• १२ साउन २०८१, शनिबार

उनन्तीस बुँदे सङ्कल्पपत्र सार्वजनिक

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, वैशाख २४  गते । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज चौधरीको २९ बुँदे सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ ।जनकपुरधामस्थित शुक्रबार लोसपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो ।

सङ्कल्पपत्रमा बाह्य चक्रपथ निर्माण गरी जनकपुरधामलाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने, आधुनिक जनकपुरधाम बनाउने, फोहोरलाई वैज्ञानिक प्रविधिद्वारा व्यवस्थापन गरी फोहोरबाट मोहोर बनाउने, शिक्षामा सुधार ल्याउनुका साथै जनकपुरधामका सामुदायिक विद्यालयमा स्थानीय स्तरको पाठ्यक्रम पठनपाठन गराउने, शहीद परिवार, दलित, विपन्न, असहाय तथा आन्दोलनको क्रममा घाइते भएकाहरूका लागि गम्भीर किसिमका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्ने, सीपमूलक तालिम सञ्चालन गरी स्थानीय स्तरमा रोजगारको सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण तर्फ लैजाने, सञ्चारमैत्री पालिका बनाउने भनिएको छ । 

यस्तै जनकपुरधामभित्र जानकी मन्दिरसम्म तीन स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिने, २५ वटै वडामा निःशुल्क इन्टरनेट, सीसी क्यामरा जडान गरिने सो संकल्पपत्रमा उल्लेख गरिएको छ । जनकपुरधामलाई ‘क्लिन एन्ड ग्रिन सिटी’मा परिणत गर्न एक घर एक बिरुवा अभियान चलाउने सो सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । 

सङ्कल्पपत्रमा नगरप्रमुखलाई सिधा सम्पर्क गर्न सकिने तथा साताको एक दिन प्रत्येक वडा नगरप्रमुखसँग अन्तक्र्रिया गरिनेसमेत उल्लेख छ । उक्त सङ्कल्पपत्रमा समेटिन छुटेका विषयलाई आगामी दिनमा सम्बन्धित निकाय वा व्यक्तिसँग सहकार्य वा छलफल मार्फत समावेश गरी कार्यान्वयनमा ल्याउने उल्लेख छ । 

लोसपाका धनुषा जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य परमेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको सङ्कल्पपत्र सार्वजनिक कार्यक्रममा उपप्रमुखका उम्मेदवार रीताकुमारी मिश्र, लोसपा प्रचारप्रसार समितिका संयोजक सञ्जयकुमार चौधरीलगायतको उपस्थिति रहको थियो ।