• १२ असोज २०८१, शनिबार

बङ्गलादेशका जनताको हित सर्वोपरि, कानुन-व्यवस्था छिट्टै बहाली हुने विश्वास-भारतीय विदेश मन्त्रालय

blog

भारतीय विदेश मन्त्रालय । फाइल तस्बिर

नयाँदिल्ली, साउन २४ गते । भारतले बङ्गलादेशका जनताको हित नयाँ दिल्लीका लागि सबैभन्दा  महत्त्वपूर्ण रहेको बताएको छ । भारत बङ्गलादेशमा तीव्र हिंसा र शेख हसिनाको राजीनामापछि ‘विकसित’ स्थितिप्रति चिन्तित रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले बङ्गलादेशमा कानुन-व्यवस्था शीघ्र बहाली हुने अपेक्षा गरेको बताएको छ । 

यो बङ्गलादेशका साथै सम्पूर्ण क्षेत्रको हितमा रहेको मन्त्रालयको भनाइ छ । “परिस्थिति विकास हुँदैछ... आज साँझ अन्तरिम सरकारको शपथ ग्रहण हुनेछ”, विदेश मन्त्रालयका प्रवक्ता रणवीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले एक पटक ती कुराहरू भइसकेपछि म के कुरामा जोड दिन चाहन्छु भने जहाँसम्म हामी, भारत सरकार, भारतका जनताको कुरा छ भारत चिन्तित छ, हाम्रा लागि बङ्गलादेशका जनताको हित सर्वोपरि छ ।”

बङ्गलादेशमा भारतीय कूटनीतिक मिसनहरूको अवस्थाबारे सोधिएको प्रश्नमा मन्त्रालयले गैर-आवश्यक कर्मचारी र उनीहरूको परिवारलाई परिस्थितिका बिच फिर्ता बोलाइएको भन्दै कानुन र व्यवस्था पूर्णरुपमा बहाली भएपछि सामान्य कामकाज सुरु हुने बताएको छ । बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको अवस्थालाई उल्लेख गर्दै विदेश मन्त्रालयले स्थितिको अनुगमन गरिरहेको बताएको छ । साथै मन्त्रालयले अल्पसङ्ख्यकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न समूह र सङ्गठनहरूले चालेका कदमहरूको स्वागत गरेको छ । रासस/एउनआइ