• ९ मंसिर २०८१, आइतबार

औपचारिकताका लागि भयो वृक्षरोपण

blog

मीना कँडेल

कावासोती, साउन २८ गते । पछिल्लो समय सामुदायिक वनका साथै सामाजिक संस्थाले वातावरण संरक्षणका लागि वृक्षरोपणलाई तीव्रता दिइरहेका छन् । वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन् । संरक्षण मात्र होइन हावापानी, माटो र वनस्पतिको जीवनबारे जानकार नहुँदा वृक्षरोपण प्रभावकारी हुन छाडेको छ । जलवायु परिवर्तनलाई कम गर्न वृक्षरोपणले धेरै टेवा पुर्‍याउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने सरोकारवालाले चासो दिएका छन् । औपचारिकताका लागि मात्र बिरुवा रोप्ने भन्दा पनि त्यसको प्रभावकारितामा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

विश्व आदिवासी दिवसका अवसरमा थारू सङ्ग्रहालय डन्डामा वृक्षरोपण गरियो । १५० फूल र अन्य प्रजातिका बिरुवा रोपिएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ नवलपुरका अध्यक्ष इन्द्रफाल मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष रोपिएका बिरुवाको अवस्था के छ कसैलाई अत्तोपत्तो छैन । हरेक वर्ष त्यही स्थानमा बिरुवा रोपेर फर्कने तर त्यसको संरक्षणमा चासो दिइएको पाइँदैन । रोपिएका सबै बिरुवा हुर्कन नसक्दा वृक्षरोपण गरिएको स्थान नै खाली देखिन्छ ।” यसअघि  कावासोती–१६ मा रहेको अङ्कुर सामुदायिक वन परिसरमा विभिन्न प्रजातिका १२५ बिरुवा रोपिएको थियो ।

नेपाली कांग्रेस नवलपुरका उपाध्यक्ष बालकृष्ण घिमिरे पछिल्लो समय बिरुवा रोप्ने तर त्यसको संरक्षणमा खासै चासो नदिने गरेको पाइएको बताउनुहुन्छ । बिरुवा रोप्नु मात्र ठुलो कुरा होइन, बिरुवा रोपिसकेपछि वर्षको तीन/चार पटक गोडमेलसमेत गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘एक घर एक बिरुवा’ को अभियान चलाउन पनि उहाँकोे सुझाव छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाका अनुसार वृक्षरोपण गरिएका बिरुवामध्ये ७५ प्रतिशत हुर्कन सक्दैनन् । “बिरुवा लगाए अनुसार हुर्किएको भए क्षेत्रफल भरिन्थ्यो, हरेक वर्ष लगाइन्छ तर हुर्कन सक्दैन तर वृक्षरोपण गर्न पनि छाडिएको छैन,” सापकोटाले भन्नुभयो ।

डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले सामुदायिक वनलाई बिरुवाको प्रजाति र बिरुवालाई उपयुक्त हुने माटोका बारेमा अभिमुखीकरण गर्ने गरेको बताउनुहुन्छ ।