• १२ असोज २०८१, शनिबार

दश करोड लगानीमा गण्डकी विश्वविद्यालयको भवन बन्ने

blog

गण्डकी विश्वविद्यालयको प्रमुख प्रशासकीय भवनको स्केच ।

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २५ गते । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले पोखरा महानगरपालिका वडा नम्बर ३२, मालमुलमा प्रमुख प्रशासकीय भवन बनाउँदैछ । १० करोड ९२ लाख ७१ हजार बनिरहेको तीन तले भवन २०८२ मङ्सिर २ गतेभित्र सक्नुपर्ने सम्झौता छ । 

अमेक्क्षा निर्माण कम्पनी काठमाडौँले कामको जिम्मा पाएको छ । भवनको भुईँ तलामा १६ वटा कोठा रहनेछन् । त्यहाँ विद्यार्थी कल्याणकारी तथा सामाजिक मामिला, आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, लेखा लगायतका कार्यालय रहनेछन् । विश्वविद्यालयका योजना तथा विकास प्रमुख इन्जिनियर सुदीप कोइरालाले दोस्रो तलामा रजिस्ट्रार कार्यकाल, योजना तथा विकास कार्यालय, आर्थिक प्रशासन, सामान्य प्रशासन, आइटी युनिट, सभा हललगायत रहने जानकारी दिनुभयो । 

भवनको तेस्रो तालमा ११ कोठा रहनेछन् । त्यहाँ कुलपति र उपकुलपतिका कार्यालय, सभाकक्ष, मानव संशाधन व्यवस्थापन कार्यालय र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका कार्यालय रहनेछन् । नौ सय २७ वर्ग मिटरमा बन्ने यो भवनमा ४२ कोठा रहनेछन् । भवनको प्रारम्भिक काम सुरु भइसकेको र शुक्रवार औपचारिक रूपमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गर्नुहुने विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो । 

गुरुयोजना बमोजिम संरचना निर्माण, शैक्षिक कार्यक्रम चलाएर चाँडै विश्वविद्यालयलाई लक्ष्यअनुसार प्रभावकारी रूपमा सञ्चालन गरिने रजिस्ट्रार डा. तिमिल्सिनाले जानकारी बताउनुभयो । “आगामी वर्ष हाम्रो पहिलो ब्याचका विद्यार्थीको दीक्षान्त हुँदैछ । पहिलो दीक्षान्त आफ्नै भवनमा गर्ने हाम्रो योजना छ,” उहाँले भन्नुभयो । 

गण्डकी विश्वविद्यालयको स्वामित्वमा पोखरा ३२ मालमुलमा पाँच सय २६ रोपनी जग्गा छ । त्यहाँ राष्ट्रिय आविष्कार केन्द्रसहित शैक्षिक कार्यक्रम सञ्चालनका लागि केही भवन बनिसकेका छन् । 

२०७६ मा स्थापना भएको गण्डकी विश्वविद्यालयले विश्वव्यापी मान्यता र स्तर अनुसारको शिक्षा दिने लक्ष्य लिएको छ । अहिले यो विश्वविद्यालयले केन्द्रीय कार्यालय मालमुल, मुस्ताङ चोक र महेन्द्र पुलमा विभिन्न सङ्कायमा पढाइ सञ्चालन गरिरहेको छ । खेलकुद व्यवस्थापनमा स्नातक पहिलो पटक नेपालमा सुरु गरेको यसले यो शैक्षिक सत्रबाट स्नातकोत्तरमा कृत्रिम बौद्धिकता (एआई) अध्यापन सुरु गर्दै छ । गण्डकी विश्वविद्यालयले ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी, ब्याचलर अफ फार्मेसी, बिबिए र बिएएलएलबीका कक्षा सञ्चालन गरिरहेको छ ।