• १६ भदौ २०८१, आइतबार

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख २३ गते । हिमाली जिल्ला म्याग्दीमा स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकीदै जाँदा तयारी पनि अन्तिम चरणमा पुग्नलागेको छ । मतदानका लागि पूर्व तयारीस्वरुप मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बैशाख २४ र २५ गते तालिम पछि मतदान स्थलमा खटाइने भएको छ ।

जिल्ला सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई पहिलो दिन र नजिकका कर्मचारीहरुलाई दोस्रो दिन तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाइने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । ७४ स्थानका एक सय १४ मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत, एक सय १४ मतदान केन्द्रमा दुई सय १९ जना सहायक कर्मचारी एवम् प्रत्येक केन्द्रमा एक÷एक जना कार्यालय सहयोगी खटाइएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच सय ६१ जना खटाएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृतले तोक्ने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवम् निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु आइपुगेको छ । मतदान अधिकृतलाई नियुृक्ती दिएपछि मतदानस्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने पौडेलले बताउनुभयो ।

म्याग्दीका मतदानस्थलको स्थलगत निरीक्षण पछि भौगोलिक विकटता र मतदाता संख्याको आधारमा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र सम्मेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । कुल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र १ अन्य गरी कुल ८५ हजार ३ सय ७५ जना मतदाता रहेको प्रजिअ रानाको भनाइ छ । 

प्रजिअ रानाका अनुसार जिल्ला सुरक्षा समितिले गरेको स्थलगत अनुगमनपछि गरिएको वर्गीकरणको आधारमा सुरक्षाकर्मी खटाइनेछ । प्रत्येक बुथमा नेपाल प्रहरी, म्यादी प्रहरी रहनेछन् भने त्यस बाहिरको घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने प्रजिअ रानाले बताउनुभयो । 

हिमाली जिल्ला म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४५ वडा एवम् स्थानीय तहका प्रमुख उपप्रमुखका लागि वैशाख ३० गते मतदान हुँदैछ । ४४ वडामा एक अध्यक्ष र ४ जना सदस्यसहित ५ जनाका दरले दुई सय २० र छ वटा स्थानीय तहको प्रमुख उपप्रमुख गरी १२ जना गरी कुल दुईसय ३२ पदका लागि ७ सय १८ जना चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ जना उपप्रमुखमा २३ जना उम्मेदवार  छन् । त्यस्तै अब निर्वाचन हुन बाँकी ४४ वडा अध्यक्षका लागि १ सय ४८ जना, ८८ जना खुल्ला सदस्यका लागि २ सय ७३, ४४ महिला सदस्यका लागि एक सय २४ र ४४ दलित महिला सदस्यका लागि एक सय १६ जना चुनावी मैदानमा छन् ।

केन्द्रीय तहमा गठबन्धन भएको भएपनि म्याग्दीको धौलागिरी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका गाउँपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदैछ । म्याग्दीमा ४३ हजार नौ सय ६० महिला, ४१ हजार चारसय १४ पुरुष र १ जना अन्य गरी कुल ८५ हजार तीनसय ७५ जना मतदाता छन् ।