• १२ असोज २०८१, शनिबार

विकलका समग्र कृति सार्वजनिक

blog

काठमाडौँ, साउन २६ गते  । नेपाली साहित्यका अमर सर्जक स्व. रमेश विकलका ग्रन्थ तथा फुटकर रूपमा प्रकाशित कृतिको एकीकृत सङ्ग्रह शुक्रबार सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विकलका नाटक, कथा र उपन्यास विधालाई एकीकृत सङ्ग्रहका रूपमा ल्याइएको हो । 

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विकलसँगको सामीप्यले आफूलाई साहित्यको महत्व बुझ्न सहयोग गरेको चर्चा गर्नुभयो । प्रमुख रिसालले नगरपालिकाले विकासका समग्र पक्षमा साहित्यलाई उच्च प्राथमिकता दिएर साहित्यिक प्रतिष्ठानलाई बर्सेनि बजेट विनियोजन गर्ने गरेको चर्चा गर्दै विकलको समग्र कृति प्रकाशनले उहाँको सिर्जना संरक्षणमा मद्दत पुग्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका–९ का अध्यक्ष राजीव थापाले साहित्यको उन्नयनमा आफ्नो तर्फबाट सदा सक्रिय भूमिका रहने बताउनुभयो । कार्यक्रममा कृतिका सम्पादक ठाकुर शर्मा भण्डारीले विकलका २००६ सालदेखि सुरु भएको लेखनकार्य २०६४ सालसम्म कायम रहेको र उहाँको लेखनमा समाजको यथार्थता उतारिएको बताउनुभयो ।

नाटक खण्डको समीक्षा गर्द समीक्षक शार्दूल भट्टराईले सुरुमा कथाकारका रूपमा चर्चामा आउनुभएका विकलको २०२० सालमा शारदा पत्रिकामा ‘सरदार भक्ति थापा’ नाटक प्रकाशन भएपछि नाटककारका रूपमा चर्चित हुनुभएको बताउनुभयो ।

उपन्यास खण्डको समीक्षा गर्दै गोपी मैनालीले विश्व उपन्यासमा विकलका चार उपन्यास तुलनालायक रहेका र उहाँका उपन्यासले सामाजिक यथार्थता उजागर गर्ने आधुनिक कालखण्डका उपन्यासको चरण पार गरेको बताउनुभयो । विकलको सबभन्दा लोकप्रिय विधा कथा खण्डको समीक्षा प्राडा हेमनाथ पौडेलले गर्नुभएको थियो । कथा विधामा विकलका पुस्तकाकारमा प्रकाशित, अप्रकाशित र पत्रपत्रिकामा प्रकाशित गरी १४२ वटा कथा रहेका छन् । प्रतिष्ठानका महासचिव विजय चालिसेले रमेश विकल साहित्य प्रतिष्ठान भ्रमण गरी विकल सङ्ग्रहालयको अवलोकन गर्न सबैमा आग्रह गर्नुभयो ।