• १२ साउन २०८१, शनिबार

सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

काठमाडौँ, साउन १२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ।

शनिबार काठमाडौँमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो। 

उहाँले विश्वविद्यालयका विभिन्न विभागले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिनसक्ने बताउनुभयो। उहाँले प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउन जोड दिनुपर्ने बताउनुभयो। 

उहाँले प्राज्ञिक सभाले गणतन्त्र र लोकतन्त्रको चर्चा गर्न राजनीतिक व्यक्तिलाई दिन आग्रह गर्दै प्राज्ञिक कुरामा ध्यान दिन निर्देशन दिनुभयो। गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, सङ्गीत, नाट्यविधाको चर्चा गर्न आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रो पुँजीगत खर्च, हामीले योजना त बनाएका छौँ, कार्यक्रम त दिएका छौँ। तर त्यो ऋणात्मक हिसाबले हो। भोलि उठिहाल्ला, जुटिहाल्ला। ढुकुटी बलियो भइहाल्ला भन्ने आधारमा यही अर्थतन्त्र बलियो बनाउने गरी, अर्थतन्त्रलाई सुदृढ गर्नेगरी काम अघि बढाउनुपर्नेछ। त्यसका लागि सरकारले राजनीतिक नेतृत्त्वले लिनुपर्ने बाटो भनेकै भ्रष्टाचारको न्यूनीकरण गर्ने र सुशासनको प्रत्याभूति गर्ने काम सरकारले दृढतापूर्वक गर्नुपर्छ। यस सन्दर्भमा पनि प्राज्ञले विशेष ध्यान दिनुपर्छ।’’ 

संस्कृतिको प्रवर्द्धन, विकास, अध्ययन, अनुसन्धानको जरुरी रहेको बताउनुभयो। -न्युज एजेन्सी नेपाल