• ७ मंसिर २०८१, शुक्रबार

ओलम्पिक यात्रामा वैकुण्ठको सकस

blog

नेपालका म्याराथन धावक वैकुण्ठ मानन्धरको पहिलो ओलम्पिक यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन । सन् १९७६ क्यानडाको मोन्ट्रियलमा आयोजना भएको ओलम्पिकमा भाग लिन उनी एक्लै नेपालबाट उडेका थिए । 

त्यतिबेला भएको के थियो भने ओलम्पिकमा वैकुण्ठ र जितबहादुर केसीलाई पठाउने निधो भयो तर पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बजेट अभाव देखाउँदै वैकुण्ठलाई मात्र ओलम्पिकमा भाग लिन पठायो । किनभने वैकुण्ठले छनोट खेलमा सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिएका जितबहादुरलाई पहिलो पल्ट उछिनेका थिए । 

वैकुण्ठलाई ओलम्पिकमा भाग लिन मोन्ट्रियल पठाउनुअघि राखेपले अमेरिकामा अभ्यासको कार्यक्रम तय गरेको थियो । यहीँबाट सुरु हुन्छ वैकुण्ठको पहिलो ओलम्पिकको रोचक कथा । 

अमेरिकाले सुरुमा वैकुण्ठलाई भिसा दिन अस्वीकार ग¥यो तर उनी अड्डी कसेर भिसा लिन सफल भए । त्यतिबेला अमेरिकाको भिसा दिने अफिस थियो जमलस्थित एउटा घरको सानो कोठा । 

पहिलो दिन भिसा नपाएपछि वैकुण्ठ दोस्रो दिन बिहानै अमेरिकी दूतावास पुगेका थिए । उनी अमेरिकी राजदूतलाई भेट्न ढुकेरै बसे । 

“मलाई अहिले पनि त्यो दिन याद छ । राजदूत आउनासाथ म फुत्त बाहिर निस्किएको थिएँ । मैले ओलम्पिक तयारीका लागि अमेरिका जान खोजेको तर दूतावासले भिसा उपलब्ध नगराएको बताएँ । एक छिनपछि उनी सहमत भए र मेरो सिफारिस गरिदिए,” वैकुण्ठ भन्छन् ।

उनलाई भिसा उपलब्ध गराउन राखेपका तत्कालीन सदस्य तथा प्रचारप्रसार प्रमुख सुवर्ण क्षेत्रीको ठूलो योगदान रहेको थियो । 

अमेरिका उड्दा पनि उनले धेरै समस्या बेहोर्नु प¥यो । उनीसँग विदेश जाँदा लगाउने एकजोर राम्रो कपडासमेत थिएन । उदय भन्ने साथीसँग कोट मागेका थिए । तीन महिनाका लागि तीन सय अमेरिकी डलर साटे । त्यतिबेला एक डलर बराबर ११ रुपियाँ नेपाली थियो । 

न्युयोर्क पुगेपछि उनले अर्को समस्या बेहोर्नु प¥यो । न्युयोर्कमा कहाँ बस्ने ?, कोसँग बस्ने?, कुनै जानकारी थिएन उनलाई । इमिग्रेसनमा प्रहरीले सोध्दा उनले केही बताउन सकेनन् । यसपछि सुरु भयो केरकार । 

“मलाई अङ्ग्रेजी राम्रोसँग बोल्न नआउने । उनीहरू नेपाली नबुझ्ने । ठूलै लफडा प¥यो,” ४८ वर्षअघिको घटना सम्झँदै उनी भन्छन् ।

त्यतिबेला संयुक्त राष्ट्रसङ्घको नियोगमा शैलेन्द्रकुमार उपाध्याय नियुक्त थिए । वैकुण्ठलाई यो कुरा थाहा थियो । उनले आफू नेपालबाट आएको र नियोगमा कुरा बुझ्न सल्लाह दिएका थिए । 

“त्यहीँबाट म राम्रो खेलाडी भएको र ओलम्पिक खेल्न जान लागेको बताएपछि बल्ल इमिग्रेसनबाट मलाई छाडियो,” उनी भन्छन् । 

उनलाई अमेरिकी इमिग्रेसनले रोकेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले थाहा पाएछ । उसले ब्रेकिङ न्युज नै चलाइदियो । यसपछि राम्रै हल्लाखल्ला भयो । 

वैकुण्ठ अमेरिका उड्नुअघि नेपालमा एक जना गोरा घुम्न आएका थिए । उनी निकै धनाढ्य थिए । यो कुरा थाहा पाएपछि उनी वैकुण्ठलाई लिन विमानस्थल पुगे । उनले नै वैकुण्ठको अमेरिकामा बसोबासको सम्पूर्ण जिम्मेवारी उठाए । 

“अमेरिकामा मलाई कोर्नेल विश्वविद्यालयमा अभ्यासको वातावरण मिलाइएको रहेछ । करिब तीन महिना त्यहाँ अभ्यास गर्ने क्रममा धेरै साथी बनाएँ । मलाई गोराहरूले अमेरिकामै बस्न सुझाव दिएका थिए तर मनले मानेन । कहाँ देशको इज्जत र शान राख्न आएको मान्छे अमेरिका बसेको भए सबै खत्तम हुन्थ्यो,” उनी भन्छन् ।

अमेरिकामा एक्लो तालिमपछि उनी मोन्ट्रियल उडेका थिए । त्यहाँ खेल्नुअघि उनीसँग राम्रो ट्र्याकसुट पनि थिएन । उही गोराले दुई सय डलर खर्चेर उनका लागि ट्र्याकसुट किनिदिएका थिए । पहिलो ओलम्पिक सहभागितामा वैकुण्ठले दुई घण्टा ३० मिनेट ०७ सेकेन्डमा दौड पूरा गरे र ५० औँ भए ।  

Author

नवीन अर्याल