• २३ चैत २०८२, सोमबार

म्याग्दीमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रियो

blog

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी आइपुगेको पाठ्यपुस्तक । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
बेनी (म्याग्दी), चैत २३ गते ।
शैक्षिक सत्र २०८३ का लागि आवश्यक पर्ने बालशिक्षादेखि कक्षा १० सम्मका पाठ्यपुस्तक हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अनुसार जिल्लाका लागि आवश्यक पर्ने बालशिक्षादेखि कक्षा १० सम्मका पुस्तक आइपुगेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले उपलब्ध गराएको कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको तथ्यांकका आधारमा आवश्यक पुस्तक ल्याइएको महासंघका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

शर्माका अनुसार जिल्लालाई आवश्यक पर्ने सरकारी पाठ्यपुस्तक आइपुगेको छ भने चैत २४ गतेदेखि पुस्तक बिक्री–वितरण सुरु गरिनेछ ।

सरकारी पाठ्यपुस्तक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले संयुक्त रूपमा एउटै केन्द्रबाट बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको महासंघका सचिव ध्रुवराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार आवश्यक पाठ्यपुस्तक आइपुगेकाले राज्यले तोकेको ढुवानी सुविधासहित सहज रूपमा बिक्री–वितरण गरिनेछ ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले उपलब्ध गराएको तथ्यांकअनुसार पर्याप्त पुस्तक आएकाले सबै विद्यार्थीले आवश्यक पुस्तक खरिद गर्न सक्नेछन् ।

इकाइका अनुसार बालशिक्षामा १ हजार ९ सय ६, कक्षा १ मा १ हजार ४ सय ६४, कक्षा २ मा १ हजार ३ सय ४५, कक्षा ३ मा १ हजार ४ सय २ र कक्षा ४ मा १ हजार ४ सय ६६ विद्यार्थी रहेका छन् ।

त्यसैगरी कक्षा ५ मा १ हजार ५ सय २७, कक्षा ६ मा १ हजार ६ सय १०, कक्षा ७ मा १ हजार ६ सय १, कक्षा ८ मा १ हजार ७ सय ८६, कक्षा ९ मा १ हजार ७ सय ३२ र कक्षा १० मा १ हजार ४ सय ९७ विद्यार्थी शैक्षिक सत्र २०८३ मा अध्ययन गर्नेछन् ।

नयाँ शैक्षिक सत्रमा बालशिक्षादेखि कक्षा १० सम्म कुल १७ हजार ३ सय ३६ विद्यार्थी रहेका छन् । उक्त संख्याका विद्यार्थीका लागि यस वर्ष हालसम्म १३ हजार २ सय ४५ थान पुस्तक म्याग्दी आइपुगेका छन् ।

गत वर्षका पुस्तक पनि मौज्दातमा रहेकाले र हालसम्म तीन गाडी पुस्तक बेनी आइपुगेकाले कुनै पनि प्रकारको अभाव नहुने महासंघका अध्यक्ष शर्माले बताउनुभयो ।