता दिइरहेका बेला निर्वाचन आचारसंहिताको पालना भए नभएको अवस्था पहिचानका लागि जिल्लास्थित उच्च सुरक्षा अधिकारीको संयुक्त टोलीले स्थलगत अनुगमनसमेत गरिरहेको छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, बोक्सेस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति, सशस्त्र र जनपथ प्रहरीलगायत जिल्लाको उच्च सुरक्षा अधिकारीको संयुक्त टोलीले कटारी नगरपालिका तथा लिम्चुङ्बुङ, रौतामाईमा र ताप्ली गाउँपालिकामा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाको अनुगमन गरेका मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयो । 

आचारसंहितामा कडाइ

उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाका अनुसार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत तुल ब्यानर झुन्ड्याउने, निर्वाचन चिह्न अङ्कित टिसर्ट, झोला, टोपीलगायतका सामग्री प्रयोगमा रोक लगाउँदा यहाँ स्थानीय तहको निर्वाचन भड्किलो हुन पाएको छैन । 

प्रतिस्पर्धात्मक तरिकाबाट दलहरूले गाउँ, सहर नै छोपिने गरी तुल र ब्यानर झुन्ड्याउँदा विगतमा विवाद र झडप हुने गरेको थियो । यस पटक यहाँको चुनावी प्रचारको मोडल नै बदलिएको छ । चुनावको मिति नजिकिएसँगै गाउँघर र बजारमा दैनिकजसो चुनावी गीत घन्किन थालेका छन् । दलैपिच्छेका अलग–अलग गीत बजाउँदै पार्टीका नेताले गाउँ, टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन् । यसैपाली मतदाता नामावलीमा नाम रहेकाहरूमा अझ बढी ऊर्जा देखिएको छ । 

पहिलेका दुई÷तीन गाउँपालिका मिलेर अहिले एउटा गाउँ/नगरपालिका बनेकोले दलहरूलाई निर्वाचन आयोगले प्रचारका लागि दिएको समय अपर्याप्त भएको जनाएका छन् । कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले भन्नुभयो, “पहिलेको पुरै एउटा गाविसलाई अहिले एउटा वडा बनाइएको छ । जम्मा नौ दिनमा सातवटा वडा घुम्न गाह्रो छ । त्यसैले पैदलभन्दा गाडीमै प्रचारप्रसार गरिरहेका छौँ ।” 

उता पहाडी नगर÷गाउँपालिकामा प्रचारप्रसार गर्न झन् सकस हुने गरेको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार ज्ञानेन्द्र ढकालले भन्नुभयो, “पहाडको वारङ्गी गाविसलाई लेटाङ नगरपालिकाको एउटा वडा बनाइएको छ । विशाल भूगोलभित्र एक दिन कति प्रचार गर्नु ?” उहाँले आफूले प्रविधिमैत्री प्रचारमा जोड दिएको बताउनुभयो । 

उर्लाबारीमा नेकपा एमालेका मेयर उम्मेदवार गङ्गाप्रसाद खरेलले पनि पैदल घरदैलो गर्न असम्भव भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विशाल भूगोल सात दिनभित्र पैदल घरदैलो गर्न सकिएन, त्यसैले गाडीमा बसेर प्रचारप्रसार गरिरहेका छौँ ।” 

यो वर्ष निर्वाचन आयोेगले टिसर्ट, टोपीलगायतका प्रचार सामग्री छाप्न दिएको छैन । पार्टीको झन्डा र चुनाव चिह्न अङ्कित झन्डासँगै चुनावी गीत बजाएर दलहरूले मतदाता आकर्षित गरिरहेका छन् । गाउँ, सहर कतै पनि तुल र ब्यानर टाँगिएका छैनन् । त्यस्तै भड्किला भाषण र उत्तेजना बढाउने सामग्री प्रचारमा नदेखिँदा चुनाव शान्तिपूूर्ण हुने स्थानीय मतदाता बताउँछन् । 

लोकप्रिय जनप्रतिनिधि पुनः उम्मेदवार

इनरुवा समाचारदाता जयकृष्ण यादवका अनुसार दुहबी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट वेदनारायण गच्छदार प्रमुख पदमा पुनः उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि दुहबीको प्रमुख हुनुहुन्थ्यो । यद्यपि, यसअघि वेदनारायण गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट निर्वाचित हुनुभएको थियो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली काँग्रेससँग एकीकरण भएपछि गच्छदार अहिले काँग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार हुनुहुन्छ । 

त्यस्तै वराहक्षेत्र नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट प्रमुख पदमा नीलम खनाल हुनुहुन्छ । उहाँ पनि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । दुवै प्रमुखका उम्मेदवारले आफ्नो कार्यकालमा राम्रो काम गरेको र बाँकी कामलाई सार्थक पार्नका लागि पुनः चुनावी मैदानमा उत्रेको प्रतिक्रिया दिनुभयो । त्यसैगरी नेपाली काँग्रेसका तर्फबाट बर्जु गाउँपालिकामा अध्यक्ष पदमा रघुनन्दन चौधरी, हरिनगर गाउँपालिकामा गफार अन्सारी र कोसी गाउँपालिकामा ऐयुव अन्सारी पुनः चुनावी मैदानमा हुनुहुन्छ ।