• ३० भदौ २०८१, आइतबार

बनारसीधामको रुद्राभिषेक पूजामा धुमारी

blog

बनारसीधाममा महारुद्राभिषेक पूजाआजापछि धुमारी खेल खेलिँदै । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता  

बैतडी, साउन २५ गते । 

बजन लाग्या छत्तीस बाजा, उपर बजे भेरी

को देउ लाग्या जुझन–बाझन, को देउ रैग्या हेरी ?

सहस्त्रलिङ् बाइस ताल जुझन्ना–बाझन्ना 

बनारसी–विश्वनाथ रहन्ना हेरी । 


बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेक पूजा गरेर लोप हुन लागेको स्थानीय धुमारी खेल खेलिएको छ । देवीदेवताका गाथा गाएर धुमारी, ढुस्को र ठाडो खेल खेल्ने चलन अनुसार बनारसीधाममा धुमारी खेल खेलिएको छ ।   

पाटन नगरपालिका–३, गुजरस्थित सुर्नया नदी किनारमा रहेको बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा मङ्गलबार २७ जना ब्राह्मणले महारुद्राभिषेक पूजा र ४५१ जनाले धुमारी खेलेका हुन् । यहाँ हरेक साउन महिनाको रुद्री जुरेको दिन महारुद्राभिषेक पूजा लाग्ने गर्दछ । विश्व शान्ति, देश तथा गाउँको उन्नतिका लागि महारुद्राभिषेक पूजा गरिएको बनारसीधाम विश्वनाथ सेवा समाजका पुजारी पण्डित गणेशप्रसाद पन्तले बताउनुभयो । बनारसीधाममा मुख्य पुजारीका रूपमा दलित, पन्त, भट्ट र अवस्थीले संयुक्त रूपमा पूजापाठ गर्ने चलन रहेको छ ।  

बनारसीधामको महिमाका बारेमा स्कन्ध महापुराणको मानसखण्डमा उल्लेख गरिनुका साथै सूर्य पुराण तथा साम्ब पुराणमा समेत बनारसीधामको महिमाका बारेमा वर्णन गरिएको पण्डित पन्तले बताउनुभयो । भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये विश्वनाथ ज्योतिर्लिङ्ग बनारसीधाममै रहेको उहाँले बताउनुभयो ।  

बनारसीधाम विश्वनाथ सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दले साउन महिनामा विभिन्न धाममा पूजापाठ गर्ने चलन रहेको जानकारी दिनुभयो । बनारसीधाममा माघ शुक्ल दशमी अर्थात् शैल्य दशमीका दिन विशेष जात्रा लाग्ने गर्दछ । गङ्गादशहरा र अक्षय तृतीयाका दिनसमेत पूजाआजा गर्ने चलन छ । परापूर्वकालमा खप¥या नामक दैत्यको बध गरिएकाले बनारसी देवतालाई स्थानीयले शक्तिशाली देवताका रूपमा पूजाआजा गर्दै आएका छन् । बनारसीधाम बाइस तालमा स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वास गरिएको छ । 

प्रज्ञा–प्रतिष्ठानले निकाल्यो पुस्तक 

नेपाल प्रज्ञा–प्रतिष्ठानले बनारसी देवताले बध गरेका राक्षस खप¥या दैत्यका बारेमा पुस्तक प्रकाशित गरेको छ । ‘खप¥या एवं देवताहरूबिचको द्वन्द्व र सिर्जित विभेद’ नामको पुस्तक स्थानीय पुरनसिंह दयालले लेख्नुभएको हो । 

सो पुस्तकमा बनारसीधाम र खप¥या दैत्यका बारेमा विस्तृत वर्णन गरिएको छ । साथै यहाँका अन्य देवीदेवताका विषयमा खोज अनुसन्धान गरेर पुस्तक तयार गरी प्रकाशित गरेको लेखक  दयालले बताउनुभयो ।