• २ फागुन २०८२, शनिबार

रोजगारी दिँदै हातेकागज उद्योग

blog

राप्ती गाउँपालिका–४, पिपरखुटीमा रहेको राप्ती नेपाली हातेकागज उद्योग । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, फागुन २ गते  । दाङको देउखुरीमा रहेको राप्ती नेपाली हातेकागज उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग गर्दै १५० भन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ । आर्थिक सङ्कट कारण देखाउँदै जिल्लामा साना तथा घरेलु उद्योग सञ्चालनमा चुनौती बनिरहेको समयमा राप्ती गाउँपालिका–४, पिपरखुटीमा २०७९ देखि सञ्चालनमा आएको उक्त उद्योगमा प्रत्यक्ष रूपमा दैनिक २४ जना र १५० स्थानीय बाबियो सङ्कलन गरेर आम्दानीमा जोडिएका छन् ।  

स्थानीय सामुदायिक वनबाट बाबियो सङ्कलन गरी वार्षिक सवाकरोड रुपियाँको नेपाली हातेकागज उत्पादन गर्दै आएको उद्योगका सञ्चालक डम्बरबहादुर जिसीले बताउनुभयो । उद्योगले मासिक १० लाख रुपियाँको कागज दाङसहित बुटवल, काठमाडौँ, पोखरा, वीरगन्जसँगै पश्चिम नेपालका विभिन्न जिल्लामा बिव्रmी गर्दै आएको छ । उत्पादित कागज बिक्रीमा समस्या नरहेको जानकारी दिँदै जिसीले भन्नुभयो, “कागज बिक्रीमा समस्या छैन । दाङदेखि बाहिरी जिल्लामा गइरहेको छ ।” उहाँका अनुसार देउखुरीका स्थानीयले नौ वटा सामुदायिक वनबाट वार्षिक २० लाख मूल्य बराबरको बाबियो सङ्कलन गर्ने गरेका छन् । 

त्यसै गरी उद्योगका लागि चाहिने अन्य कच्चा पदार्थका रूपमा रहेको लोक्ता पाँचथर र ताप्लेजुङबाट तथा रासायनिक पदार्थ भने भैरहवाबाट ल्याउने गरेको उहाँले बताउनुभयो । दाङमा उत्पादन नहुने कच्चा पदार्थका लागि वार्षिक ३० लाख रुपियाँ खर्च हुने गरेको उहाँको भनाइ छ । दैनिक सातदेखि आठ सय कोरी नेपाली कागज उत्पादन गर्ने उद्योगले पाँच प्रकारका कागज उत्पादन गर्दै आएको छ । 

उद्योगबाट उत्पादन भएको कागज प्रतिकोरी एक हजार छ सयदेखि दुई हजार दुई सय रुपियाँका दरले बिक्री भइरहेको सञ्चालक जिसीले बताउनुभयो । 

उहाँका अनुसार ४० लाख रुपियाँको लगानीमा सुरु गरिएको उद्योगमा अहिले एक करोड रुपियाँभन्दा बढीको लगानी पुगेको छ । उद्योगमा आठ वटा मेसिन सञ्चालनमा छन् । उद्योगको क्षमता बढाउन बाबियो पेल्ने मेसिन र थप भ्याट मेसिनको आवश्यकता रहेको सञ्चालकको भनाइ छ ।

जिसीले उद्योगको क्षमता वृद्धि गर्ने योजना रहे पनि कतैबाट सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य चौकीको जागिर छोडेर कागज उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुभएका जिसीले लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरे पनि सहयोग नपाएको बताउनुभयो । जिसीका अनुसार उद्योगमा घरपरिवार नै संलग्न छन् ।  उहाँका अनुसार दाङका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिकाबाहेक अरूले उद्योगबाट कागज किन्दैनन् । दाङका सरकारी कार्यालयले मात्रै नेपाली कागज किनिदिए स्थानीय उद्यम प्रवर्धनमा ठुलो सहयोग पुग्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।