काठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात/आठ वर्षमै आय दिने हुँदा मधेशका जङ्लदेखि किसानका खेतबारीमा समेत यो रुख व्यावसायिक रूपमा रोपिएका हुन् । यो रुख २५ देखि ५० मिटर अग्लो र दुई मिटरसम्म गोलाइको हुन्छ । यसको काठ झ्यालढोका, फर्निचरलगायत प्लाई बनाउन पनि प्रयोग हुन्छ । यसको पातबाट सुगन्धित तेलसमेत निकाल्न सकिन्छ । यसको तेल साबुन, माउथवास, पतेरो किराको नियन्त्रण र मसाजमा प्रयोग गरिन्छ ।
पछिल्लो समय यही मसलाको रुखले मधेशमा मरुभूमिको जोखिम बढाएको आमधारणा बन्दै गएको छ । मधेशमा अहिले यो ठुलो बहसको विषयसमेत बनेको छ । एकातिर मसलाका रुखकै कारण तराईमा जमिनमुनि पानीको सतह घटेर पानीको सङ्कट उत्पन्न भएको भन्दै यसलाई उन्मूलन गर्नुपर्ने आवाज उठिरहेको छ भने अर्कातिर यो रुखले खडेरी ल्यायो भन्नु गलत भएको भनाइ पनि आइरहेको छ । अहिले यस भेगमा सर्वसाधारण मात्र नभएर स्थानीय तह, सामाजिक सङ्घ संस्था र केही विज्ञसमेत मसलाका रुखविरुद्ध जनमत बनाउन र यो रुख हटाएर अन्य प्रजातिका बिरुवा रोप्ने अभियानमा जोडिन थालेका छन् ।
सागरनाथ वन विकास परियोजनाले २०३४ सालतिर नेपालमा पहिलो पटक यो रुख भिœयाएको तथ्यले देखाउँछ । यो रुख अहिले मधेशभर फैलिएको छ । कृषिविज्ञ राजेन्द्र देवकोटाका अनुसार अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पत्ति भएको पाइन्छ । एक बेलायती नागरिकले सन् १८४३ मा भारतको तमिलनाडुमा यसको बिरुवा ल्याएर रोपेका थिए । त्यहीँबाट विस्तार हुँदै यो नेपालमा भित्रिएको बताइन्छ । पहिलो पटक सागरनाथ वन क्षेत्रमा मसलाका बिरुवा रोपिएको थियो । पछि सरकारले नीति नै बनाएर ‘तराईका आली आलीमा सपेता, गरिब बेपत्ता’ भन्ने नारा दिई यसलाई सबैतिर रोप्न प्रेरित गरेको वनविज्ञहरूको भनाइ छ ।
तथ्याङ्क अनुसार महोत्तरी, सर्लाही र रौतहटसम्म फैलिएको सागरनाथ वन विकास परियोजना अन्तर्गत १३ हजार पाँच सय हेक्टर क्षेत्रफल जग्गा छ । त्यसमध्ये १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मसला रोपिएको छ । एक बिघामा एक हजार छ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्रै एक करोडभन्दा बढी मसलाका रुख हुन सक्ने अनुमान गरिएको छ । चाँडै बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत् पोल (खम्बा) का लागि पनि उपयोगी हुने अभिप्रायले विदेशबाट झिकाएर मसलाको बिरुवा रोपिएको तथ्यहरूले देखाउँछ । अहिले मधेशका जङ्गल तथा निजी भूभागमा गरी झन्डै छ करोड मसलाका रुख रहेको अनुमान छ ।
मसलाका रुख उन्मूलन गर्न निर्देशन
मधेश प्रदेश सभा अन्तर्गतको प्राकृतिक स्रोत तथा वातावरण समितिले वन तथा वातावरण मन्त्रालयलाई मसलाका रुखको दिगो व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिले प्रदेशभित्र रहेका मसलाका रुखको दिगो व्यवस्थापन गरी उक्त रुखको ठाउँमा बहुउपयोगी जडीबुटी, फलफूल र वातावरणमैत्री वृक्षरोपणलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न वन तथा वातावरण मन्त्रालयलाई यही असार १० गते पत्राचार गर्दै निर्देशन दिएको हो । विज्ञको भनाइ तथा जनगुनासोलाई ध्यानमा राख्दा मधेशमा पानीका मुहान सुक्दै जानु, भूमिगत जलस्तर घट्नु र इनारलगायत पानीका स्रोतहरू सुक्ने विभिन्न कारणमध्ये मसलाको रुख पनि एक कारण भएको सो पत्रमा उल्लेख छ । प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदादास पहाडीले मसलाका रुखको विषयमा स्थानीयस्तरबाट व्यापक गुनासो आएपछि समितिको बैठकबाट निर्णय गरेर यो रुखको दिगो व्यवस्थापन गर्न निर्देशन जारी गरिएको बताउनुभयो । यसै गरी धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउन जेठ १ मा सूचना जारी गरेको छ । तराईमा पानीको अभाव उत्पन्न हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउन सूचना सार्वजनिक गरेको हो ।
पानी र माटोका लागि उपयुक्त नभएकाले मसलाको रुख काटेर हटाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले बताउनुभयो । स्थानीयवासीको जनगुनासोका आधारमा नगरपालिकाको हिउँदे अधिवेशनबाट मसलाको रुख विस्थापित गर्ने निर्णय पारित गरेको जानकारी उहाँले दिनुभयो । मसलाका रुख काठका लागि उपयुक्त भए पनि यसले जमिनबाट धेरै पानी सोस्ने भएकाले भूमिगत पानीको सतह गहिरिँदै गएर मरुभूमिको जोखिम बढेको र माटोको उर्वरा शक्तिमा समेत गम्भीर असर पु¥याएकाले यसलाई उन्मूलन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । त्यस्तै धनुषाको मिथिला नगरपालिकाले अबउप्रान्त मसलाका बिरुवा रोप्न बन्देज लगाएको छ भने भएका मसलाको रुखलाई बिस्तारै विस्थापित गर्ने निर्णय गरेको छ । पानीको थप सङ्कट बढ्न नदिन यस्तो निर्णय गरिएको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीको भनाइ छ । सिराहाको कर्जन्हा नगरपालिका र महोत्तरीको बर्दीबास नगरपालिकाले मसालाका रुख विस्थापित गर्ने कार्यलाई नीति तथा कार्यक्रममै समावेश गरेका छन् ।
पारिस्थितिक प्रणालीमा समस्या
लामो समयदेखि चुरे तथा वातावरणीय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवले एउटा वयस्क रुखले दैनिक ६२ लिटर पानी सोस्ने गरेको बताउनुभयो । चुम्बकले फलाम ताने जस्तै सो रुखले वरपरको पानी तान्ने हुँदा उत्पादनमा समेत यो रुख घातक बनिरहेको उहाँको भनाइ छ । यो रुखले पारिस्थितिक प्रणालीमा समेत समस्या उत्पन्न गरेको एक अध्ययनले देखाएको छ । यस रुखमा चराचुरुङ्गीले बासस्थान बनाउँदैन र किरा पनि बस्दैन । वनमा लगाइएको यो रुखले अन्य रुखको समेत अस्तित्व नष्ट गर्ने गरेको यादवको दाबी छ । यसको पातमा समेत एसिड पाइने अध्ययनले पुष्टि गरेको छ । यसका कारण पात जमिनमा खस्दा पातवरपरको हरियोपनालाई नष्ट गर्ने र अन्य झारपात तथा बाली उम्रन नदिई जमिनलाई बन्जर बनाउने अर्को समस्या रहेको उहाँको भनाइ छ ।
स्थानीय किसानसमेत मसलाका रुख भएको ठाउँवरपरको जमिन बन्जर हुने गरेको बताउँछन् । अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर यो रुख भएको ठाउँमा घाँस तथा अन्य अन्नबाली नउम्रिने गरेको किसानको बुझाइ छ । महोत्तरीको रामगोपालपुरका रामसरोज यादवले मसलाका रुख भएको ठाउँदेखि दुई सय मिटर वरपरको जमिनमा अन्नबाली उत्पादन हुन छाडेको बताउनुभयो । यो रुख रोप्नुअगाडिसम्म खेतमा राम्रै फसल उत्पादन हुन्थ्यो तर अहिले खेतमा अन्न फल्नै छाडेको उहाँको बुझाइ छ । अर्का किसान पदम मगरको पनि उस्तै बुझाइ छ । मसलाको रुख रोपेपछि उर्वर भूमि बन्जर बनेको र पानीको अभाव भएको उहाँ बताउनुहुन्छ ।
मानवसिर्जित समस्याले पानी सङ्कट
चुरे तथा जलाधारविज्ञ डा. विजयकुमार सिंह दनुवारले पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानवसिर्जित समस्या रहेको बताउनुभयो । “मानवसिर्जित समस्यामा वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधार क्षेत्रको अतिक्रमण मुख्य कारण हुन् । मसलाका रुख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएकोबारे अहिले व्यापक अभिमत बढेको छ,” डा सिंहले भन्नुभयो । यसबारे थप अध्ययन, अनुसन्धान हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।
यस्तै वृक्ष मानवको उपनामले परिचित पर्यावरण संरक्षण अभियन्ता तथा वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले मसलाको रुखका कारण मधेशमा मरुभूमिको जोखिम बढेको भन्नु मनगढन्त भएको बताउनुभयो । हालसम्म वैज्ञानिक आधार नभेटिएको बताउँदै उहाँले यस्तो हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । “जो छिटो बढ्छ, उसले निश्चय नै बढी खाना खान्छ । मसलाको रुख पनि छिटो बढ्ने र चाँडै आम्दानी दिने प्रजाति हो । यसको मतलब यो होइन कि यसले जमिनमुनिको सम्पूर्ण पानी सोसेर सतह सुक्खा बनाउँछ । त्यस्तै हो भने पहाडी र हिमाली क्षेत्रमा पनि पानीको स्रोतमा कमी आइरहेको छ, त्यहाँ त यो प्रजातिको रुख छैन । मानवले निम्त्याएको समस्याको दोष कुनै एक प्रजातिको रुखमाथि थोपर्नु हुँदैन,” अधिकृत शर्माले भन्नुभयो ।
विश्वव्यापी जलवायु परिवर्तन, वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधार क्षेत्रको अतिव्रmमणका कारण मधेश मरुभूमीकरण हुँदै गएको उहाँको भनाइ छ । उहाँका अनुसार केही तŒव गलत हल्ला फैलाएर सम्पूर्ण रुख काट्न लगाउने षड्यन्त्रमा लागेका छन् । यसले मधेशमा झन् ठुलो पर्यावरणीय सङ्कट उत्पन्न हुन सक्ने उल्लेख गर्दै उहाँले हालसम्म यस विषयमा वैज्ञानिक अनुसन्धान नभएको प्रस्ट पार्नुभयो । मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले केही मिडिया र स्वघोषित विज्ञले गर्दा जनमानसमा मसलाका रुखप्रति गलत धारणा बस्दै गएको बताउनुभयो । मसलाका रुखले नभई प्राकृतिक रूपमा जल पुनर्भरणका माध्यम बन्द हुँदा मधेशमा पानीको समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
सुकुमवासी आयोग र भूमि आयोगले विभिन्न कालखण्डमा चुरे क्षेत्रका लाखौँ बिघा वन क्षेत्र विनाश गरेर लालपुर्जा वितरण गरी मानव बस्ती बसाएको छ । राजमार्ग, खेलमैदान, मेडिकल कलेज, एयरपोर्ट, तालिम केन्द्र तथा कङ्व्रिmटका भौतिक संरचनाका साथै विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू प्राकृतिक वन क्षेत्र चुरेमा मात्रै निर्माण गर्ने र त्यसका लागि आवश्यकताभन्दा बढी वन फँडानी गर्दा मधेशमा पानीको मुहानलाई असर परेको हो । यसै गरी जताततै प्लास्टिकजन्य फोहोर, पोखरी तथा नदीका तटमा कङ्व्रिmटका घाट निर्माणले जल पुनर्भरणका प्राकृतिक माध्यम बन्द हँुदा पनि जमिनमुनि पानीको सतह घट्दै गएको छ । यस्तै मधेशका सार्वजनिक स्थानमा रहेका पुराना वरपिपल, समी, नीम, पाखर, गुलर, महुवा, जामुन र बाँसले पानीलाई रोकेर जमिनमुनि पठाउने काम गथ्र्याे । सडक निर्माण तथा विभिन्न कारणले ती रुख काटेर कङ्व्रिmट र कालोपत्रे संरचना निर्माण भएको छ । यीलगायत थुप्रै कारणले मधेशमा पानीको समस्या उत्पन्न भएको अध्यक्ष मण्डलले बताउनुभयो । पानी सङ्कट उत्पन्न भएपछि तराई मधेशका बासिन्दा पानी माग्दै सङ्घीय राजधानी काठमाडौँमा धर्नासमेत बसेका छन् ।
वैज्ञानिक आधार
अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले मसलाका रुखको पातमा एसिड हुने हुँदा माटोको उर्वरा शक्तिमा ह्रास आउने र पानी बढी सोस्ने निष्कर्ष निकालेको छ । एक प्रतिवेदन अनुसार भूमिगत पानीमा यसले गहिरो असर पु¥याउने गर्छ । यसै गरी संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले सन् १९९३ मा गरेको अध्ययनमा चार सय एमएलदेखि १२ सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुख रोप्न प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको छ । यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने अध्ययनमा उल्लेख छ ।
त्यस्तै अस्ट्रेलियाका लेखक एलन रुटले आफ्नो एक लेखमा यो रुख पानीका लागि हानिकारक हुन सक्ने बताएका छन् । यो रुखको उत्पत्ति पनि अस्ट्रेलियामै भएको मानिन्छ । लेखक रुटका अनुसार अस्ट्रेलियाको सिमसार र दलदल भएको ठाउँलाई सुक्खा बनाउन यो रुख लगाइएको थियो । पछि केही वर्षमै सिमसार क्षेत्रलाई यसले सुक्खा बनायो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा यो रुख लगाउन सुरु गरियो । छिटो बढ्ने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिले फाइदाजनक देखिएपछि यो विश्वभर फैलिएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख रहेको विज्ञहरू बताउँछन् । मसलाको रुखलाई अरु भूभागमा सार्नुमा अस्ट्रेलियाका डा. एममन्डो नाभारु डे आन्ड्राको ठुलो योगदान रहेको बताइन्छ । ब्राजिलमा विनाश हुँदै गएको जङ्गललाई पुनः घना बनाउने अठोट गरेर सन् १९१० मा उहाँले अस्ट्रेलियाबाट मसलाको बिरुवा लानुभएको थियो । उहाँले लगेकामध्ये तीन करोड ८० लाख बिरुवा उहाँ आफैँले रोप्नुभयो । अहिले ब्राजिलमा मात्र दुई अर्बभन्दा बढी मसलाका रुख रहेका बताइन्छ ।
यो रुख पर्यावरणीय हिसाबले हानिकारक रहेको पछिल्लो समय अस्ट्रेलिया सरकारले महसुस गरेको बताइन्छ । यो रुखकै कारण पर्यावरणमा हानि पुगेको विषयलाई ध्यानमा राखी तीन लाख वर्गमिटरमा फैलिएको रुखलाई विस्थापन गरिएको अस्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ ।