• १२ साउन २०८१, शनिबार

सरकारबाट बाहिरियो माओवादी केन्द्र,सरकारलाई समर्थन कायमै

blog

शशिधर पराजुली

विराटनगर, साउन १२ गते  ।  नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीबाट नियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन्  । 

नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती ‘सुशील’, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जामगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले कार्कीसमक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीलाई बुझाइएको राजीनामापत्रमा सरकारमा सहभागी गराई काम गर्ने अवसर प्रदान गर्नुभएकोमा मुख्यमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै आजैका मितिबाट राजीनामा दिएको भन्ने बेहोरा मात्र उल्लेख गरिएको छ । 

नेकपा (माओवादी केन्द्र) ले सरकार छोडे पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दल र व्यक्तिगत रूपमा दिएको समर्थन भने कायमै राखेको छ ।

मुख्यमन्त्रीलाई राजीनामा बुझाउन जानुअगाडि प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको मुख्यमन्त्रीले विश्वासको मत लिन पर्ने वा नपर्ने भन्ने विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ नआएसम्म समर्थन कायमै राख्ने जानकारी दिनुभयो । उहाँले केही संवैधानिक र कानुनी समस्या आइपर्न सक्ने र यो विषय संसद्को अवधिसँग पनि सम्बन्धित रहने भएकाले केही समय पर्खनु उचित हुने उहाँले बताउनुभयो । 

नेता आङ्बोले केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि नै सरकारबाट बाहिरिन खोजेको भए पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा यतिबेलासम्म सरकारमा बसेको बताउनुभयो । नेता आङ्बोले भन्नुभयो, “मुख्यमन्त्रीले पहिले पनि सहमतिको सरकार बनाउने प्रयत्न गर्नुभएको र यस पटक पनि केन्द्रमा राष्ट्रिय सहमतिको सरकार बनाउने चर्चा भएपछि उहाँले केही समय सहमतिको सरकार बनाउने प्रयत्न गर्नुभएको थियो । म वाम एलायन्स जोगाउने प्रयत्नमा छु भनेर हामीलाई भनिरहनुभएको पनि थियो तर उहाँको त्यो प्रयत्न सफल भएन र हामीलाई केन्द्रीय गठबन्धन अनुसार नै अगाडि बढ्नुपर्ने भयो भन्ने जानकारी गराएपछि सरकारबाट बाहिरिने निर्णय लिएका हौँ ।”

 उहाँले यस पटक सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीसँग कुनै असमझदारी नभएको बरु सल्लाहमै मुख्यमन्त्रीलाई असहज नहोस् भन्ने ख्याल गरेरै राजीनामा दिएको स्पष्ट पार्नुभयो । 

नेता आङ्बोले कोशी प्रदेशमा लामो समयदेखि सशक्त प्रतिपक्षको अभाव देखिएको भन्दै अब आफूहरूले त्यो अभाव पूर्ति गर्ने र रचनात्मक प्रतिपक्षका रूपमा सशक्त रूपमा जनताको मुद्दा सदनमा उठाउने बताउनुभयो । 

सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षको भूमिका खेल्न कुनै बाधा नहुने माओवादी केन्द्रले जनाएको छ । नेता आङ्बोले भन्नुभयो, “यसअघि नै नेकपा (एमाले) ले त्यो अभ्यास लामो समय गरिसकेको छ । त्यसैले सरकारलाई समर्थन गरेकै कारण प्रतिपक्षको भूमिका खेल्न समस्या छैन तर यो धेरै लामो समय भने लैजाने पक्षमा हामी छैनौँ । अदालतको फैसलाको पूर्ण पाठ आएपछि हामी समर्थन फिर्ता लिन्छौँ ।”

संविधानको धारा १६८ (५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।