• १६ भदौ २०८१, आइतबार

बदर मत कम गर्न नमुना मतदान

blog

बेनीबजारमा सञ्चालित बेनी सामुदायिक मतदान केन्द्रमा नमुना मतदान ।तस्बिर : अमृतप्रसाद पौडेल

म्याग्दी समाचारदाता

म्याग्दी, वैशाख २४ गते । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मतदानको अभ्यास गर्न र निर्वाचन नजिकिएको सन्देश दिनका लागि बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अगुवाइमा भएको नमुना मतदानमा सर्वसाधारण तथा सामाजिक व्यक्तित्वको सहभागिता थियो ।

मतदान गर्ने तरिका सिकाउनु र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद अधिकारीले बताउनुभयो । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारमा सञ्चालित बेनी सामुदायिक मतदान केन्द्रमै बिहीबार नमुना मतदानको अभ्यास गरिएको हो । 

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतदातालाई मतदान गर्ने तरिका सिकाउने तथा चुनावी तयारी अब अन्तिम चरणमा पुग्यो भन्ने सन्देश दिएको बताउनुभयो । नमुना मतदानमा बेनी सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी, नेपाल पत्रकार महासङ्घका पदाधिकारी, उद्योग वाणिज्य सङ्घ तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो । 

नमुना मतदानको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतदान गरेर उद्घाटन गर्नुभएको थियो । १०८ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएकोमा गणना गर्दा एक मत बदर, दुईवटा मतपत्रमा कुनै पनि चिह्नमा छाप नलगाएको खाली, १९ मत आंशिक बदर एवं ८६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । नमुना मतदान हुँदा करिब ८० प्रतिशत मत मात्रै सदर भएको देखिएको घिमिरेको भनाइ छ ।

मतदाता शिक्षाको उचित प्रयोग र अभ्यास नहुँदा धेरै मत बदर हुने अवस्था रहेकोले मतदातालाई मतदानबारे जानकारी गराउन आवश्यक देखिएको हुँदा नमुना मतदान कार्यक्रम हुनुपर्ने अवस्थालाई मत परिणामले समेत देखाएको घिमिरेको भनाइ छ । 

नमुना मतदानमा मतदानको दिनमा हुने सबै काम भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार मतदाता नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको व्यवस्था वास्तविक मतदानको बेलामा जस्तै गरी मिलाइएको थियो । नमुना मतदानका क्रममा लाइन बस्ने, नाम रुजु गर्ने, मतपत्र लिने, मतपत्रमा स्वस्तिक छाप लगाउने, मतपत्रलाई कसरी बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने र बाहिर निस्कन कुन मार्गको प्रयोग गर्ने भन्नेसम्मको प्रक्रियाबारे पनि प्रयोगात्मक अभ्यास गरिएको थियो ।