• ११ पुस २०८१, बिहिबार

स्वच्छ र निष्पक्ष बनाउन सुरु

blog

बर्दीबास समाचारदाता

बर्दीबास, साउन १५ गते । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले यातायात व्यवस्था कार्यालय मातहत रहेको ट्रायल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरी सवारी लाइसेन्स वितरण प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेश सरकारले प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको छ । 

बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन तथा नेपाली कांग्रेस नगर कमिटीलाई सोमबार छुट्टाछुट्टै सम्बोधन गर्दै उहाँले यातायात कार्यालयलाई व्यवस्थित बनाउन संरचना निर्माणदेखि यान्त्रिकीकरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो । 

मन्त्री रायले लाइसेन्स वितरणलाई स्वच्छ र पारदर्शी बनाउन ट्रायल सेन्टरलाई नै अत्याधुनिक बनाइने प्रव्रिmया सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार अब सवारी ट्रायल परीक्षामा कर्मचारीको साटो सिस्टमले नै मूल्याङ्कन गरी पास फेलको रिजल्ट दिने भएकाले लाइसेन्सको नाममा देखा परेका लेनदेनलगायतका पुराना विकृति स्वतः समाप्त भएर जाने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिलो चरणमा बर्दीबास र जनपुरका ट्रायल सेन्टरमा आधुनिक मेसिन जडान गरी अटो सिस्टममा लैजाने र व्रmमिक रूपले बाँकी रहेका जिल्लामा पनि जडान गर्ने तयारी गरिएको छ ।” उहाँले भएका कर्मचारी र साधनस्रोतको सदुपयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न यातायातका कर्मचारीलाई निर्देशन दिनुभयो । 

यसअघि बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख राजकिशोर साहले कार्यालयले स्थापनाकालदेखि गरेको कार्य प्रगति र राजस्व योगदानको विवरण प्रस्तुत गर्दै केन्द्रीय लापर्बाहीले कर्मचारीले चाहेर पनि सेवा प्रभावकारी बनाउन नसकेको पीडा पोख्नुभयो । 

साहका अनुसार एकातिर विभागको सर्भर डाउन समस्या कर्मचारीदेखि सेवाग्राहीसम्मको टाउको दुःखाइ बनेको छ । अर्कोतर्फ यहाँबाट समाधान गर्न नसकिएका कामका बारेमा जानकारी वा पत्राचार गर्दा यातायात व्यवस्था विभागले कुनै सुनुवाइ गर्दैन । बाँकी रहेका समस्यालाई कर्मचारी अभावले थप जटिल बनाएको उहाँले बताउनुभयो । 

कार्यालय प्रमुख साहले मन्त्रीसमक्ष प्रश्न गर्नुभयो, “यस्ता समस्या समाधान नभएसम्म सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने ?”

मन्त्री रायले नगरप्रमुख प्रह्लाद क्षेत्रीको सहयोगमा बर्दीबास–१४ स्थित एकीकृत सरकारी कार्यालय भवन निर्माण योजना अन्तर्गत यातायात व्यवस्था कार्यालय बर्दीबासको नाममा रहेको दुई बिघा  जग्गाको स्थलगत निरीक्षण गर्नुभएको थियो ।  त्यस क्रममा उहाँले बहुवर्षीय योजना अन्तर्गत यस आर्थिक वर्षमा यातायात व्यवस्था कार्यालय बर्दीबासलाई आत्मनिर्भर बनाउन भवन निर्माणका लागि ४० लाख रुपियाँ विनियोजन गरिएको बताउनुभयो ।