गोरखा, ४ साउन २ गते । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नुभएका उहाँलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल छोडेर विद्यालय भर्ना हुनुभएको छ । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना हुुनुभएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थाल्नुभएको हो ।
“अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,” उहाँले भन्नुभयो, “शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।” सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उहाँलाई दुःख लाग्ने गरेको छ ।
बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताउनुभयो तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उहाँको भनाइ छ ।
“जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ”, उहाँले भन्नुभयो, “अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ ।” विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थाल्नुभएको हो ।
कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उहाँको भनाइ छ । “गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भन्नुभयो, “बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ ।”
कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै सङ्गत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उहाँ बताउनुहुन्छ । “नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबिबिएस पूरा गर्छु, उहाँले भन्नुभयो, “त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।”
उहाँलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । “मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,” उहाँले भन्नुभयो, “इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ ।” विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउनुहुन्छ ।
घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन् । विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताउनुभयो । “विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,” प्रधानाध्यापक आर्चायले भन्नुभयो, “उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।” कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उहाँले बताउनुभयो । रासस