सन्तोष दहित
दाङ, कात्तिक ११ गते । दसैँतिहारको बीचमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी जुवा खेल्दै आएका ८८ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ११ लाख ८६ हजार रुपियाँ बरामद गरेको छ ।
जुवातास ऐनले स्पष्ट रूपमा प्रतिबन्ध लगाएको भए पनि चाडपर्वको समयमा जुवातासको गतिविधि मौलाउने गरेका छन् । यही क्रमलाई नियन्त्रण गर्न दाङ प्रहरीले विशेष सूचना र निगरानीमार्फत कडाइका साथ अभियान सञ्चालन गरेको हो ।
पक्राउ पर्नेमा जनप्रतिनिधिदेखि लिएर वर्षौंदेखि लुकिछिपी जुवा खेल्दै आएका व्यक्तिहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँको अनुसार पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका क्षेत्रबाट ४४ जना, तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ३० जना र राप्ती गाउँपालिका क्षेत्रबाट १३ जना रहेका छन्। पक्राउ परेकामाथि जुवाताससम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रवक्ता शाहीले बताउनुभयो ।