• १२ साउन २०८१, शनिबार

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १२ गते । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थितरुपमा खोल्ने बताउनुभएको छ । 

चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २० औँ बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्वको भएको जनाउँदै उहाँले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाउनुभयो । उहाँले आज दिनुभएको वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ देखि साउन ३ गतेसम्म आयोजित प्लेनरी सेसनले चीनको आर्थिक एवम् सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठुलो महत्वको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको स्पष्ट गर्नुभयो । 

चीनमा सुधार र खुलापन सुरु भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गर्छ र  आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्छ । चिनियाँ राजदूतले भन्नुभएको छ, “स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्णबैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो सङ्केत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बिच चीनमा थप लगानी र विकास एवम् विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन् ।” रासस