विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २३ गते । सप्तरी प्रहरीले गाईको मासुसहित एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय रहमत अलीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।
आइतबार विराटनगरबाट राजविराज आउँदै गरेको विङगर गाडीलाई हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित दिउँसो १ः३० बजे चेकजाँच गर्ने क्रममा गाईको मासु जस्तो देखिने पदार्थसहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उहाँले बसेको सिटमुनी लुकाएर राखिएको अवस्थामा गाईको मासु जस्तो देखिने १३ किलो ५ सय ग्राम पदार्थ फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।