• १६ भदौ २०८१, आइतबार

नेपालको सहभागिता

blog

प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकमा सन् १९६४ देखि  नेपालले सहभागिता जनाउँदै आएको छ । अहिलेसम्म भाग लिएका हरेक ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित छ । ओलम्पिकमा नेपालले अहिलेसम्म पदक जितेको छैन ।

यस पटक पेरिस ओलम्पिकमा पनि नेपालले सहभागिता जनाउने छ । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजना गरिएको १८ औँ ओलम्पिकमा सहभागिता जनाएको थियो । सो ऐतिहासिक सहभागितामा छ जना खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा नेपालका भूपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले (म्याराथन) तथा नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा बक्सिङमा सहभागी भए । 

आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गएिको 

१५ औँ ओलम्पिकमा पर्यवेक्षकका रूपमा भाग लिइसकेको थियो । सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९ औँ ओलम्पिकमा नेपालले भाग लिएन । 

सन् १९७२ मा तत्कालीन पश्चिम जर्मनीको म्युनिखमा २० औँ ओलम्पिकमा नेपालका दुई धावक जितबहादुर केसी र भक्तबहादुर सापकोटाले मात्र सहभागिता जनाए । सो ओलम्पिकमा जितबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वीभन्दा अगाडि रहँदारहँदै पनि एक्कासि उत्पन्न पिँडौलाको चोटले गर्दा दौड परित्याग गर्नु परेको थियो । सो समय केसीले करिब ३२ किलोमिटर दूरी पार गरिसकेका थिए । दौड परित्याग गर्नुअगाडि स्थानीय टेलिभिजनले उनलाई सम्भावित विजेता घोषणासमेत गरिसकेको थियो । सञ्चार माध्यमबाट ओलम्पिकमा नेपाली खेलाडीले सबभन्दा बढी चर्चा पाएको अवसर सम्भवतः त्यही एउटा मात्र होला । अर्का धावक भक्तबहादुर सापकोटा २५ औँ स्थानममा रहे ।

सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २१ औँ ओलम्पिकमा नेपालबाट सार्क क्षेत्रमा कीर्तिमान राखेका धावक वैकुण्ठ मानन्धर एक जनाले मात्र सहभागिता जनाए तर मानन्धर ओलम्पिकमा निकै पछाडि रहे । मानन्धर ५० औँ भएका थिए । 

सन् १९८० मा तत्कालीन सोभियत सङ्घको राजधानी मास्कोमा भएको २२ औँ ओलम्पिकमा नेपालले पहिलो पटक ठूलो टोली पठायो । सो ओलम्पिकमा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलनमा भाग लिएको थियो । मास्को ओलम्पिकमा समावेश खेल एथलेटिक्समा वैकुण्ठ मानन्धर, मुकुन्दहरि श्रेष्ठ, रघुराज पन्त, नरबहादुर दाहाल, लक्ष्मण बस्नेत तथा बक्सिङमा विष्णु मालाकार, नरेन्द्र पोमा, पुष्करध्वज शाही, रविराज थापाले र भारोत्तोलनमा अशोक कार्की, राजेन्द्र प्रधानले सहभागिता जनाएका थिए । ती ११ जना खेलाडी पदकविहीन भएर घर फर्के ।

सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजना भएको २३ औँ ओलम्पिकमा पनि नेपालले एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा नै भाग लियो । लसएन्जल्स जाने खेलाडीमा पुष्पराज ओझा, जोधा गुरुङ, अर्जुन पण्डित, अमिर यादव र वैकुन्ठ मानन्धर (एथलेटिक्स), उमेश मास्के, दलबहादुर रानामगर र प्रवीण तुलाधर (बक्सिङ), सुरेन्द्र हमाल र जगदीश प्रधान (भारोत्तोलन) थिए । सो ओलम्पिकमा पनि नेपालले अनुभव 

सँगाल्ने काम मात्र ग¥यो ।

सन् १९८८ मा दक्षिण कोरियाको सोलमा भएको २४ औँ ओलम्पिक नेपाललाई विशेष रह्यो । महिला सहभागिता र पदकको दृष्टिकोणले यो ओलम्पिक नेपालका लागि महìवपूर्ण छ । सोल ओलम्पिकमा समावेश गरिएको प्रदर्शन खेल तेक्वान्दोमा नेपालका विधान लामाले कांस्य पदक जिते । विधानले बेलायत र पश्चिम जर्मनीका खेलाडीलाई हराएका थिए । 

उनकै खेलले ओलम्पिकमा राष्ट्रिय गानसहित नेपालको ध्वजा फहराइयो तर आधिकारिक खेल नभएका कारण विधानको सफलताले नेपाललाई पदक तालिकामा उपस्थित गराउन सकेन । 

सो ओलम्पिकमा नेपालले तेक्वान्दोलगायत एथलेटिक्स, बक्सिङ, सुटिङ, जुडो र भारोत्तोलनमा भाग लिएको थियो । नेपालका लागि कृष्णबहादुर बस्नेत, टीका बोगटी, डम्बर दनुवार, वैकुण्ठ मानन्धर, हरिबहादुर रोकाया, राजकुमारी पाण्डे, मेनका रावतले एथलेटिक्समा सहभागिता जनाए । वैकुण्ठ मानन्धर चार ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी हुन् । जुन गौरव अहिलेसम्म उनकै नाममा रहेको छ । 

यसै गरी दलबहादुर रानामगर, झपटसिंह भुजेल, रामबहादुर गिरी, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह (बक्सिङ), पार्वती थापा (सुटिङ) भरत साउद (भारोत्तोलन), गङ्गाबहादुर डङ्गोल, ऋषिराम प्रधान (जुडो) ले पनि ओलम्पिकमा खेले । सोल गएर राजकुमार पाण्डे, मेनका रावत, पार्वती थापाले संयुक्त रूपमा नेपालको प्रथम महिला ओलम्पियन खेलाडी बन्ने गौरव हासिल गरे ।

सन् १९९२ स्पनको बार्सिलोनामा आयोजना भएको २५ औँ ओलम्पिकमा नेपालले खेलाडी कटौती गरी पाँच जना खेलाडी मात्र पठाएको थियो । सो समय ओलम्पिकमा खेल्ने भाग्यमानी खेलाडी हरिबहादुर रोकाया (म्याराथन), अनिता श्रेष्ठ (सुटिङ) र नारायण गुरुङ तथा तेक्वान्दोमा प्रमिला थापा, सीता राई थिए । यस ओलम्पिकमा सीता राईले गर्भवती भएको ठहर भएपछि प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनुप¥यो । यसले नेपालको बेइज्जती पनि भयो ।

सन् १९९६ मा अमेरिकाको एटलान्टामा छ खेलाडीले चार खेलमा भाग लिएका थिए । सो ओलम्पिकमा भारोत्तोलनमा सुनीललाल जोशी, पौडीमा निश्मा गुरुङ र सीताराम शाही, एथलेटिक्समा टीकाबहादुर बोगटी र विमला रानामगर तथा सुटिङमा विभाश्वरी राईले सहभागिता जनाए तर यस पटक पनि नेपालको प्रदर्शन सहभागितामा नै सीमित रह्यो । 

सन् २००० को सिड्नी ओलम्पिकमा नेपालका ज्ञानबहादुर बोहोरा र देवीमाया पनेरूले एथलेटिक्समा, चित्रबहादुर गुरुङ र रुना प्रधानले पौडीमा तथा सुटिङमा भगवती खत्रीले सहभागिता जनाएका थिए । यस ओलम्पिकमा पनि उल्लेखलायक केही भएन ।

एथेन्स ओलम्पिक (२००४) मा सङ्गीना वैद्यले तेक्वान्दो तथा नयना शाक्य, एलिस श्रेष्ठले पौडीमा, एथलेटिक्समा राजेन्द्र भण्डारी र कान्छीमाया कोजुले तथा सुटिङमा टीकाराम श्रेष्ठले नेपालको प्रतिनिधित्वि गरे । सङ्गीनाले नेपाललाई पदक दिलाउने आशा गरिएको थियो । सङ्गीनाले छनोट चरण पार गरेर एथेन्स ओलम्पिकमा खेलेकी हुन् । छनोट चरण पार गरेर ओलम्पिकमा खेल्ने उनी नेपालीकी पहिलो खेलाडी थिइन् तर ताइवानकी सि सिन चेनसँग सङ्गीना पहिलो चरणमै पराजित भइन् । 

राजेन्द्र भण्डारीले पाँच हजार मिटरको दौड १४ मिनेट ०४.८९ सेकेन्डमा दौडेर राष्ट्रिय कीर्तिमानका साथै साफकै उत्कृष्ट समय आफ्नो नाममा लेखाए । 

सन् २००८ मा भएको बेइजिङ ओलम्पिक पनि नेपालका लागि खासै उल्लेखलायक रहेन  । यो संस्करणमा नेपालका तर्फबाट एथ्लेटिक्समा अर्जुनकुमार बस्नेत, चन्द्र थापा, तेक्वान्दोका दीपक विष्ट, जुडोकी देवु थापा, सुटिङ खेलाडी फूलमाया क्याप्चाकी, पौडीबाट सीताराम शाही र करिश्मा कार्की तथा भारोत्तोलनका कमल अधिकारीले सहभागिता जनाएका थिए । 

दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्न योग्य भएका थिए । सङ्गीना वैद्यपछि दीपक छनोट चरण खेलेर ओलम्पिक खेल्ने नेपालका दोस्रो खेलाडी हुन् । यद्यपि दीपकले पनि बेइजिङ ओलम्पिकमा निराशाजनक प्रदर्शन गरे ।

चार वर्षपछि पनि नेपालले विश्वको सबभन्दा ठूलो खेलकुद मेला लन्डन ओलम्पिकमा सहभागिता जनायो । यसपालि ओलम्पिक खेल्ने नेपालका पाँच भाग्यमानी खेलाडीमा प्रमिला रिजाल, तिलकराम थारू, श्रेया धिताल, प्रसिद्धजङ्ग शाह र स्नेहा राणा थिए । 

यिनीहरूबाट पदकको आशा रत्तिभर थिएन । नभन्दै यी पाँचै खेलाडी खाली हात फर्के । यी सबै खेलाडीले पनि आफैँले भाग्यरेखा कोरेको नभई अनिवार्य भाग लिनुपर्ने एथलेटिक्स र पौडी तथा वाइल्ड कार्ड (सुटिङ) मार्फत चिट्ठा पर्दा मात्र ओलम्पिक मेलामा उपस्थिति जनाउन पाएका हुन् ।

रियो ओलम्पिक–२०१६ बाट पनि नेपालले खुसी हुन सकेन । ब्राजिल जानुअघि नै सातै खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्ने र उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका थिए । वाइल्ड कार्डका माध्यमबाट मात्र रियो पुगेका खेलाडीबाट ठूलो अपेक्षा पनि गरिएको थिएन । यद्यपि प्रायः नेपाली खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरे । 

पौडी खेलाडी गौरिका सिंहका कारण रियो ओलम्पिकमा नेपालको चर्चा भयो । गौरिका रियो ओलम्पिकमा खेल्ने एघार हजारभन्दा बढी खेलाडीमध्येकी कान्छी खेलाडी थिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गौरिकालाई पछ्याएपछि गौरिकाले आफूसँगै नेपालको नाम पनि फैलाइन् । १३ वर्षमै ओलम्पिकमा खेल्ने मौका पाएकी गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् । 

यसबाहेक तेक्वान्दो खेलाडी निशा रावलले पनि चिनियाँ सुयिनझिङ र फ्रान्सका ग्वल्डिज इपान्गुईविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेर ओलम्पिक तेक्वान्दोमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिन् । 

यसबाहेक पौडी खेलाडी शिरीष गुरुङ र धाविका सरस्वती भट्टराईले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गर्ने प्रयासमा सफलता पाए । जुडो खेलाडी फुपुल्हामु खत्रीले पनि रिङमा चार मिनेट नै टिकेर सन्तोषजनक प्रदर्शन गरिन् । आर्चरी खेलाडी जित मोक्तान, धावक हरि रिमालको प्रदर्शन भने साधारण रह्यो ।

पछिल्लो संस्करण टोकियो ओलम्पिक खेल्न टोकियो जानुअघि नै नेपालका पाँचै खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य लिएका थिए । युनिभर्सिटी प्लेस र वाइल्ड कार्डको माध्यमबाट मात्र ओलम्पिक पुगेका खेलाडीबाट अपेक्षा गरिएको पनि थिएन । टोकियो ओलम्पिकमा नेपालका सबै खेलाडी पहिलो चरणबाटै आउट भए । पौडीकी गौरिका सिंह, अलेजेन्डर शाह र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो सहभागितालाई अविस्मरणीय बनाए ।

गौरिका ५२ खेलाडीमध्ये ५१ औँ भइन् । अलेक्जेन्डर पनि आफ्नो हिटमा पहिलो स्थानमा रहे पनि समग्रमा निकै पछाडि परे । कल्पना ५० खेलाडीमध्ये ४६ औँ स्थानमा रहिन् ।

महिलाको एक सय मिटर दौडमा सरस्वती चौधरीले आफ्नो उत्कृष्ट समयमा पनि सुधार्न सकिनन् । हिट–२ मा दौडिएकी सरस्वतीले काजकिस्तानकी खेलाडीलाई भने पछाडि पारिन् । जुडोकी सोनिया भट्ट पनि रुसी खेलाडी डोल्गोभा इरिनाविरुद्धको भिडन्तमा एक मिनेट १६ सेकेन्ड मात्र रिङमा टिकिन् ।नेपालका लागि प्रदर्शनको हिसाबले अहिलेसम्म ओलम्पिक फलिफाप भएको छैन । 

–प्रजित शाक्य