• १६ भदौ २०८१, आइतबार

प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन २७ गते। सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौँमा आयोजना गरेको २५ औं रजत वर्ष समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । 

मन्त्री गुरुङले भन्नुभयो, “आदिवासी जनजाति, पिछडिएको वर्गका लागि विशेष प्रबन्धको प्रयोग गरिदिएको होइन ? ती आदिवासी कहाँ आए ? यो उपलब्धिमा उभिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्नुपर्‍यो। यो संविधान ठूलो उपलब्धि हो।”

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भनेको ठूलो उपलब्धि भएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अबको एक वर्षभित्र सबै सरकारी मिडियामा नयाँ नीति ल्याइने बताउनुभयो। 


उहाँले भन्नुभयो, “यो एक वर्षभित्र सबैमा नयाँ नीति बनाइन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनाअनुरुपको नीति बनाइन्छ । सूचना प्रविधिमा भएको विकासले मान्छेको सभ्यता, विकास धेरै अगाडि बढिसक्यो।” यसका लागि नयाँ नीति, ऐन बनाउने प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ । मन्त्री गुरुङले अबको तीनदेखि चार वर्षभित्र पूर्णरुपमा लागू हुनेगरी डिजिटल नेपालको काम पनि अघि बढेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले शुभकामना मन्तव्य दिनुहुँदै समाजिक तथा राजनीतिक  आन्दोलनमा महासंघले सहयोगी भूमिका खेलेको बताउनुभयो। उहाँले परिपक्व पत्रकारिता हराउँदै गएको भन्नुहुँदै फोनिजमा पनि वास्तविक पत्रकारको सङ्ख्या वृद्धि हुनुपर्ने बताउनुभयो।

नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पत्रकार मात्र नभई धेरै नेपाली पेशाबाट पलायन हुने अवस्था नेपालमा भएको बताउनुभयो । यहाँका उद्योग, कलकारखाना सबल नभएसम्म पत्रकारिता क्षेत्र पनि सबल नहुने उहाँको भनाइ छ । नेपालमा जलविद्युत र पर्यटन क्षेत्रको विकास गर्न सके अरु विकास स्वतः हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, फोनिजका पूर्व अध्यक्ष खिम घले, डण्ड गुरुङ, फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियसन, नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, सम्मानित व्यक्तित्वहरु विजयरत्न तुलाधर, खिमा गुरुङ, नेवा पत्रकार दवुका नृपेन्द्रलाल श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो । 

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले समावेशी मिडियाको मुद्दामा फोनिज सधै एकजुट हुने प्रतिबद्धता जनाउनुभयो । फोनिजको रजत वर्ष समारोहका अवसरमा फोनिज राष्ट्रिय पत्रकारिता समान २०८१ बाट नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई, विजयरत्न तुलाधर सम्मनित हुनुभएको छ।

फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान २०८१ बाट दाङबाट थारु मातृभाषामा प्रकाशित हुँदैआएको लौव अग्रासन साप्ताहिक पत्रिका सम्मानित भएको छ । नगद २५ हजार राशी र सम्मानपत्रले उहाँहरुलाई सम्मानित गरिएको छ । पत्रिकाका सम्पादक सन्तोष दहितले सम्मान ग्रहण गर्नुभयो । सन्तोष दहित पुरस्कृत हुनुभयो। 

यसैगरी, फोनिज राष्टिय पत्रकारिता सम्मान २०८१ बाट गोरखा रेडियोका खिमा गुरुङ (कास्की), सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) पुरस्कृत हुनुभयो । नगद २० हजार रुपियाँ र सम्मानपत्रले उहाँहरु सम्मानित हुनुभयो । 



सोहीअनुसार फोनिज मलेसिया सम्मान २०८१ बाट दुई जना पत्रकार सम्मानित हुनुभयो । सम्मानित हुनेमा गोरखापत्र दैनिक पाल्पा समाचारदाता रेखीराम रानामगर र पर्साका पत्रकार पुनम महतो थारु सम्मानित हुनुभयो । सम्मानपत्रसहित नगद १० हजार राशीको सो सम्मान यसै वर्ष स्थापना गरिएको हो । फोनिज मलेसियाले सो पुरस्कारको स्थापना गरेको हो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।