• ८ पुस २०८१, सोमबार

सम्धीले हात नउठाए पनि ३६ वर्ष जनप्रतिनिधि

blog

वसन्त पराजुली 

भरतपुर, वैशाख २३  गते  । हरेक चुनावमा प्रचार र मतदानका शैली फेरिने गरेका छन् । २०२५ साल ताका हात उठाएर मतदान गरी वडा अध्यक्ष चुनिएर पटक–पटक गरी ३६ वर्ष जनप्रतिनिधि रहेका आसबहादुर लामा त्यही फेरिएको चुनावी शैलीप्रति गुनासो गर्नुहुन्छ । 

नौ दशक पुग्न लाग्नुभएका उहाँले आफू पहिलो पटक निर्वाचित हुँदा र अहिलेको चुनावी शैलीको तुलना गर्दैै भन्नुभयो, “अहिले त चुनाव सारो भड्किलो पो भयो । मुठ्ठाको मुठ्ठा पैसा खर्च गर्नुपर्ने अवस्था छ । म ३६ वर्ष जनप्रतिनिधि हँुदा एक रुपियाँ पनि खर्च नगरी निर्वाचित हुने गरेको थिएँ ।”

१९८९ असारमा गोरखामा जन्मनुभएका लामा चितवनमा पहिलो पटक हात उठाएर निर्वाचित हुँदा सम्धीको मत पाउनुभएको थिएन । तत्कालीन शारदा नगर गाउँ पञ्चायतको वडा नम्बर २ किरणगञ्जमा रहेका ३७ जना स्थानीयवासीको भेलाले हात उठाएर उहाँलाई वडा अध्यक्ष चुनेका थिए । उहाँले भन्नुभयो, “त्यस्तै २५ सालतिरको कुरा होला गाउँमा वडा अध्यक्ष बनाउने कुरा भयो । मलाई अध्यक्ष बनाउन भेला भएका सबैले हात उठाए तर एक जनाले उठाउनुभएन । उहाँ मेरै सम्धी हुनुहुन्थ्यो । उहाँलाई पनि अध्यक्ष हुन मन रैछ । सबैले हात उठाएपछि मात्र सम्धीले पनि सहयोग गर्नुभयो ।”

त्यसपछि लामा लगातार नौ वर्ष वडा अध्यक्ष र पटक–पटक प्रधानपञ्च तथा गाविस अध्यक्ष हुनुभयो । उहाँले प्रतिनिधित्व गरेका वडा र स्थानीय तह अहिले परिवर्तन भएका छन् । उहाँ प्रधानपञ्च बनेको शारदानगर गाउँ पञ्चायत २०४६ को राजनीतिक परिवर्तनपछि गाउँ विकास समिति भयो । त्यसमा पनि उहाँ दुई कार्यकाल अध्यक्षमा निर्वाचित हुनुभयो । २०६९ मा चित्रवन नगरपालिका हुँदै अहिले भरतपुर महानगरका वडा नम्बर १९ र २० भएका छन् ।

सुरुमा पञ्च र पछि काँग्रेस हुनुभएका लामाको नाम वडा अध्यक्षदेखि प्रधानपञ्च हुँदै गाविस अध्यक्षसम्म काम गर्दा आफैँले शारदानगरमा विभिन्न बाटोघाटो निर्माण, शारदानगरमा कलेज र स्कुल निर्माण, खगेरी नहर सिँचाइ विस्तारलगायतका विकास निर्माणमा दरिएको छ । विशेष रूपमा भरतपुरबाट पश्चिमतर्फ मेघौली, सिमरीटाउन जाने बाटो निर्माणमा उहाँको लगानी ठूलो छ । 

“गाविस हुँदा पनि शारदानगरलाई जिल्लाकै नमुना बनाएको थिएँ,” उहाँले भन्नुभयो । उहाँले आफू सुरुदेखि नै अन्याय र अत्याचारविरुद्ध रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई त्यसै नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकीको गोरुले मेरो ससुराको मकै खाएछ । त्यसमा टोलछिमेकका गन्यमान्यको भेला बसेर छिमेकीलाई १० रुपियाँ जरिवाना लगाए । त्यो जरिवना तिनै गन्यमान्यले बाँडेर लिए ।” 

त्यो थाहा पाएर आफू समाजसेवामा लागेको बताउँदै प्रवेश गर्दाको दोस्रो प्रसङ्ग सुनाउनुभयो, “कुनै पनि झगडा तथा मुद्दा मिलाउन भाले काट्ने, रक्सी खुवाउनैपर्ने हुन्थ्यो तर मैले त्यो सबै रोकेँ ।” गोरखाका आसबहादुर चितवनमा जनप्रतिनिधि हुँदाको बेग्लै रोचक घटना छ । २०१३ सालताका चितवनमा पुनर्बास कार्यक्रम चलेको थियो । त्यसै मेसोमा बाढीपहिरोपीडित १७ गाउँलेसहित उहाँ चितवन झर्नुभयो । 


उहाँले भन्नुभयो, “राप्ती दुन परियोजनाअन्तर्गत चितवनमा पुनर्बास सुरु भएका बेला यहाँ एक मोहोरको कुपन किन्दा पाँच बिघाको प्लट जग्गा आउँथ्यो । चितवन त आइयो तर मेरो बिहे भएको थिएन । बिहे नभई त्यो कुपन नपाइने । त्यसो भएपछि मैले एक जना नेवार्नी दिदीलाई एक मोहोर पैसामै अस्थायी श्रीमती बनाएर जग्गा दर्ता गरेर चितवनको स्थायी बासिन्दा बनेँ ।”

बसाइँ सरेको एकै वर्षमै २०१४ सालमा उहाँ भारतीय सेनामा जागिर खान जानुभयो । सात वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि उहाँ फेरि भारत जानुभएन । उहाँले नेपालमै जागिर पाउनुभएको थियो र त्यो भारतीय सेनामा पाउनेभन्दा सय रुपियाँ बढी थियो । 

उहाँले भन्नुभयो, “भारतीय सेनामा हुँदा मेरो तलब ४० रुपियाँ थियो तर नेपालमै एक सय चालीस रुपियाँ जागिर पाएपछि म भारत नफर्की यतै जागिर गर्न थालेँ ।” उहाँले थप्नुभयो, “म नेपाल फर्कंदा रामपुर कृषि क्याम्पस स्थापना भइसकेको थियो । त्यहीँ इन्सपेक्टरका रूपमा मैले झन्डै पाँच वर्ष काम गरेँ ।” पाँच वर्षपछि त्यहाँ पनि आफूलाई काम गर्न मन नलागेपछि जागिर छाडेर समाज सेवातर्फ आफू केन्द्रित भएको उहाँले बताउनुभयो । अहिलेको राजनीतिक र चुनावमा समाजसेवाको भावना नै नरहेको उहाँको अनुभव छ । 

चुनावमा उम्मेदवार भएर जाँदा सर्वसाधारण जनताले नै चिया, खाजा, खाना खुवाउने गरेको सम्झना सुनाउँदै उहाँले भन्नभयो, “उहिल्यैका कुरा खुलियो भन्छन् तर अहिले त उम्मेदवार बन्नै पैसो बुझाउनुपर्ने भन्ने आयो । टिकट पाएपछि पनि दिनदिनै भोजभतेर । यसरी निर्वाचित जनप्रतिनिधिले कसरी स्वच्छ तरिकाले काम गर्न सक्ला ?”

अहिलेको खर्चिलो राजनीति रोक्नुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “जेमा पनि पैसा चाहिन्छ । सम्पत्ति नहुने चुनाव लड्न सक्दैन । मेरो हिजो जति जग्गा थियो, अहिले पनि उत्तिकै छ । न त मैले चुनावमा खर्च गरेँ न त कुनै भ्रष्टाचार नै गरेर सम्पत्ति जोडेँ ।”उहाँले अहिले जनता पनि चोट्टा नेता पनि चोट्टा भन्दै थप्नुभयो, “नेताले पैसा नदिए जनताले कसरी लिन्छन् ? नेता इमानदार भएनन् जनता पनि उस्तै ।”