बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन २ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालले स्वास्थ्य बिमा बापतको रकम समयमा नपाउदा सेवाप्रवाहमा समस्या भएको छ ।
जिल्लाको एक मात्र ५० शय्या क्षमता भएको पृथ्वी चन्द्र अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या बिमाको ठुलो रकम भुक्तानी बाँकी हुँदा समस्या भएको हो । गत आर्थिक वर्षको धेरै रकम भुक्तानी भएपनि चालु आर्थिक वर्षको ६ महिनामै बिमा बापतको भुक्तानी पाउनुपर्ने रकम दुई करोड ५८ लाख पुगेको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले कुल दुई करोड ६२ लाख ९४ हजार बिमा बापतको रकम स्वास्थ्य बिमा बोर्डसँग दाबी गरेपनि बोर्डबाट दुई करोड १० लाख मात्र भुक्तानी भएको थियो । गत वर्षको समेत जोड्दा पुस मसान्त सम्ममा अस्पतालले बिमा बापतको दुई करोड ८६ लाख १८ हजार पाउन बाँकी रहेको छ ।
दैनिक बिरामीबाट हुने आम्दानीको आधारमा दैनिक खर्च सञ्चालन गर्नुपर्ने अस्पतालहरुलाई सेवाप्रवाहमा समस्या भएको पृथ्वी चन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताउनुभयो । “बिमाको रकम नियमित प्राप्त नहुँदा अस्पताल चलाउन निकै समस्या परेको छ, औषधी खरिददेखि कर्मचारी नियुक्ति तथा तलब खर्चमा अप्ठ्यारो परेको छ,” चौधरीले भन्नुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश ढकालले नियमित बिमा बापतको रकम भुक्तानी नभए दैनिक कमाई गरेर खर्च सञ्चालन गर्नुपर्ने अस्पतालले सेवा दिन नसक्ने अवस्था आउने बताउनुभयो । स्वास्थय बिमा कार्यक्रम र सरकारी अस्पतालमा विशेषज्ञ सेवामा बढोत्तरी भएकै कारण बिरामीहरुको सङ्ख्या वृद्धि भएको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम नियमित गर्नुपर्ने प्रदेश सभा सदस्य खड्ग बस्नेतले बताउनुभयो । सरकारले नितिगत सुधार गरेर कार्यक्रमलाई नियमित गर्नुपर्नेमा बस्नेतको जोड छ ।