पियरे डी कुबर्टिनले आधुनिक ओलम्पिकको जग बसाल्ने बेलामा अहिलेको जस्तो प्रतियोगिताको कल्पना गरेका थिएनन् । उनले यस्तो ओलम्पिकको परिकल्पना गरेका थिए जहाँ युवाले आर्थिक लाभको आशाबिना खेल भावनाले ओतप्रोत भएर आपसमा प्रतिस्पर्धा गरून्, जहाँ कुनै किसिमको छलकपट नहोस्, प्राकृतिक क्षमता र सामथ्र्यको मूल्याङ्कन होस् । कुबर्टिनको यस्तो परिकल्पनालाई धेरथोर आत्मसात् गर्दै ओलम्पिक अभियानले १३० वर्ष पार गरेको छ ।
कुबर्टिनले जुन बेला आदर्श भावनाले ओलम्पिक अभियानको सुरुवात गरेका थिए त्यतिबेलाको विश्व परिवेश बेग्लै थियो । प्राचीन ओलम्पिकलाई आधुनिक युगमा जगाउन नै निकै चुनौतीपूर्ण थियो । खेलमा मेहनतभन्दा रोजीरोटीका लागि मेहनत गर्नु नै उत्तम ठानिने बेला थियो त्यो । खेलमा पेशेवर भावना नै थिएन, सङ्गठित खेल खेल्ने मानिसको कमी थियो । त्यस समयमा धनी मानिस मात्र खेल जीवनसँग जोडिएको खर्चको भार थेग्न सक्थे । धनीलाई खेलेबापत मान भए पुग्ने र पैसा खासै नचाहिने तर गरिबलाई खेलेर दुई पैसा आउँछ कि भन्ने लोभ । यस कारण यथार्थमा गैरपेशेवरको प्रारम्भिक परिभाषा सामाजिकस्तरको भिन्नतामा थियो । न्यून आर्थिकस्तरका मानिसलाई पेशेवर खेलाडीका रूपमा परिभाषित गरिन्थ्यो ।
ओलम्पिकले लामो समय गैरपेशेवर भावना कायम राख्यो पनि तर विश्व परिवेश फेरिँदै गएपछि सन् १९७० को दशकमा ओलम्पिक चार्टरबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गैरपेशेवर मान्यता त्याग ग¥यो । सन् १९८१ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक खेलहरूलाई नियन्त्रण गर्ने सम्बन्धित विशिष्ट अन्तर्राष्ट्रिय सङ्घलाई ओलम्पिकको मर्यादा कायम गरिराख्ने उत्तरदायित्व सुम्पिएपछि धेरै सङ्घले व्यावसायिक खेलाडीलाई ओलम्पिकमा भाग लिने अनुमति दिन थालेका थिए र ओलम्पिक आज पूर्ण पेशेवर रूपमा आइपुगेको छ ।
ओलम्पिकमा गैरपेशेवरसम्बन्धी कडा नियमलाई पहिलो पटक सन् १९१२ को स्टकहोम ओलम्पिकमा तोडिएको थियो । अमेरिकाका जिम थोर्पले जितेको स्वर्ण पदक सन् १९१३ मा खोसियो किनभने स्टकहोम ओलम्पिकभन्दा दुई वर्षअघि उनले अर्ध व्यावसायिक बेसबल खेलेर आर्थिक फाइदा लिएका थिए ।
सन् १९५२ देखि १९७२ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष रहेका एभ्रे ब्रुन्डेजले ओलम्पिकको भावना बचाइराख्न गैरपेशेवर नियम कडा रूपमा लागू गर्न कदम चाले । उनको विश्वास के थियो भने व्यापारीकरणले स्वच्छ खेलको उच्च प्रेरणालाई नष्ट गर्ने छ, साथै नैतिक विकासमा कमी आउने छ । उनीपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस विषयमा पुनर्मूल्याङ्कन ग¥यो । मूल्याङ्कनका क्रममा धनको कमी भएका खेलाडीलाई यस नियमले विभेद गरेको तथा केही देशमा महँगो प्रशिक्षणले वास्तवमा खेलाडीलाई व्यावसायिक बनाएको महसुस अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग¥यो ।