एउटा सानो कुरालाई लिएर पनि उनीहरू विभुको बहिष्कार गर्थे । सम्पूर्ण बहिष्कार । कक्षामा कसैलाई ऊसँग बोल्न दिँदैनथे । साथीहरूले उसको दुःख नबुझिदिएकोमा विभु झन् दुःखी हुन्थ्यो । घरबाट आमाले अर्ती दिएर पठाउँथिन्, “साथीहरूसँग मेल राख्नू । झगडा नगर्नू ।” साथीहरू थिए तर ऊसँग मेल राख्न नखोज्ने । उसलाई सताइरहने । सताउने उपाय उनीहरूको अत्यन्त अनौठो हुन्थ्यो । भन्थे, “विभु, जा आज तँ सजिलो काममा परिस् । भोलि तैँले हाम्रो होमवर्क गरेर ल्याउनू ।” यो पनि कुनै सजिलो काम थियो ? उसले साथीहरूलाई भन्थ्यो, “घरमा आमालाई सघाउनु पर्छ ।” उनीहरूले भने, “तेरी आमा हाम्रो घरमा काम गर्ने त हो । हामीले भनेका छौँ भनेपछि तेरी आमाले पनि गरिदे न त त्यति होमवर्क भन्ने त हो । अनकन नगर । नत्र तँ हामीभन्दा बाहिर हुन्छस् ।”
“हामीभन्दा बाहिर हुन्छस्” भन्नुको अर्थ हुन्थ्यो, धेरै दिनसम्म उनीहरूले विभुलाई बोलाउँदैनथे, कट्टी गर्थे । त्यति मात्र होइन, विभुको झोलै गायब पारिदिन्थे । त्यो झोला कहिले स्कुलको बाटोमा फालिएको भेटिन्थ्यो, कहिले विभुको घर पुगिसकेको हुन्थ्यो । आमा चकित पर्थिन्, “विभु तेरो झोला तँभन्दा पहिले कसरी घर आइपुग्यो ?” विभुसँग जवाफ हुँदैनथ्यो । आँखाभरि आँसु आउन खोज्थे त्यसलाई ऊ आमाबाट लुकाएर भन्थ्यो, “खै, साथीहरूले ल्याइदिएका हुन् कि ?” आमा थप सोध्थिन्, “हैन तँ कता गाथिस् झोला अरूले टप्प टिपेर कुदाउँदा पनि नदेख्ने ?” विभु फुर्ती झिक्दै भन्थ्यो, “म फुटबल गेममा व्यस्त थिएँ ।” विभु फुटबलको कक्षा क्याप्टेन थियो । साथीहरू उसको क्याप्टेन हुनुलाई गिज्याउँथे, गिज्याउँदै बेलाउँथे, “ओ क्याप्टेन साहेब, जाऊ फुटबल टिपेर ल्याऊ !” भनाइको अर्थ यो थियो मैदानबाहिर गएको बल टिपेर ल्याऊ । विभु यो सबै सहन्थ्यो । उसलाई फुटबलको गेम असाध्यै मन पथ्र्यो र भविष्यमा ऊ पेले, बेकहम, म्याराडोना, मेसी र रोनाल्डो जस्तै एक ठुलो फुटबल खेलाडी बन्ने सपनामा थियो । लक्ष्य ठुलो थियो तर बाटो साँघुरो ।
कक्षामा सँगै भर्ना भएका थिए विभुसँग रमेश र मित्रलाल । विभुका छिमेकी र साथी यिनै थिए । उनीहरू दुवैले विभुलाई स्कुल खुलेकै दिनदेखि कान समातेर उठबस गर्न लगाएका थिए, कारण विभुले उनीहरूको झोला बोक्न अस्वीकार गरेको थियो । परिचय बनेको अर्को दिनमै तिनले विभुलाई “ए केटा यो झोला बोक” भनेका थिए । विभु पहिले त चकित परेको थियो । हिजै मात्रको चिनजान छ र आजै झोला बोक भन्छन् । “म झोला बोक्ने होइन, म पनि यो स्कुलको विद्यार्थी हुँ । तिमीहरूको कक्षाको साथी ।” ‘साथी हुने हो भने हामीले भनेको मान्नु पर्छ र पहिलो काम तैँले यो झोला बोकेर कक्षामा पु¥या ।” विभुले मानेको थिएन । मित्रलाल स्कुलको सहायक प्रधानाध्यापकको छोरो थियो । त्यसैले ऊ चाहन्थ्यो, विभु उसको आज्ञाकारी बनोस् । यसमा ऊ सहमत थिएन तर ती दुई जना मिलेर उसलाई भकुर्ने हुन् भन्ने डरले विभुले झोला कक्षाकोठामा पु¥याएको थियो ।
यसरी विभु उनीहरूको दकसमा पर्दै गयो । ती दुवै केटा शिक्षकका अगाडि अत्यन्त सोझा देखिन्थे मानौँ उनीहरूमा पढ्नुबाहेक अन्य कुनै व्यसन नै छैन । ती दुवैलाई विभुले लुकेर चुरोट तान्ने गरेको देखेको थियो । विभुलाई पनि उनीहरूले चुरोट पिउने बनाउन चाहेका थिए । उसले त्यसमा कडा प्रतिवाद गरेको थियो तर तीमध्ये मित्रलालले पछाडिबाट दुवै पाखुरा कसेर समातेपछि रमेशले सल्काएको चुरोटको दुई तीन सर्को फुइँफुइँती तानेर उसको पिँडौँलामा झोसिदिएको थियो । विभु कराउन सकेको थिएन । रमेशले लगत्तै उसको मुखमा हत्केला राखेर आवाज दबाइदिएको थियो । अर्को दिन बिहान आमाले उसको खुट्टाको घाउ देखेर “यो के हो” भनेर सोधेकी थिइन् । विभुले थाहा नपाएझैँ भनेको थियो, “हँ, यो के भएको रहेछ ? मलाई थाहै छैन आमा ।” आमालाई काममा जान अबेर भइरहेको थियो । उनी यताउता लामो कुरा सोधखोज नगरी कामतिर हिँडिहालिन् । भरे त्यो घाउमा कडु तेल र बेसार मलेर लगाइदिएकी थिइन् ।
विभुलाई यो डर लागिरहेको थियो, घाउ नपाकोस् । केटाहरू उसकी आमाले कडु तेल र बेसारले घाउ उपचार गरेको देखर हाँसेका थिए । ‘गमारहरूले अरू के गर्न सक्छन् ?’ आमासँग रुपियाँ/पैसा हुँदैनथ्यो । भए पनि कमै थियो जसले गर्दा विभुले मुस्किलले दुई जोर स्कुलको डे«सले काम चलाउँथ्यो । गरिबी थियो तर आमाले उसको सरसफाइमा पूरा ध्यान दिन्थिन् । एउटा छोरो त्यो पनि गरिबीमा हुर्केको । आमा मन दुखेको बेला आँसु झार्दै भन्थिन्, “हामी गरिब नै थियौँ । तेरो बा पनि गरिब घरकै थिए । औषधी उपचारको अभावले बिते । यो गरिबी कहिले जाने हो ? तँ ठुलो भएपछि केही गर्लास् कि भन्ने आस छ ।” विभु पनि आमाको कुराले रुन्थ्यो । आमाछोरा सँगै रुन्थे र काममा लाग्थे । विभु होमवर्क गर्नतिर लाग्थ्यो त आमा पकाउनतिर । जाँचको समय आइरहेको थियो । रमेश र मित्रलाल पढ्नमा कत्ति पनि रुचि राख्दैनथे । रमेशको बाउले छोरो बिग्रियो भनेर छात्रावाससहितको स्कुलमा भर्ना गर्ने सोच बनाइरहेका थिए । जाँच नजिक नजिक आइरहेको थियो । यस पल्ट पनि ती दुवै फेल हुने पक्का थियो । विभुलाई उनीहरूले एक दिन स्कुलको खेल मैदानमै समाते र एक कुनोतिर डो¥याउँदै लगे । “तँ हामीसित कति तर्केर हिँड्छस् भन् त । तेरो काल आएको छ कि क्या ?” विभुलाई पिसाब आउला झैँ भयो । मित्रलालले यस्तरी हप्काएर भनेको थियो, विभुको जिउ थरथर काम्ला झैँ भयो । “मैले के गर्नु प¥यो मित्रलालदाइ ? वर्षभरिको पढाइ एकै दिनमा पिउन सकिन्न ?” विभुले काँपेको स्वरमा भन्यो । पछाडि रमेश उभिएको थियो । “तँ मात्रै पास हुने भएपछि किन पढिरहेछस् । हामीसँग उठबस गर्दै हिँडे
हुँदैन ?” विभुले रमेशको तर्क बुझेन । “पास त हुनै प¥यो रमेशदाइ नत्र आमाले पढ्न पाउन्नस् भन्छिन् । हामी गरिब छौँ । एक वर्ष पनि फेल हुनु पाइन्न भनेकी छन् । हामी गरिब छौँ र त पढाइमा बढी ध्यान दिनु पर्छ भन्छिन् ।” “तेरी आमा ठुलै विद्वान् रहिछन् । छोराका साथीहरू फेल हुने छोरो पास हुनुपर्ने ? कस्ती आमा तेरी ? आजदेखि पढिस् र जाँचमा पास भइस् भने तैँले हाम्रो पिटाइ खाइस् बाबु, बुझ् ।” विभुको विवेकले त्यो स्वीकार गरेन तर जवाफमा बोल्नु ठिक थिएन, बोलेन । उसले भन्यो, “हेरौँ, घरमा त नपढी हुन्न तर जाँचमा नलेखौँला ।” रमेश र मित्रलाल उसका कुराले खुसी भए तर तिनको मनमा शङ्का थियो । विभुको के ठेगान ? पास भएछ भने हेरौँला भनेर तिनले तत्काल चित्त बुझाए ।”
जाँच सकिएपछि रिजल्टमा विभु कक्षाभरिमा उत्तम अङ्कले पहिलो आयो । उसको प्रशंसा भयो र उसलाई एक कक्षा माथि पढ्ने अवसर दिइयो । आठको विद्यार्थी थियो, ९ कक्षामा पढ्ने भयो । रमेश र मित्रलालको साथ छुट्यो तर मित्रलाल र रमेशको मनमा इबी सँगालिएकै थियो । उनीहरू मौकाको खोजीमा थिए । यसबिच मित्रलालले गुलेली चलाउन सिकिसकेको थियो । उनीहरू दुई साथी सल्लाहले एक दिन स्कुलको कम्पाउन्डको छेउमा भएको रुखको आडमा गुलेलीसहित उभिएका थिए । मित्रलालले गुलेलीमा सिसाको गुच्चा राख्यो र विभुतिर ताकेर हान्यो । गुच्चा विभुको आँखाको ठ्याक्कै तल लाग्यो र ऊ बेहोस भएर भुइँमा पछारियो । मित्रलाल र रमेश त्यहाँबाट भागिहाले, कसैले देख्न सकेन ।
छ महिनापछि बल्लतल्ल विभुको आँखामुनिको चोट ठिक भयो । डाक्टरले उसको चोट खाएको आँखाको दृष्टि कमजोर भएको भन्यो । उसकी आमाले जसले छोराको यो अवस्था बनाएको हो त्यसको सर्वनाश होस् भनेर सत्तोसराप गरे पनि विभु चुप लागिरह्यो । कक्षा अलग भइसकेको थियो रमेश र मित्रलालसित भनेपछि उसले तिनको नाम लिएर दण्डित गराउन उचित देखेन । डर थियो होला मनमा । मित्रलाल र रमेश डरले घरबाट कमै निस्कन्थे तर तिनलाई तिनका आमाबाबुले अर्कै स्कुलमा भर्ना गरिसकेका थिए । एउटा अचम्मको कुरो यो थियो रमेश र मित्रलालको जीवनमा । ठुला भएर गृहस्थीवाल भएपछि पनि ती दुईले यो बुझ्न सकेनन् विभुले उनीहरू विरुद्ध किन मुख खोलेन ? उनीहरूले गरेको अपराधबारे उसलाई प्रत्यक्ष थाहा थियो तर क्षमा गरे जस्तो गरी ऊ किन मौन रह्यो ? उनीरू भेट हुँदा यो कुरो चर्चा गरेर एकअर्कालाई हेरेर मौन रहन्थे ।