• ७ मंसिर २०८१, शुक्रबार

अमेरिका सपना लुकेको पीडा

blog

जब अमेरिकाले प्रवेश अनुमति दियो एक एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन सँघारमै आएर उभियो । मेरो साथीको भने सधैँ जसो तौलको अनुमति पाएको दुई वटा ठुला झोला थिए । यात्रामा भेटिएका यात्री कहिले गफिने हुन्थे, कहिले चुपचाप १०/१२ घण्टा मौन व्रत बस्नुपर्ने हुन्थ्यो । ठुला सहरमध्ये अस्ट्रेलिया यात्रा गरिसकेको भएर अमेरिकाका लागि पनि खासै फरक परेन । अस्ट्रेलिया उड्दा जस्तै उस्तै एयर होस्टेज, उस्तै तरिका, उस्तै खानेकुरा । त्यसैले यात्रा फरक थिएन । फरक थियो त मेरो एक्लो यात्रा । 

जहाज यात्रा र ट्रान्जिट गरेर ठ्याक्कै तीन दिनमा अमेरिका पुगेँ । जहाजमा यात्रा गर्दा आफू बसेको सिटअगाडि राखिएको सानो टिभीमा कि गीत सुन्ने गर्छु कि स्व्रिmनमा फ्लाइट म्याप हेर्ने गर्छु । फ्लाइट म्याप हेर्दा नेपालबाट अमेरिका पुगिसक्दा ठ्याक्कै पृथ्वीको आधा भागको फन्को मारिँदो रहेछ । त्यसैले त आफ्नो देशको आँगनमा सूर्यको किरण पोखिँदा अमेरिकाले चन्द्रमासँग साइनो गाँस्न पुग्ने रहेछ । 

अस्ट्रेलिया पटक पटक गएँ, भाषाको अल्पज्ञान त्यहाँ जाँदा पनि नभएको होइन तर अस्ट्रेलिया पुगेपछिको चेकजाँचमा फेरि त्यहाँ बस्ने समयको भिसा लगाउनु नपर्ने हुँदा केही गाह्रो महसुस भएन । अमेरिका आउँदा भने पोर्ट अफ इन्ट्रीमा त्यहाँ बस्ने समयको भिसा लगाउनुपर्ने र धेरै हिँड्नुपर्ने भएकाले मलाई छोरीज्वाइँले पहिलो पटक ह्विलचेयरको व्यवस्था गरिदिएका थिए । जहाज रोकिएपछि जहाजको ढोकैनेर ह्विलचेयर लिएर सहयोगी बसिरहेका हुँदा रहेछन् । आफ्नो टिकट देखाएर ह्विलचेयरमा बसेपछि अर्काे गन्तव्यको ढोकैनेर लगेर छोडिदिने रहेछ । कतै सोधखोज गर्नु नपर्ने निकै सजिलो महसुस भयो । 

लस एन्जल्सको ट्रान्जिटबाट डोमेस्टिक टेक्सासको जहाजसम्म पुग्नका निम्ति बसले लैजाँदो रहेछ । त्यो बसमा म र मलाई ह्विलचेयरमा लिएर हिँड्ने सहयोगी मात्र थियौँ । बसको सिटनजिकै ह्विलचेयरलाई लक गरेर राखिदिए र उनीनजिकैको सिटमा बसेँ । त्यसरी ह्विलचेयरमा पहिलो पटक हिँडेकाले त्यसरी आफूलाई देख्दा म असाध्यै अशक्त छु र भने झैँ पनि लाग्यो । जहाज गुड्ने ग्राउन्डभित्रै भएर बस  गुड्यो । मैले झ्यालबाहिर नजर दौडाएँ, बाहिरको एउटा ठुलो भवनमा युनाइटेड स्टेट अमेरिका लेखिएको साइनबोर्ड देखेँ तब बल्ल मनमा यस्तो खुसीको तरङ्ग फैलियो कि ओहो ! म त अमेरिका पो आइपुगेँ । साँच्चै त्यो बखत निकै खुसी अनुभूति भयो । एउटा साइनबोर्डले वास्तवमै मभित्र तरङ्ग ल्याएको थियो । कहिलेकाहीँ सानो सानो कुराले कति महìव राख्दो रहेछ भन्ने कुरा ज्ञात भयो ।  

सन्तानसँग भेटिँदाको खुसी त शब्दमा उतार्नै कठिन छ । अमेरिका घर पुगेपछिको पहिलो बिहान यति मिठो आवाज मेरो कानसँग ठोक्किन आइपुग्यो, म ठ्याक्कै बाल्यावस्थामा पुगेँ । बिहान झिसमिसेमै कोठाबाहिरका मझौला रुखमा (यहाँ साह्रै ठुला रुख पनि नहुने रहेछन् र साह्रै साना रुख पनि नहुने रहेछन्) ढुकुर आएर ढुकुरकुर गरेर बिउँझाउँदा धेरै समयपछि त्यस्तो आवाजसँगको सामीप्य पाएकी थिएँ । त्यो बखत म अमेरिका छु भन्ने नै बिर्सिएँ । ढुकुरको आवाज मैले सानो छँदा सुनेको मिठो सम्झना छ । मेरो बाल्यावस्था केही समय गाउँमा बितेको थियो । त्यसैले पनि यो आवाजसँगको सामीप्य थियो । अमेरिकामा ढुकुरको आवाज सुन्दा स्वदेशमै छु झैँ भयो ।

बिहान उठेँ, अलिक दिन त स्वदेश र परदेशको समय पूरै दिन र रात फरक भएकाले निद्रा नै मिलेन । केही दिनको विश्रामपछि घुम्न भनेर छोरीज्वाइँसँग अमेरिका टेक्सासको एलपासो सहर निस्किएँ । जब घरबाट निस्कियौँ म तीनछक परेँ, यहाँ त मुस्ताङ जाँदाको हिउँले खाएको जस्तो रित्तो पहाडहरू मात्र देख्छु । जतासुकै दुईतले अपार्टमेन्टको व्यवस्था अनि बजार चाहिँ ठुलो हल भएको एकतले घरमा मानिसलाई चाहिने सम्पूर्ण सामान पाइने ठाउँ । 

अहो ! यो अमेरिका त हो नि भन्नेमा म पुगेँ । यस्तो मरुभूमि जस्तो रित्तो भएको जमिनमा कसरी बसेका छन् बच्चा सारा परिवारसँग छुट्टिएर ? एकातिर हृदय विदीर्ण बन्यो भने अर्काेतिर त्यही उजाड देखिने सहरमा उच्च शिक्षाको सुविधा र अन्य सुविधा त्यत्तिकै छन् । घरभन्दा अलिक पर केही दुरीमा डाउनटाउन अर्थात् त्यो सहरको पनि मुख्य सहरमा ठुला ठुला  होटेल, बैङ्क, अपार्टमेन्टहरू देखियो अनि पो वाह ! अमेरिका फुत्कियो मुखबाट । 

नातिनीलाई स्कुल बससम्म पु¥याउन जाने गर्छु, त्यो बेला अरू अभिभावक पनि आफ्ना सन्तान लिएर आइपुग्छन् तर चिसो सम्बन्ध जस्तो हाई हेल्लो मात्र हुन्छ । आफ्नो देशको जस्तो आत्मैदेखि रमाउने आत्मीयता भेटिँदैन यहाँ । अमेरिका जति विकसित छ त्यति नै मान्छे एक्लो छन् । यहाँसम्म कि समाजको त कल्पनै नगरौँ परिवारसमेत आफूसँग छैनन् । 

हामी बसेको अपार्टमेन्टसँगै जोडिएको अर्काे अपार्टमेन्टमा एक जना लगभग ८० वर्ष हाराहारीका वृद्ध हुनुहुन्छ । उहाँ केही वर्षदेखि क्यान्सरसँग जुधिरहनु भएको रहेछ, उहाँलाई स्याहार गर्न सरकारले एक जना नर्स राखिदिएको रहेछ । नर्स बिहानको ८ बजे आइपुग्छन् र साँझको ६ बजे फर्किन्छन् । उहाँका परिवार सबै आआफ्नो कममा व्यस्त छन् । उहाँ एक्ला व्यक्ति २४ घण्टामा आधा घण्टा मात्र मुस्किलले निदाउनु हुन्छ । साथी भनेको चुरोटको खिल्ली मात्र । उहाँ हरबखत चुरोटसँग भेटिनुहुन्छ । कहिलेकाहीँ उहाँ घरका अन्य ठाउँमा, बाथटपमा लड्दा उठाउन ज्वाइँसाहब जानुहुन्छ । यस्तो देख्दा साह्रै विरक्त लागेर मुटु नै चिरिएर आयो । उहाँले हामीलाई देख्दा नेपाली संस्कार अनुसार नमस्कार भन्नु पर्छ भन्ने सिक्नुभएको रहेछ । हामीलाई देख्नासाथ दुई हात जोडेर नमस्कार भन्ने गर्नुहुन्छ । उहाँलाई भेट्दा मैले आफ्नो देश, हाम्रो संस्कार, पारिवारिक मेल सबै सम्झिएँ । यहाँ विकासले हरचिज यान्त्रिक बनेको छ तर व्यक्ति नितान्त एक्लो । एक्लो व्यक्तिलाई प्रकृतिले बाहेक अरू त कसले बुझ्छ होला र ? प्रकृति आफ्नै तालमा मौसम बदलिरहन्छ तर जति पटक बदलिन्छ हरेक व्यक्तिलाई छोएरै जान्छ । उसको नजिक भएरै जान्छ ।

प्रकृतिको आफ्नै नियम छ, कतै चिसो हिउँ कतै उखरमाउलो गर्मी । त्यस्तै अमेरिकामा पनि कतै उजाड पहाड र मरुभूमि, कतै हरियाली चिसो र हिउँ झरिरहेको । मैले जहाजमा फ्लाइट म्याप हेर्दा तल पृथ्वीमा सेता चट्टान जस्ता भाग देखेकी थिएँ । ती सेता भाग हिउँ झैँ लागेको थियो । बच्चाहरूसँग घुम्ने व्रmममा टेक्सासको एउटा भाग जहाँ अति नै सेता घामको प्रकाश टल्किए झैँ सेता बालुवैबालुवाको बस्ती रहेछ । घाम लागेका बेला त्यहाँ पुग्दा रित्तो आँखाले हेर्नै नसकिने सायद त्यही सेता बालुवा नै आकाशबाट देखिएको हुनु पर्छ । हामी सेता बालुवाको पहाड चढेर चिप्लेटी खेल्यौँ । वाह ! प्रकृति, सायद यही सुन्दर प्रकृतिको अर्काे नाम स्वर्ग हो ।

टेक्सासबाट लस भेगास ट्रान्जिट हुँदै तीन घण्टाको उडानबाट हामी घुम्न सन फ्रान्सिस्को पुग्यौँ । सन फ्रान्सिस्को सहर भने कल्पना र रहरकै सहर रहेछ । त्यहाँको सुन्दरता र विकास देखेर आहा ! भनेर नरमाउने कमै मात्र होलान् । हामीले सुनेको तर नदेखेको कुरो चालकरहित कारको अनुभव बटुल्न पायौँ । अचम्मको कुरा त्यो कार यसो हेर्दा जतासुकै क्यामेरा नै क्यामेरा जडान गरिएको तर बिनाचालक पनि चालक भएजत्तिकै सुरक्षित हुँदो रहेछ । नेभिगेट जडानका कारण वाहन नियन्त्रण हुने र गन्तव्यको यात्रा पनि तय भएको र सुरक्षित हुने रहेछ । भर्खर भर्खरै मात्र क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा यो कार सुचारु रहेछ । हाल फिनिक्स, एरिजोना र सन फ्रान्सिस्कोमा यी कार सञ्चालनमा छन् । हामी सन फ्रान्सिस्को घुम्नका निम्ति पुगेका अनि मुख्य ठाउँ घुम्न छुटाउने त कुरै भएन ।

विश्व प्रख्यातमध्येको एक पुल गोल्डेन गेट पुल पुग्यौँ हामी । खास गरी यो पुल लगभग ८७ वर्षअघि निर्माण भएको सुनौलो पुल । दुस्मनलाई प्रहारका निम्ति बनाइएको भए पनि त्यसरी प्रयोग नभएको तर सो पुलको इन्जिनियरिङ अति सुन्दर ढङ्गले गरिएको हुनाले प्रख्यात रहेछ । पर्यटकहरू पुलभन्दा अलिक माथि रहेको मैदानमा पुगेर दृश्यावलोकन गर्न मिल्ने रहेछ । अत्यधिक चिसो समुद्री हावा चल्ने भएर मुस्किलले एक मिनेट अडिन सकिने रहेछ । मानिसको आस्था जहाँ पुगे पनि भेटिने । त्यहाँ पुलछेउमा फलामको जाली बारिएको थियो । त्यस जालीमा प्रेम सफलताका निम्ति मुटुको प्रतीक भएका ताल्चा झुन्ड्याइएको थियो । हामीले पनि गोल्डेन गेट वरपरका दृश्यलाई पृष्ठभूमि बनाएर सुनौला तस्बिर क्यामेरामा कैद ग-यौँ । यो पुलले सन फ्रान्सिस्को सहर र प्रशान्त महासागरलाई जोडेको रहेछ, संसारको आश्चर्यमध्ये एकको रूपमा मान्यता प्राप्त प्रतीकमध्ये एक रहेछ ।

हामी एक हप्ता सन फ्रान्सिस्को सहर घुम्यौँ । घुम्ने क्रममा नेपालको प्रसिद्ध राराताल जस्तै अमेरिकाको ‘लेक टहोइ’ ताल । रारा तालभन्दा ४६ गुणा ठुलो समुद्री सतहदेखि छ हजार २२५ फिट उचाइमा रहेको यो ताल अवलोकन ग-यौँ । सो ताल वरिपरि गर्मीमा पनि पहाडहरू हिउँले ढपक्क ढाकिएर अति सुन्दर देखिएका थिए तर चिसो भने खासै महसुस भएन । यो ताल अमेरिकाको सिएरा नेभाडामा रहेको स्वच्छ पानीको ताल क्यालिफोर्निया र नेभाडाको बिचमा फैलिएको रहेछ । यो तालमा घुमिरहँदा नेपालको राराताल घुम्न जाने इच्छा अझ तीव्र बन्यो । पचहत्तर प्रतिशत जलाधार संयुक्त राज्य वन सेवाको व्यवस्थापन एकाइले कभर गरेको यो ताल सुनौलो पुलजत्तिकै पर्यटकको रोजाइमा पर्ने रहेछ । हामी पुग्दा दिउँसोको १ बजिसकेको थियो । सो ताल हेर्न आउने प्रशस्त पर्यटक तस्बिर लिँदै रमाउँदै थिए । तालमा अलिक पर डुङ्गा पनि चल्ने रहेछ । डुङ्गामा खासै यात्रा गरेको चाहिँ देखिएन तर वरपर जता हेरे पनि हरिया पहाडमाथिको हिउँले त्यत्तिकै लोभ्याइरहेको थियो । हुन त मानिसहरू सबै एउटै स्वभावका हुँदैनन् । मलाई भने प्रकृतिसँग रमाउन असाध्यै मन पर्छ, प्रकृतिसँगै हराऊँ, उसैलाई अङ्कमाल गरूँ, उसैसँग बात मारिरहूँ हुन्छ । त्यसैले जहाँ पुगे पनि पहिलो अवलोकन प्रकृति नै हुने गर्छ । 

मेरी सात वर्षकी नातिनी अङ्ग्रेजी बोल्ने भएर नेपाली बोल्दा तिमी सम्बोधन गर्छिन् । हामी नेपालीले आफूभन्दा ठुलालाई हजुर सम्बोधन गर्ने चलन अनुसार मैले नातिनीलाई हजुर भनेर बोल्न र नेपाली अक्षर लेख्न सिकाइरहेकी थिएँ । यसै क्रममा एक दिन उनले बजार निस्कँदा पिज्जामा हालापेन्यु राखेर खाने कुरा गरिन् । नेपाली बोल्दै ‘मम्मी हालापेन्यु पनि है’ भनिन् । मैले उनलाई नेपाली बोल्न सिकाइरहेको हुँदा हाल्नुस् पेन्यु भन न भनेँ, उनी त मलाई ट्वाँ परेर हेरिरहिन् । अनि छोरी र ज्वाइँसाहेब निकै हाँस्दै हालापेन्यु भनेको मेक्सिकन भाषामा पिज्जामाथि राख्ने एउटा पिरो नहुने खुर्सानी हो भने । अनि म र नातिनी निकै हास्यौँ । भाषाको अल्पज्ञानले अर्थको कति अनर्थ हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको थियो यो । अमेरिका भ्रमणले धेरै खुसी, केही दुःखी पक्कै तुल्यायो । संसार आफ्नै रित, आफ्नै संस्कारमा हिँडेको छ ।  हामी जहाँ पुगे पनि आफ्नो संस्कार आफ्नोपन खोज्दा पीडा हुने रहेछ । त्यस्तै भयो मेरो अमेरिका बसाइ, धेरै खुसी केही पीडा ।