गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २५ गते । प्रतिनिधि सभा रिक्त रहेको अवस्थामा सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले पारित गरेका तीन विधेयक तल्लो सदनको विधायिकी प्रक्रियामा प्रवेश गरेका छन् । राष्ट्रिय सभाले गत माघमा पारित गरेका तीन विधेयक नवनिर्वाचित प्रतिनिधि सभाको प्रक्रियामा प्रवेश गराइएका हुन् । तीन वटा विधेयक पारितको सन्देश प्रतिनिधि सभामा मङ्गलबार टेबुल गरिएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले विधेयक पारितको सन्देश टेबुल गर्नुभएको हो ।
२०८२ भदौ २७ गते प्रतिनिधि सभा विघटन हुँदा राष्ट्रिय सभामा विधायिकी प्रक्रियामा रहेका विधेयक अघिल्लो हिउँदे अधिवेशनमा राष्ट्रिय सभाले पारित गरेको थियो । फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित सभाको अधिवेशन प्रारम्भ भएसँगै ती विधेयक तल्लो सदनमा पठाइएका हुन् । सन्देश टेबुल भएका विधेयक अब सदस्यलाई वितरणदेखि, सैद्धान्तिक छलफल, संशोधन, दफावार छलफल तथा पारितलगायतका प्रक्रियामा जाने छन् । प्रतिनिधि सभाले पारित गरेपछि जानकारी राष्ट्रिय सभामै पठाइने छ ।
मङ्गलबार तल्लो सदनमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयकको सन्देश टेबुल गरिएको हो । विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पुस २३ मा दर्ता भई २०८२ माघ २३ मा पारित भएको थियो । पर्यटन विधेयक, २०८२ वैशाख ५ मा दर्ता भई राष्ट्रिय सभाबाट २०८२ माघ २६ गते पारित भएको थियो । यस्तै चलचित्र विधेयक, २०८२ वैशाख १४ मा दर्ता भई २०८२ माघ २८ गते पारित भएको थियो । तीन विधेयकको सन्देश टेबुल भएसँगै प्रतिनिधि सभाका लागि विधायिकी प्रक्रियाको पनि बिजनेस प्राप्त भएको छ । अब विधेयकउपर सभाले कारबाही थाल्ने छ । यस्तै हालै सङ्घीय संसद्का दुवै सदनबाट स्वीकृत भएका तीन अध्यादेशको प्रतिस्थापन विधेयकमा पनि दुवै सदनले चाँडै काम गर्नुपर्ने अवस्था छ । संवैधानिक व्यवस्था अनुसार अध्यादेश प्रतिस्थापन विधेयक अधिवेशनको पहिलो बैठक बसेको ६० दिनभित्र पारित तथा प्रमाणीकरण प्रक्रियासमेत पूरा हुनुपर्ने छ ।
प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भई चौथो बैठक सुरु भएपछि सदनले विधायिकी कार्य सुरु गरेको हो । पहिलो, दोस्रो र तेस्रो बैठकबाट भने सभाका प्रक्रियागत नियमित काम भएका थिए । यस्तै चौथो बैठकबाट प्रतिनिधि सभामा शून्य समयको अभ्यास पनि सुरु भएको छ ।