• १२ साउन २०८१, शनिबार

कम्युनिस्ट सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्दछन् : उपेन्द्र यादव

blog

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव ।

काठमाडौँ, साउन १२ गते। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिस्ट पार्टीका नेताले गरेको उहाँको जिकिर थियो। 

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताउनुभयो। 

कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीमा अवसरवाद मात्रै बाँकी रहेको उहाँको भनाइ थियो। अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीले भने मुलुकमा दुःख पाउनुपरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला। अहिलेका कम्युनिस्ट पार्टीका नेताको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन। त्यो युग अहिले आएको छ।’’ 

अध्यक्ष यादवले कम्युनिस्ट पार्टीमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबी समेत गर्नुभयो।