• १७ असार २०८१, सोमबार

कोक्रोमा नानी, घरदैलोमा उम्मेदवार

blog

 डोल्पा समाचारदाता

डोल्पा, वैशाख २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट मुड्केचुला गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सविता रोकाया कोक्रोमा दूधेबालक बोकेर घरदैलोमा हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाटै गाउँपालिका उपाध्यक्षमा विजयी 

हुनुभएको थियो । 

दोस्रो कार्यकालका लागि रोकाया चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवार रोकायाले भन्नुभयो, “पहिलो पटक निर्वाचित हुँदा धेरैजसो समय सिकाइ र अनुभवमा बितेकाले बाँकी रहेका अधुरा काम गर्न पुनः उपाध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।”वैशाखको चर्को घाम, हावाहुरी र वर्षात्को कुनै वास्ता नगरी दूधेबालकलाई पिठ्युँमा बोकेर जनताका लागि काम गर्ने प्रतिबद्धतासहित घरदैलोमै पुग्दा मतदाताले पनि रोकायालाई हौसला दिइरहेका छन् । 

नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेकी रोकाया डोकोमा छोरो बोकेर जनताकै घरआँगनमा पुगेर मत मागिरहँदा आफूलाई भावुक बनाएको स्थानीय बासिन्दा अमरबहादुर शाहीले बताउनुभयो । आफ्नो उम्मेदवारी गरिब, दलित, महिला, बालबालिकाका अधिकार सुनिश्ति गर्न तथा विकास र समृद्धिका लागि भएकाले मुड्केचुलावासीले पुनः आफूलाई अत्यधिक मत दिएर विजय गराउनेमा विश्वस्त रहेको रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मेरो उम्मेदवारी महिलाको आर्थिक, सामाजिक विकासका क्षेत्रमा नयाँ काम गर्नका लागि हो ।’ वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि मुड्केचुला गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका तर्फबाट पालिका प्रमुखमा दत्तबहादुर शाही, उपप्रमुखमा दूधा रोकाया र नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा लङ्कबहादुर रोकाया र उपाध्यक्षमा सविता रोकाया प्रतिस्पर्धामा हुनुहुन्छ । पालिका प्रमुख, उपप्रमुखसहित ५७ पदका लागि ९१ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

०७४ को स्थानीय तह निर्वाचनमा एक मतले पराजित भएका नेकपा (एमाले)का लङ्कबहादुर रोकाया र पहिलो पटक निर्वाचित भई दोस्रो कार्यकालका लागि प्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका दत्तबहादुर शाहीबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । नेकपा (एमाले) र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएअनुसार उम्मेदवारहरू प्रचारप्रसारमा जुटिरहेका बेला नेकपा (माओवादी केन्द्र)को लालकिल्ला मानिएको मुड्केचुला गाउँपालिकामा आफ्नो विरासत जोगाउन नेकपा (माओवादी केन्द्र)लाई हम्मेहम्मे हुने अवस्थाको सिर्जना भएको लक्ष्मण शाहीले बताउनुभयो ।