• १२ असोज २०८१, शनिबार

अनुदानको आसाले करको फन्दामा व्यवसायी

blog

केशवचन्द्र महरा

दिपायल, साउन २५ गते । घरेलु तथा साना उद्योग कार्यालय डोटीमा हालसम्म जम्मा छ हजार ५५१ उद्योग दर्ता छन् । कार्यालयका अनुसार उद्योगतर्फ तीन हजार ९८२ र वाणिज्यतर्फ दुई हजार ५६९ फर्म दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म दुई हजार ४२४ फर्म मात्रै नवीकरण गरिएको छ । विगत पाँच वर्षको तुलनामा दर्ता भएका व्यावसायिक फर्मको अनुपातमा नवीकरण भएको पाइँदैन । व्यवसायीले व्यावसायिक फर्म दर्ता गर्ने तर नवीकरण तथा अद्यावधिक गरेको पाइँदैन ।

यो तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका व्यावसायिक फर्मको मात्रै हो । उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायत सङ्घीयतापछि स्थानीय तह अन्तर्गतका वडा कार्यालयमा पनि व्यावसायिक फर्म दर्ता नवीकरण गर्ने व्यवस्था छ । घरेलु कार्यालयबाहेक स्थानीय तह र उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्समा दर्ता भएका फर्मले पनि आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयबाट प्याान तथा भ्याट नम्बर लिई व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था छ । करदाता सेवा कार्यालय डोटीले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म डोटीमा सात हजार ५४७ व्यावसायिक फर्म प्यान तथा भ्याटमा दर्ता छन् । जसमध्ये तीन हजार २४ व्यावसायिक फर्म आव २०७९/८० सम्म नवीकरण तथा कर चुक्ता लिन बाँकी छन् । 

अनुदान र ऋणको आशामा करको फन्दा

पछिल्लो समय उद्योगतर्फ बढी फर्म दर्ता हुने गरको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख मोहन कठायतले बताउनुभयो । “सङ्घीयतापछि उत्पादनमूलक कृषि तथा पशुपन्छी फार्महरू बढी दर्ता हुने गरेका छन्,” कठायतले भन्नुभयो, “हाम्रो कार्यालयको हालसम्मको तथ्याङ्क हेर्ने हो भने २०७४ अघि वाणिज्यतर्फ किराना पसल, होटेललगायत अन्य पसल दर्ता हुने गरेका थिए । २०७४ यता उद्योगतर्फ बढी फर्म दर्ता भएको पाइन्छ ।”

वाणिज्यतर्फ दर्ता भएका व्यावसायिक फर्मको अहिले पनि नियमित नवीकरण तथा अद्यावधिक हुने गरेको भए पनि उद्योगतर्फ दर्ता भएका धेरै जसो व्यावसायिक फर्म नवीकरण भएका छैनन् । जसले बैङ्कबाट ऋण निकाल्न र सरकारका विभिन्न निकायबाट अनुदान पाउन फर्म दर्ता गर्ने गरेका छन्, ती व्यक्तिले नवीकरण गर्दैनन् ।

उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष विक्रम साउदले फर्म दर्ता गरेर नवीकरण, अद्यावधिक नगर्ने, कर चुक्ता नलिने व्यवसायीलाई पुस्तौँसम्म समस्या पर्नेमा चिन्ता व्यक्त गर्नुभयो । व्यावसायिक फर्म समयमै नवीकरण नहुनुको मुख्य कारण सरकारी अनुदान भएको उहाँले बताउनुभयो । 

स्थानीय सरकारले पनि अनुदान दिने आश्वासन दिन्छ, अनुदानका लागि व्यावसायिक फर्म हुनु पर्छ । फर्म दर्ता गरेर आउनुहोस् भनेर दर्ता गराउनुहुन्छ । सानो अनुदानको आशामा गरिब जनता जीवनभर करको फन्दामा पर्ने अवस्था छ । 

व्यवसाय देखाए बैङ्क तथा वित्तीय संस्थाले ऋण दिने गरेका कारण पनि ऋण लिन मात्रै व्यावसायिक फर्म दर्ता हुने गरेका छन् । 

करदाता सेवा कार्यालय डोटीले कर छुटसम्बन्धी सूचना प्रकाशन गरेको छ । जसमा आय विवरण र कर दाखिला गर्न बाँकी रहेका व्यवसायीको नाम, ठेगानासहितको सार्वजनिक सूचना सार्वजनिक गरेको छ । 

तत्कालको अवस्थामा आय विवरण र कर दाखिला गर्न बाँकी फर्मका लागि जरिबानामा पूर्ण छुट दिइएको छ भने ७५ प्रतिशत ब्याज छुट गरिने ठगुन्नाले बताउनुभयो ।