आधुनिक ओलम्पिकको इतिहासमा हजारौँ खेलाडीले प्रतिस्पर्धा गरेर आफूलाई ओलम्पियन भनाउने सौभाग्य पाएका छन् । यीमध्ये केही खेलाडीको अहिले पनि सम्झना गरिन्छ । यिनीहरूलाई ओलम्पिकका महान् खेलाडीका रूपमा लिइन्छ । जसमध्ये अमेरिकाका पौडी खेलाडीद्वय माइकल फेल्प्स, मार्क स्पिज र रोमानियाकी जिम्न्यास्ट नादिया कोमानेसी पनि हुन् ।
मार्क स्पिज
म्युनिख ओलम्पिकलाई दुई कारणले याद गरिन्छ । एक म्युनिख ओलम्पिकमा प्यालेस्टिनी उग्रवादीले ओलम्पिक गाउँमा पसेर इजरायलका ११ जना खेलाडी र पदाधिकारीलाई मारेको घटना र अर्को मार्क स्पिजको प्रदर्शन ।
सन् १९७२ मा भएको म्युनिख ओलम्पिकमा अमेरिकाका मार्क स्पिजले पौडी पोखरीमा वर्चस्व बनाएका थिए । स्पिज पौडीमा एक्लैले सात स्वर्ण पदक हात पारेपछि चर्चामा आए । स्पिजले १०० मिटर, २०० मिटर फ्रिस्टाइल, १०० मिटर, २०० मिटर बटरफ्लाई र तीन रिले पौडी स्पर्धामा स्वर्ण पदक जितेका थिए ।
स्पिजले ५२ वर्षअघि भएको ओलम्पिकमा सुटिङ खेलाडी विलिज अगस्त्स लीले पाँच स्वर्ण जितेर राखेको कीर्तिमान तोडे । त्यसैले स्पिजको यो असाधारण कीर्तिमान ओलम्पिकमा अमर रहने अनुमान गरिएको थियो तर अमेरिकाकै मार्क फेल्प्सले सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा आठ स्वर्ण जितेर स्पिजको कीर्तिमान धराशायी बनाए ।
स्पिज आफ्नो जुँगाले गर्दा पनि लोकप्रिय थिए । पौडी खेलाडीले जुँगा पालेको साधारण कुरा होइन । उनलाई खेलअघि जुँगा काट्न पनि भनियो तर स्पिजले मानेनन् । स्पिजले आफ्नो जुँगाले गति बढाउन सहयोग गर्छ भन्ने कारण देखाए । जसको असर प¥यो अर्को ओलम्पिकमा । त्यसमा रुसका सबै पौडी खेलाडीले जुँगा पालेर खेलेका थिए ।
हुन त सन् १९६८ मा भएको ओलम्पिकमै छ स्वर्ण पदक जित्ने दाबी गरेर स्पिज चर्चामा आएका थिए तर सो ओलम्पिकमा उनले आफ्नो दाबी पूरा गर्न सकेनन् । सो समय स्पिज दुई स्वर्ण, एक रजत र एक कांस्य पदकमा सीमित भए । त्यसपछि उनको निकै आलोचना पनि भयो तर आफ्नो दाबी उनले अर्को ओलम्पिकमा पूरा गरेर इतिहास बनाए । स्पिजले आफ्नो वचन पूरा गरेपछि २२ वर्षको उमेरमै सन्न्यास पनि लिए ।
नादिया कोमानेसी
ओलम्पिकमा खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर ओलम्पियन हुने सौभाग्य कसै कसैलाई मात्र मिल्छ । अझ १४ वर्षमै ओलम्पिकमा खेल्ने अवसर पाउनु पक्कै चानचुने कुरा होइन । यस उमेरमा ओलम्पिकमा सहभागी नै गौरवको कुरा हुन्छ । यद्यपि यति कम उमेरमै शानदार प्रदर्शन गरेर ओलम्पिककै सर्वकालीन महान् खेलाडीमा नाम लेखाउनु आश्चर्य नै हो । जुन असम्भव लाग्ने कार्र्य सन् १९७६ मा भएको मोन्ट्रियल ओलम्पिकमा रोमानियाकी जिम्न्यास्ट नादिया कोमानेसीले सम्भव गरिन् ।
मोन्ट्रियलमा नादियाले नौ ओलम्पिक पदक घाँटीमा भिरिन् । जसमध्ये पाँच पदक सुनका थिए । यति धेरै पदक जितेर इतिहास बनाए पनि नादियाको चर्चा फरक कारणले भयो । जुन पहिले सम्भव भएको थिएन र अहिले पनि त्यो कीर्तिमान कायम छ ।
नादियाले अनइभन बार इभेन्टमा ‘परफेक्ट टेन’ स्कोर गरिन् । यसअघि जिम्न्यास्टिक खेलमा खेलाडीले पूर्ण स्कोर गर्छ भनेर कसैले सोचेकै थिएन । त्यसैले ‘परफेक्ट टेन’ का लागि देखाउनुपर्ने चार अङ्कको १०.०० डिजिटल स्कोर बोर्डमा प्रवेश नै गराइएको थिएन । त्यसैले स्कोर बोर्डले नादियाको स्कोर नै देखाउन सकेन । नादियाले ‘परफेक्ट टेन’ पनि सम्भव भएको पुष्टि गरेपछि मात्र स्कोर बोर्ड ‘अपडेट’ गरिएको थियो । यद्यपि नादिया त्यसमै रोकिइनन् । उनीले अलराउन्ड र ब्यालेन्स बिममा गरी थप छ ‘परफेक्ट टेन’ स्कोर गरिन् । त्यसपछि नादिया रातारात विश्व खेलकुदकी सुपरस्टार बनिन् ।
सानो उमेरमै अधिक चर्चा पाएपछि खेलाडी थला परेको धेरै उदाहरण छन् तर असाधारण क्षमता, सन्तुलन र ‘क्लिन टेक्निक’ की धनी नादियाले त्यसपछि सन् १९७८ र १९७९ मा भएको दुई विश्व च्याम्पियनसिप, चार वर्षपछि मास्को ओलम्पिक र थुप्रै युरोपेली जिम्न्यास्टिक प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो छविलाई कायम राखिन् ।
नादिया बिममा ‘ऐरियल वाकओभर’ र शृङ्खलाबद्ध रूपमा ‘एरियल कार्टह्विल ब्याक ह्यान्डस्प्रिङ फ्लाइट’ गर्ने विश्वकै पहिलो जिम्न्यास्ट पनि हुन् । जिम्न्यास्टमा फ्लोरमा ‘डबल ट्विस्ट डिसमाउन्ट’ र ‘डबल ब्याक साल्टो’ नादियाले पहिलो पटक गरेकी थिइन् । त्यसैले नादियालाई सिर्जनशील जिम्न्यास्ट पनि भनिन्छ ।
माइकल फेल्प्स
माइकल फेल्प्स ओलम्पिकको सर्वकालीन महान् खेलाडीको सूचीमा अग्रस्थानमा पर्दछन् । सन् २००४ को एथेन्स ओलम्पिकदेखि स्वर्ण पदक आफ्नो सङ्ग्रहमा जम्मा गर्न थालेका फेल्प्सले १२ वर्षको अन्तरालमा चार ओलम्पिक खेलेर कुल २८ पदक जिते । जसमा २३ स्वर्ण पदक छन् ।
भनिन्छ फेल्प्सको शरीर पौडीका लागि एकदम सही थियो । सन् २००० मा अमेरिकाको ओलम्पिक टिममा स्थान बनाउँदा फेल्प्स १५ वर्षका मात्र थिए तर सिड्नीमा २०० मिटर बटरफ्लाइमा फेल्प्स पाँचौँ स्थानमा रहे तर चार वर्षपछि फेल्प्सले एक अदभुत अध्याय सुरु गरे ।
एथेन्स ओलम्पिकको चार सय मिटर इन्डिभिजुयल स्पर्धामा फेल्प्सले विश्व कीर्तिमानसहित आफ्नो पहिलो स्वर्ण जिते । त्यसपछि एथेन्स ओलम्पिकमा थप पाँच स्वर्ण र दुई कांस्य पदक जितेर विश्व पौडीमा आफ्नो आगमनको बिगुल उनले बजाए ।
त्यसबेला मार्क स्पिजको सर्वाधिक स्वर्ण पदक जितको कीर्तिमान थोरैले तोड्न नसकेका फेल्प्सले सन् २००८ मा बेइजिङ ओलम्पिकमा त्यो सफलता पनि प्राप्त गरे । त्यस ओलम्पिकमा आठ स्वर्ण पदक भिरेर फेल्प्स ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बने । उनको सबै स्वर्ण पदक विश्व वा ओलम्पिक कीर्तिमानसहित प्राप्त भएको थियो ।
सन् २०१२ को ओलम्पिक्समा फेल्प्स सर्वकालीन सर्वाधिक पदक जित्ने ओलम्पियन बन्न लन्डन गए । यसअघि १६ पदकले शोभायमान भइसकेका फेल्प्सलाई सो कीर्तिमान राख्न मात्र तीन पदक जरुरी थियो । लन्डन ओलम्पिकमा फेल्प्सको सुरुवात भने राम्रो भएन । उनले आफ्नो पहिलो स्वर्ण पदक चौथो इभेन्टमा मात्र जितेका थिए ।
तैपनि फेल्प्सले ढल्किँदो उमेरमा पनि थप चार स्वर्ण र दुई रजत पदक जितेर ओलम्पिककै सर्वाधिक पदक जित्ने महान् खेलाडी बने । यसअघि जिम्न्यास्ट लारिसा लटिनाइना सर्वाधिक ओलम्पिक पदक जित्ने खेलाडी थिइन् । लन्डन ओलम्पिकबाट नै फेल्प्सले यस खेलबाट आफूलै धेरै प्राप्त गरिसकेको भन्दै खेल जीवनको अन्त्य गरेका थिए ।
तर फेल्प्सलाई पानीले पुनः आकर्षित ग¥यो । दुई वर्षपछि नै फेल्प्सले सन्न्यास फिर्ता लिए । यद्यपि फेल्प्सले पदक जित्न पहिले जस्तो प्रशिक्षणमा भने समय बिताएन । मात्र उनलाई पौडी पोखरीमा उत्रनु थियो । फेल्प्स रियो ओलम्पिकअघि नै ओलम्पिकका महान् खेलाडीको गन्तीमा परिसकेका थिए तर रियो ओलम्पिकमा चुनौती थियो ।
ढल्कँदो उमेरमा फेल्प्सले विगतकै प्रदर्शन दोहो¥याउन सक्लान् त भन्ने खुलदुली थियो सबैमा । यद्यपि सन्न्यास फिर्ता लिएर पौडी पोखरीमा फर्केका फेल्प्सले पाँच स्वर्ण र एक रजत पदक जितेर आफू जस्तो पौडी खेलाडी कोही नभएको प्रमाणित गरे । रियो ओलम्पिकमा रिलेमा स्वर्ण पदक जितेपछि भने फेल्प्सले आफ्नो स्वर्णिम खेल जीवनमा विश्राम लगाए ।
–प्रजित शाक्य