• १२ असोज २०८१, शनिबार

खलङ्गा–पाँचकाटिया सडक पहिरोले अवरुद्ध

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन २५ गते । पहिरोले जाजरकोटको खलङ्गा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४, गैरीखालीदेखि वडा नं. २ कोटखोलामा गएको पहिरोले चार दिनदेखि सडक अवरुद्ध भएको हो । 

भूकम्पले चिरा चिरा पारेको जमिनमा पानी परेपछि पहिरो जताततै जाने क्रम जारी रहेको छ । चार दिनदेखि अवरुद्ध भएको सडक खुलाउन नसक्दा किसानले तरकारी दुधदही बजारसम्म लगेर बिक्री गर्न पाएका छैनन् । बाटो अवरुद्ध भएपछि सदरमुकाम खलङ्गास्थित त्रिभुवन माध्यमिक विद्यालय आउने रिसाङ, पोखरा, दारा, च्याउमुरा, फारुल्ला, तिलिङ्गेका बालबालिकाको पढाइ पनि प्रभावित भएको छ भने सर्वसाधारणले आवतजावत गर्न पाएका छैनन् । 

सडकमा पहिरो गएपछि कृषि पेसाबाट जीविकोपार्जन गरेका किसानले उत्पादन गरेका वस्तु बजार ल्याउन नपाउँदा चिन्तित बनेका छन् । खलङ्गा–पाँचकाटिया सडक सञ्चालन भएको २० वर्ष पुगे पनि स्तरोन्नतिको कामले गति दिन नसक्दा बेला बेला समस्या आउने गरेको छ । भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीका अनुसार पहिरो गएको चार दिन बित्दासमेत सरोकारवाला निकायबाट खुलाउने पहल नहुनु दुर्भाग्यको कुरो हो । 

जाजरकोट–पाँचकाटिया–ब्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक बर्सेनि पहिरोले अवरुद्ध गरेपछि सर्वसाधारणले सास्ती पाउने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले दुई वटा मेसिन लगाएर बाटो खुलाउने प्रयास भए पनि माथिबाट पहिरो खस्न नरोकिएपछि बाटो खुलाउन नसकिएको दाबी गर्नुभयो ।