• ३१ वैशाख २०८१, सोमबार

भिडियाे : दक्ष प्रसूतिकर्मी दिवस

चाहिने १७ हजार : दक्ष प्रसूतिकर्मी २५ जना मात्रै

blog

भिडियो: मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, वैशाख २२ गते । नेपालमा सुरक्षित मातृत्वको लागि सन् २०३० सम्म १० हजार ५९० मिडवाइफ्री व्यवसायहरु आवश्यक पर्ने आंकलन गरिएको छ। 

 नेपालको स्वास्थ्य जनशक्ती सम्बन्धि राष्ट्रिय रणनिति  २०७७/७८ देखि २०८७/८८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्म ४ हजार १८० र सन् २०३० भित्र छ हजार ४१० गरी जम्मा १० हजार ५९० मिडवाइफ्री व्यवसायीक आवश्यक  पर्ने आंकलन गरिएको हो । 

विगत ६ वर्षमा आंकलन गरेको मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने नेपाल सरकार असक्षम देखिएको छ। नेपाल सरकारको दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०६३ को दिर्घकालिन रणनीति अनुसार मिडवाइफ्री सेवा र नेतृत्व प्रदान गर्न सुरक्षित मातृत्वको लागि महत्वपूर्ण मावन  संसोधनको रुपमा व्यवसायिक मिडवाइफको नयाँ जनशक्ति उत्पदान गर्ने लक्ष्य अनुसार हाल नेपालमा २८ जनामात्रै जनशक्ति उत्पादन भएका छन् जसमध्ये २५ जना विभिन्न पदमा रहेर अस्पतालमा कार्यरत छन् । त्यति मात्र होइन सरकारी अस्पतालहरूमा मिडवाइफको दरबन्दी नै नभएको भनाइ मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङको छ । 

नेपालमा प्रति एक लाख जीवित शिशुको जन्म हुँदा २३९ जना आमाको मृत्यु भएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

सरकारले सन् २०३० सम्म मातृ मृत्युदर ७० मा झार्ने दिगो विकासको लक्ष्य राखेको छ । तर मातृ मृत्युदर घट्नुको साटो झन् बढेको छ । त्यसैगरी, विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ ।

 अन्य कारणका साथै मिडवाइफको अभावको कारणले पनि नेपालमा मातृ मृत्युदर बढेको सरोकारवाला बताउँछन् । त्यसैले पनि, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि मिडवाइफले दिने सेवा अति आवश्यक छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्ष प्रसूतिकर्मीहरुले ८५ प्रतिशत प्राकृतिक रुपमा बच्चा जम्माउन सघाउँछन् । मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङका अनुसार दक्ष प्रसूतिकर्मी स्वस्थ प्रसूतिका लागि सक्षम जनशक्ति हुन् । मातृ तथा नवजात शिशुको अकाल मृत्युबाट बचाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने डा. तामाङ बताउनुहुन्छ ।

 डा. तामाङ विकसित मुलुकहरुमा नवजात शिशुको स्याहारका लागि दक्ष प्रसूतिकर्मी पहिलो रोजाइमा पर्ने भए पनि नेपालमा भने यसको महत्व अझै बुझाउन नसकिएको बताउनुहुन्छ । आधारभूत शिक्षा र दक्षता पूरा गरी दक्ष प्रसूतिकर्मी अभ्यास गर्न योग्य स्वास्थ्यकर्मीलाई ‘मिडवाइफ’ भनिन्छ । 

डा. तामाङ भन्नुहुन्छ, “महिलाको गर्भमा शिशु भएदेखि जन्मिने बेलासम्मको रेखदेख गर्ने काम मिडवाइफको हो । स्वास्थ्य संस्थामा गर्भवतीलाई जाँच गर्ने, औषधि दिने, प्रसूति गराउने र सुत्केरी भइसकेपछि उनीहरुको स्याहार गर्ने मात्र नभई उनीहरुलाई शारीरिक र मानसिकरुपमा तयार बनाउनु पनि उनीहरुको मुख्य कामअन्तर्गत पर्दछन् ।” 

डा. तामाङका अनुसार, भौगोलिक विकटता भएको नेपालमा दक्ष प्रसूतिकर्मीको भूमिका महत्वपूर्ण मानिन्छ तर, नेपालमा यस्तो जनशक्ति अत्यन्तै न्यून छ । नेपालमा सुरक्षित मातृत्वको आवाज उठेपछि सन् २००२ मा मिडवाइफको चर्चा चल्न थालेको हो । 

२०७३ सालबाट नेपालमा मिडवाइफ्रीसम्बन्धी पढाइ सुरु भएको हो । मिडवाइर्फको सङ्ख्या नेपालमा औँलामा मात्र सीमित छन् । मिडवाइफ्री सम्बन्धि जनचेतना फैलाउन हरेक वर्षको मे ५ मा अन्तर्राष्ट्रिय मिडवाइफ डे मनाउने प्रचलन छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने गरिन्छ । यो वर्षको अन्तराष्ट्रिय नारा “सय वर्षको प्रगति”  र राष्ट्रिय नारा “एक दशक बढीको प्रगति” रहेको छ ।

  अन्र्तराष्ट्रिय मिडवाइफ डेको अवसरमा मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष डा. लक्ष्मी तामाङसँग मिडवाइफको भूमिका, नेपालमा मिडवाइफको आवश्यकतालगायत विषयमा प्रस्तुत छ भिडियो संवाद :  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।