• १२ साउन २०८१, शनिबार

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

blog

काठमाडौँ, साउन १२ गते । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । 

यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आवमा एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् । 

त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार बिदेसिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व सङ्कलन गरेको छ । गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार राजस्व सङ्कलन भएको छ । गत आवमा ३५ करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ । रासस