• १२ साउन २०८१, शनिबार

पाथीभराको भेटी रकम आठ करोड बढी मौज्दात

blog

पाथीभराको भेटी रकमसहित आयव्ययबारे जानकारी दिनुहुँदै कार्यकारी निर्देशक प्रजिन हाङ्बाङ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ८ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपियाँ बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो।

पाथीभरा क्षेत्र विकास समितिले मङ्गलबार पत्रकारसँग अन्तक्र्रिया गर्दै हालसम्म कुल आठ करोड १३ लाख ७९ हजार ३६३ रुपियाँ भेटी रकम मौज्दात रहेको जानकारी दिएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीबापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैङ्क मौज्दात तथा मौज्दात रकमको व्याजसमेत असार मसान्त सम्ममा भेटीबापत कुल १२ करोड ८० लाख ९९ हजार २५१ रुपियाँ सङ्कलन भएको छ। सङ्कलित उक्त रकममध्ये गत आवमा चार करोड ६७ लाख १९ हजार ८८७ रुपियाँ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ।

समितिले पछिल्लो एक वर्ष अर्थात गत आवमा मात्र तीन करोड ९८ लाख ४१ हजार ३१५ रुपियाँ भेटी रकम सङ्कलन गरेको छ। यता गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र ८४ लाख ९४ हजार ६२८ रुपियाँ खर्च भएको छ। ताप्लेजुङ पर्यटन महोत्सव–२०८१ लाई अनुदान सहयोगबापत समितिले २० लाख रुपियाँ भुक्तानी दिएको छ।

यसैगरी आन्तरिक आयव्ययबाहेक सरकारी अनुदानतर्फ एक करोड ३९ लाख तीन हजार ११ रुपियाँ आय (आम्दानी) भएको समितिले जनाएको छ। सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा छ लाख ३४ हजार २१२ रुपियाँ खर्च भएको छ। सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापनलगायतमा बजेट खर्च भएको छ भने तीर्थयात्री पदमार्ग, विश्रामस्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापनजस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको समितिले जनाएको।