• ९ मंसिर २०८१, आइतबार

मुख्य आयस्रोत जडीबुटी

blog

पुथाउत्तरगङ्गा गाउँपालिका–१, बुकीपाटनमा यार्चा टिप्नका लागि बस्न तयार गरिएका पाल र सङ्कलित जडीबुटी ।

जयमान बुढामगर

रुकुमपूर्व, साउन ३१ गते । जिल्लास्थित माथिल्लो भेगका बासिन्दाको मुख्य आयस्रोत जडीबुटी बन्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिकामा विभिन्न जडीबुटी पाइन्छ । पुथाउत्तरगङ्गाको १४ वटै वडा, भूमे गाउँपालिकाको नौ वटै वडासँगै सिस्ने गाउँपालिका–१, २ नम्बर वडामा धेरै प्रजातिका जडीबुटी पाइन्छ भने बाँकी वडामा पनि केही न केही जडीबुटी पाइन्छ । 

डिभिजन वन कार्यालय रुकुमपूर्वका प्रमुख जितेन्द्रसिंह खड्काले वडावासीको आयआर्जनको मुख्य स्रोत जडीबुटी नै बन्दै आएको बताउनुभयो । धेरै जडीबुटी पाइने गाउँबस्ती लेकाली भेगमा पर्ने भएकाले यहाँ कम अन्नबाली उब्जनी हुने गरेको छ । कुनै बस्तीमा त झन् वर्षमा एक बाली मात्र अन्न उत्पादन हुने गरेको प्रमुख खड्काले बताउनुभयो । अन्नबाली कम उत्पादन हुने गरे पनि यस भेगमा विभिन्न प्रजातिका जडीबुटी पाइने गरेको उहाँको भनाइ छ । वनमा जडीबुटी सङ्कलन गरी त्यसलाई बिक्री गरी आयआर्जन गर्ने गरेका हुन् ।  पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का नामेन्द्र सुनारले वर्षभरिमा एक बाली मात्र अन्न उत्पादन हुने भएकाले यहाँका स्थानीयले दैनिक रूपमा वनजङ्गल नै धाउने गरेको बताउनुभयो । बहुमूल्य जडीबुटी यार्चागुम्बा, कुट्की, भुत्ले, पाँचऔँले, रातोच्याउ, गुच्चीच्याउ, सर्केली, सेतक चिनी, सोमलता, पदमचाल यहाँ पाइन्छ ।

यसै गरी साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनबेद, रिट्ठा, टिमुर, भिरमह, चिराइतो, लहरे गर्जोलगायत विभिन्न प्रजातिका जडीबुटी पाइने गरेको सुनारले जानकारी दिनुभयो । यी जडीबुटी सङ्कलन गरी बिक्री गरी आयआर्जन गर्ने गरेको सुनारले बताउनुभयो । यी जडीबुटी एकै सयममा नभएर विभिन्न समयमा पाइने भएकाले हरेक महिना जडीबुटी सङ्कलन गर्ने गरिएको उहाँको भनाइ छ । 

डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले जडीबुटीको बजारभाउ राम्रो भएकाले स्थानीय बासिन्दाको जीवनस्तर पनि अन्य भेगको भन्दा राम्रो रहेको बताउनुभयो । जडीबुटीको मूल्य प्रतिकिलो हजारदेखि २२ लाख रुपियाँसम्म पर्ने गरेको छ । साधारण खालको जडीबुटीको मूल्य पनि प्रतिकिलो एक हजार रुपियाँदेखि माथि र सबैभन्दा महँगो यार्चाको मूल्य प्रतिकिलो २०/२२ लाख रुपियाँसम्ममा बिक्री हुने गरेको रेन्जर केसीले बताउनुभयो । यसले गर्दा जडीबुटीबाट यहाँका स्थानीयको आयआर्जन राम्रै भइरहेको केसीको भनाइ रहेको छ । 

जडीबुटी सङ्कलन पुर्जीका लागि भिरमौरीको महका लागि प्रतिकिलो २० रुपियाँ, यार्चालाई प्रतिकिलो ३१ हजार रुपियाँ मात्र राजस्व लिने गरिएको केसीले बताउनुभयो । व्यापारीले स्थानीयबाट भिरमौरीको मह प्रतिकिलो एक हजार रुपियाँ र यार्चा प्रतिवटा छ सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा खरिद गर्ने गरेको रेन्जर केसीले बताउनुभयो । अन्य जडीबुटीमा पनि राजस्व कम नै रहेको डिभिजन वन कार्यालयले जनाएको छ । खेतबारीमा पनि उत्पादन गर्न सकिने जडीबुटी स्थानीयले उत्पादन गरेमा झनै आम्दानी राम्रो हुने केसीको भनाइ रहेको छ । पछिल्लो समयमा कृषक जडीबुटी खेतीतर्फ लागिपरिरहेको केसीले बताउनुभयो । जिल्लाबाट आर्थिक वर्ष २०८०/८१ मा एक लाख २५ हजार २५७ किलो जडीबुटी बाहिर गएको छ । डिभिजन वन कार्यालयका अनुसार गत आवमा जिल्लाबाट विभिन्न प्रजातिका जडीबुटी बाहिर पठाइएको हो । यी जडीबुटी सङ्कलन र निकासीबाट गएको आवमा २३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।