• १२ साउन २०८१, शनिबार

‘नयाँ पुस्ताले पुरानो पुस्ताको योगदान बिर्सनु हुँदैन’

blog

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल । फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १२ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताले पुराना पुस्ताको योगदानलाई बिर्सन नमिल्ने बताउनुभएको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रहको लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

महासचिव पोखरेलले नेपालको राजनीतिमा थुप्रे अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । राजनीति र समाज परिवर्तनको सन्दर्भमा उहाँहरूको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको पोखरेलले प्रष्ट पार्नुभयो ।  ‘हामी अभावले यति छटपटिएका छौँ कि, विगतका योगदानको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि बडा कठिन भएको छ, हाम्रा अग्रजले, पुराना पुस्ताले दुःख कष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन, किनकि ऊ विगतको अभावबाट बाहिर छ’ पोखरेलले भन्नुभयो । 

आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दा नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको उहाँले बताउनुभयो । उसले नेपाल परिवर्तन गर्न नसकेको मात्र ठान्ने गरेको पोखरेलको भनाइ छ । देश कति परिवर्तन भयो भन्ने कुरा पुरानो पुस्ताको भोगाइलाई पढ्दा थाहा हुने उहाँले बताउनुभयो । 

यतिबेला समाजलाई सही बाटो देखाउने अध्यताको खाँचो रहेको बताउनुभयो । अहिले नयाँ पुस्ता कस्तो सांस्कृतिक मान्यताबाट अघि बढ्ने भन्ने अन्यौलताको अवस्थामा रहेको उहाँले बताउनुभयो । आजको नयाँ पुस्तालाई प्रचारवादले प्रभाव पारेको बताउँदै पोखरेलले समाजलाई स्वच्छन्दतातर्फ लैजान लागेको धारणा राख्नुभयो ।