• ११ कात्तिक २०८२, मङ्गलबार

सहयोगका लागि सम्झौता सम्पन्न

blog

हिले समाचारदाता 

हिले, कात्तिक ११ गते । धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई पाँच अर्ब रुपियाँ बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनका तर्फबाट अध्यक्ष निर्मलमान सिंहले सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

 गाउँपालिकाको २० प्रतिशत र खेतान फाउन्डेसनको तर्फबाट ८० प्रतिशत लागत साझेदारी रहने गरी भएको सम्झौताको काम आगामी पाँच वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । यो सहयोगबाट गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवनसहित स्वास्थ्य, पूर्वाधार, रोजगार, पर्यटन र ऊर्जाको क्षेत्रमा काम हुने छ । सहयोग कार्यान्वयन पछि शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, पर्यटन र ऊर्जाको क्षेत्रमा उल्लेख्य फाइदा पुग्ने विश्वास पालिकाको छ । पालिका अध्यक्ष मनोज राईका अनुसार पाँच अर्ब रुपियाँ बराबरको सहयोग आगामी पाँच वर्षभित्रमा भित्रिसक्ने छ । यो लगानीपछि पालिकामा रोजगारीका अवसर, शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा धेरै फाइदा पुग्ने राईको भनाइ छ । 

कोशी प्रदेश सरकारको समन्वयमा पालिकाले यो सहयोग पाउन लागेको हो । सम्झौता कार्यक्रम धनकुटा पुग्नुभएका मुख्यमन्त्री कार्कीले प्रदेशकै पछि परेको पालिकाका रूपमा रहेकाले यो सहयोगको लागि सहिदभूमि गाउँपालिकालाई सिफारिस गरिएको बताउनुहुन्छ । यो कार्यक्रम पहिलेबाटै सुरु हुने भए पनि कोरोना महामारीका कारण अहिले आएर सुरु गरिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

 यस्तै सोही कार्यक्रममा खेतान फाउन्डेसन र ह्युम्यान प्राक्टिस फाउन्डेसनबिच कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लामा तीन अर्ब रुपियाँको लगानीमा माध्यमिक विद्यालय भवन, आइसिटी तालिमलगायतमा खर्च गर्ने सम्झौता भएको छ । यसमा खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिंह र ह्युम्यान प्राक्टिस फाउन्डेसन म्यानेजिङ डाइरेक्टर पेर्निले क्रुसे मड्सेनले हस्ताक्षर गर्नुभएको हो । कोशी प्रदेशका ११ जिल्लामा हुने काम प्रदेश सरकार तथा खेतान फाउन्डेसन र ह्युम्यान प्राक्टिस फाउन्डेसनबिच लागत साझेदारी रहने छ ।

 अहिले तीन अर्ब रुपियाँबाट सुरु भएको सहयोग दीर्घकालमा बढाएर १८ अर्ब रुपियाँसम्म पु¥याउन सकिने ह्युम्यान प्राक्टिस फाउन्डेसनका काउन्टी डाइरेक्टर शिव रायमाझीले जानकारी दिनुभयो । सुरुमा तीन अर्ब रुपियाँबाट सहयोग सुरु भए पनि पछि आवश्यकताको आधारमा लगानी बढ्न सक्ने उहाँको भनाइ छ । सहयोगपछि सहिदभूमि गाउँपालिकाको चौतर्फी र कोशी प्रदेशका पहाडी र हिमाली जिल्लाका पालिकालाई शिक्षातर्फ फाइदा पुग्ने कोशी प्रदेश सरकारले विश्वास गरेको जनाएको छ ।