“हैन ए बाबु, मलाई नातिनातिनाको मुख नदेखाईकनै मार्ने सुरमा छौ कि कसो ?” रामदेवी बोलिन् । उता राजन भने कानमा तेल हालेर बसेको छ । “हैन, सुनेको नसुने झैँ गरेर किन बस्छस् बाबै ? कान त सद्धे छन् होला नि ।” आमा फेरि बोलिन् । “देख्ने छौ आमा नाति अनि नातिनीहरूका मुख । किन एका बिहानै यस्तो कुरा गर्नुभएको आमा ।”
“अँ..., मलाई बेवकुफ सम्झेको ? विवाह नगरीकनै बाउ बन्ने विचार छ कि के हो ?”
“होइन आमा, तपाईंले भनेकैसँग, तपाईंले भनेबमोजिम विवाह गर्छु । तर देशमा प्रजातन्त्र आउन त दिनुस् । प्रजातन्त्रको मुख नहेरीकन कसरी विवाह गरूँ आमा ?” सदाझैँ राजनले उत्तर दियो ।
अलिक मलिन अनुहारमा रामदेवी बोलिन्, “बाबु तिमीले भनेको प्रजातन्त्र आउने तिथिमिति तिमीलाई थाहा छ ? कहिले आउँछ ? कसरी आउँछ ? ल आइहाले पनि तिम्रो प्रजातन्त्र आउने बेलासम्म तिमी बुढो भइसक्छौ अनि कसले दिन्छ बुढोलाई छोरी ? जे पनि समयमै गरेको पो त राम्रो । लगनपछिको पोते के काम ? बाबु मेरो बिन्ती छ, बिहे गर । मलाई साथी पनि हुन्छ । तँ क्रान्तिमा लागेको मान्छे, कैयौँ दिनसम्म घरै आउँदैनौँ ।”
“मेरो अवस्था तपाईंलाई थाहा छँदै छ आमा । अर्काकी छोरी ल्याएर मात्र हुन्न । हाम्रो आफ्नो स्वार्थ मात्र हेरेर हुन्न नि ।”
“तिमी एघार वर्षको छँदा तिम्रा पिताजीले मलाई छोडेर जानुभयो । तिम्रै अनुहार हेरेर म बाँचिरहेँ । जिन्दगीमा योभन्दा ठुलो चोट मान्छेलाई अरू के पर्छ बाबु ? आज तिमीले राम्रो पढेर जागिर खानुपर्ने मान्छे, घर हेर्नुपर्ने मान्छे, परिवार सम्हाल्नुपर्ने मान्छे आफैँ व्रmान्तिमा लागेका छौ ।”
“आमा, मैले तपाईंले भनेबमोजिम पढेको छु । सबै भनेको मानेकै छु । त्यही जागिर र विवाहको कुरा त हो नि । केही समय पर्खनुस्, त्यो नि मान्छु आमा ।”
“मलाई त किन हो किन डर लाग्छ बाबु । तिमीले भनेको प्रजातन्त्र आएन भने तिम्रो बुबाको वंश अगाडि बढ्दैन । विवाह पनि गर । तिमीलाई ठिक लागेको बाटोमा पनि लाग । त्यो बाटै नहिँड भनेको त छैन नि बाबु ।”
“आमा, मानिस भएर जन्मेपछि अरूका लागि बाँच्न सक्नु पर्दछ । देशका लागि समर्पण हुन सक्नु पर्दछ । बाँच्न त किराफट्याङ्ग्रा पनि बाँचेका छन् । देशमा प्रजातन्त्र आएपछि देश र जनताको ओठमा हाँसो र गालामा लाली छाउँछ । जनता सुखी र खुसी हुने छन् । के यो राम्रो कुरा होइन र आमा ? अनि बिहे गरेर अर्काको छोरीलाई तिमीलाई छोडेर गएजस्तै छोडेर हिँड्न मिल्छ त ?”
“छोडेर जान नमिले समातिराख न त । मलाई पनि हाइसन्चो हुन्छ ।”
“हैन आमा एउटी महिला आफ्नो आमाबा, नातेदार, दाजुभाइ, दिदीबहिनी सबै त्यागेर त्यही श्रीमान्लाई आफ्नो सर्वस्व सम्झेर आउँछिन् । त्यस्ती महिलाका लागि केही गर्न सक्ने अवस्थामा म छुइनँ आमा ।”
“त्यो त हो । तर म डाँडामाथिको जुन भइसकेकी बुढीको त्यति इच्छा पूरा गरिदिए हुने भन्ने लागिरहन्छ नि बाबु ।”
“आमा देशमा रहेको एकतन्त्रीय शासन, भोर अगाडिको कालरात्रि जस्तो भइसकेको छ । तपाईंले अब धेरै बेर कुर्नु पर्दैन आमा । यता प्रजातन्त्र आउँछ मेरो इच्छा पूर्ण हुन्छ उता मेरो विवाह गराएर तपाईंले आफ्नो चाहना पूरा गर्नुस् ।”
“मलाई तिमीले जति फकाए पनि, जे भने पनि मेरो मन भने मान्दैन छोरा । सायद म स्वर्थी भएँ ।”
“म तपाईंको दुध खाएर हुर्किएको छोरा हुँ । दुधको भाडा कसरी तिर्नुपर्छ मलाई थाहा छ । सबैभन्दा पहिले म नेपाल आमाको ऋण तिर्छु । त्यसपछि तपाईंको दुधको कर्ज चुकाउँछु ।”
यति भनेर राजन साथीलाई भेट्न भन्दै बजारतिर लाग्यो ।
चैतको महिना । वरपरका बोटबुट्यानले नयाँ पालुवा हाल्दै थियो । वसन्तको याम थियो । नजिकै आरूको बोटमा फुलेका राता बान्की युक्त सेता फूलले सुन्दरता छर्दै थियो । सूर्यको किरणले धरतीलाई आलोकित तुल्याइसकेको थियो । तर त्यो बिहान रामदेवीको मुहार वर्षायामको आकाश जस्तै भएको थियो । उनको मुहारको हाँसो कसैले खोसेर लगेजस्तो भयो ।
जिन्दगीमा थुप्रै शिशिर झेल्दै आएकी रामदेवीका चाउरिएका गालाका डोबहरूबाट कैयौँ पल्ट रोसी बग्यो । बुवा नभएको टुहुरो राजनलाई हुर्काउन, बढाउन, पढाउन उनले गरेको सङ्घर्ष सामान्य थिएन । समाजमा परम्परादेखि हुर्कंदै आएको सामाजिक दृष्टिकोण, हेला, अभाव सबैसँग पौँठेजोरी खेल्दै हुर्काएको छोरा पनि व्रmान्तिमा होमिएपछि रामदेवीलाई रातमा निन्द्रा पर्दैन । दिन पनि चैनपूर्वक बित्ने गर्दैन उनको । जवान भइसकेको एक्लो छोराको विवाह गरिदिने ठुलो धोको मनमा साँचेर बाँचेकी उनको मनको कुरा छोराले नबुझेको देख्दा कहिलेकाहीँ त रत्नमानसँग खुब रिस उठ्ने गर्छ उनलाई ।
रत्नमान प्रजातन्त्र प्राप्तिका लागि लडिरहेका नेता हुन् । उनले देशमा लोकतन्त्र स्थापना गर्नका लागि युवाहरूलाई प्रशिक्षण दिने काम गर्दथे । प्रजातन्त्रका पक्षमा जनमत तयार गर्ने काममा पनि आफू खट्ने अनि राजन र राजन जस्ता युवालाई परिचालन गर्ने काम गर्थे उनी । राजनले पनि उनकै निर्देशन अनुसार काम गर्दै आफूलाई प्रजातन्त्रका लागि पूर्ण रूपले समर्पित गरिसकेका थिए । देशमा लोकतन्त्र ल्याएर नेपाललाई समुन्नत राष्ट्र बनाउने सुन्दर सपना सजाएर हिँडेको थियो राजन ।
उनलाई राजनीतिले गाँजिसकेको थियो । राजनीतिक चेतनाका कारण घरको समस्यालाई पुड्को देख्न थालेको थियो । देशको समस्याका अगाडि घरको समस्या ठुलो हुने कुरै भएन । त्यसैले नेताका भाषण, प्रशिक्षण, गोप्य बैठकमा राजनको दिन बित्दै थियो । उनलाई आफ्ना नेताका कुरा सबै कण्ठ हुन्थे ।
दिनको आयु छोटो हुँदै थियो । घामले धर्तीसँग बिदा माग्नै आँटेको थियो । साँझको स्वागत स्वरूप चराहरू चिर्बिराउँदै आआफ्ना बासस्थानतर्फ लाग्दै थिए । त्यसैबेला राजन भने बाहिर जान तयार भएर आमाको अनुमति लिन आइपुग्यो । “हैन, सबै आआफ्नो बासस्थान फर्कने बेलामा तिमी कहाँ हिँडेको छोरा ?” आमाको प्रश्नलाई शान्त पार्दै राजनले भन्यो, “आमा, आज रत्नमान काकाको घरमा बैठक छ । साथीहरू सबै भेला भइसके होलान् । म त्यहीँ जान लागेको । सकेसम्म छिटो आउँछु । अनि तपाईं खाना खाँदै गर्नुहोला । मलाई खाना कुर्नु पर्दैन ।”
“पाकेको भात खाएर गए हुने नि । परिवारमा जम्मा दुई जना छौँ । सँगै भात पनि खान नपाउने ! कस्तो काम ! केको बैठक ?”
“पिर नलिनुस् आमा । यस्तै हो, खाना समयमै खानु होला ।”
यति बोलेर हिँड्यो राजन त्यहाँबाट ।
कुरा २०४२ सालको हो । केही दिनपछि एकदलीय पञ्चायतविरुद्ध सत्याग्रह हुने कुरा थियो । त्यसैको विषयमा कुरा हुँदै थियो बैठकमा । रत्नमानलाई उमेरका हिसाबले सबै जना काका भन्दथे । उनकै घरमा बैठक थियो । बैठकमा सत्याग्रहको विषयमा कुरा उठेपछि सबैले आआफ्ना विचार पोखे । रत्नमान काकाको सभापतित्वमा भएको बैठकले आफ्नो गाउँबाट तीन जनाको टोली सत्याग्रहमा भाग लिन काठमाडौँ पठाउने निर्णय ग-यो । तर को को जाने भन्ने निर्णय भइसकेको थिएन । सत्याग्रहमा आफूलाई होमिन धेरैले इच्छा देखाए । देशलाई स्वतन्त्र बनाउने महान अभियानमा आफू पनि सरिक हुन पाए हुने इच्छा धेरैले जनाएपछि रत्नमानले अन्तिम निर्णय गर्दै भन्यो, “तपाईंहरू सबैको भावना मैले बुझेको छु । आन्दोलनका विभिन्न स्वरूप हुन्छन् । अहिले त थुप्रै आन्दोलन गर्न बाँकी नै छ । त्यसैले राजधानीमा तीन जना मात्र पठाउने कुरा छ । राजन लामो समयसम्म काठमाडौँ बसेर, उच्च शिक्षा हासिल गरेर आएको व्यक्ति हो । उसले राजधानीलाई राम्रोसँग बुझेको पनि छ । त्यसैले उसैको नेतृत्वमा विजय र सुमन पनि सत्याग्रहमा भाग लिन जाँदा राम्रो होला ।” रत्नमानको कुरामा सबै सहमत भए । यताबाट भोलि नै राजधानीका लागि हिँड्ने कुरा भयो । बैठक सकिएपछि सबै जना आआफ्ना घर गए ।
रामदेवी अबेरसम्म छोरालाई पर्खेर बसेकी थिइन् । उनले पनि एक्लै खाना खाइनन् । “तँ आइस् बाबु ?” राजन घरभित्र छिरेको देख्नासाथ बोलिन रामदेवी । “आएँ आमा, अनि यतिबेलासम्म सुत्नुभएन ? खाना त खानु भयो नि ?” “छैन, तिमीसँगै खान्छु भनेर । फेरि भोक पनि लागेको थिएन बाबु ?” छोरालाई जवाफ दिइन् । “लौ, आमा पनि... खाएर बस्नुपर्छ नि । ल पस्कनु त आमा सँगै खाऔँ ।” दुवै जना खाना खाँदै थिए । त्यसैबेला राजनले आमालाई भन्यो, “आमा, भोलि म काठमाडौँ जानु छ । सबेरै हिँड्छु होला ।”
“किन नि ? के प-यो त्यस्तो ?”
“खासै त्यस्तो केही होइन आमा । म पढेको कलेजमा थोरै काम छ । अनि पार्टीको पनि केही काम छ । सकेर फर्किहाल्छु ।”
“खै के भनूँ बाबु ? म अनपढले तिमीलाई सम्झाउन पनि सकिनँ । तर किन किन तिम्रो कुरा सुन्दा मुटुको धड्कन त्यसै बढ्छ ।”
“आमा पनि, म लडाइँमा जान लागेको सिपाही हुँ र ? के को डर ?” यतिन्जेलसम्म आमाछोराले खाना खाइसकेका थिए । दुवै जना खाना खाएर सुत्न गए । राजनले आमाको सान्त्वनाका लागि सिपाही हुँ र भने पनि ऊ सिपाही नै थियो, स्वतन्त्रताको सेनानी थियो ।
भोलिपल्ट राजन आफ्ना दुई साथी विजय र सुमनका साथ काठमाडौँ हिँड्यो । काठमाडौँ पुगेर पार्टीकै साथीहरूसँग बस्यो । भोलि अर्थात् जेठ २३ गते देशमा सत्याग्रह प्रारम्भ भएपछि काठमाडौँका विभिन्न स्थानबाट एकैपल्ट जुलुस निकाल्ने र धर्ना दिने कार्यव्रmम तय भयो । अघिल्लो दिन काठमाडौँमा भएको बैठकमा देशमा प्रजातन्त्र बहालीका लागि विभिन्न स्थानबाट जुलुस निकाल्ने निर्णय भयो । राजनलगायत केही साथीहरू माइतीघरबाट जुलुस निकाल्दै धर्ना दिने कार्यव्रmममा सरिक हुनुपर्ने भयो । योजना अनुसार भोलिपल्ट सत्याग्रहमा सामेल हुन राजनलगायतका प्रजातन्त्र प्रेमीहरू माइतीघरमा जम्मा हुन थाले । त्यही बेला उनको नजर एउटी पातली युवतीमा प¥यो । एकैछिनमा दुवैको आँखा जुधे । दुवै एकअर्कामा परिचित । समा र राजन काठमाडौँमा पढ्दाका क्लासमेट हुन् । एउटै कक्षामा पढ्दा दुवैको धेरै पल्ट हेराहेर भएको थियो । दुवैको मनको कतै कुनामा प्रेमको बिरुवा टुसाएको थियो । मायाको आगो एकातर्फ मात्र बलेको थिएन । त्यो दुवैतर्फ समान थियो । तर अव्यक्त । समा महिला परिन् । प्रेम जस्तो संवेदनशील विषयमा नेपाली समाजमा महिला पहिला हुने सम्भावना कमै हुन्छन् । राजनको मनभित्र प्रेम त थियो तर त्यसलाई हुर्काउनुभन्दा पनि विद्यार्थी कालदेखि नै राजनीतिप्रतिको चासो र चेतनाका कारण त्यो सुषुप्त अवस्थामा थियो । उसले कहिल्यै व्यक्त गरेन । अचानक त्यहाँ भेट हुँदा दुवै आश्चर्यमा परे । “तपाईं पनि... ।” मुसुक्क हाँसेर यति मात्र बोलिन् समा । “अँ.. । तपाईंलाई यसरी यो अवस्थामा भेट्न पाउँदा गर्वले छाती फराकिलो भएको छ । आफ्नो साथीलाई यस्तो महायज्ञमा देख्न पाउँदाको हर्ष अकासिएको छ ।” राजनको कुरा सुनेर समाको मुहार उज्यालियो । यतिकैमा “प्रजातन्त्र जिन्दावाद !” को नारा लगाउँदै त्यहाँबाट जुलुस अगाडि बढ्यो ।
जुलस अगाडि बढ्दै थियो । केही क्षणमै प्रहरी आएर उनीहरूलाई समात्यो अनि भ्यानमा कोच्यो । उनीहरूलाई पव्रmेको प्रहरीको भ्यान महेन्द्र पुलिस क्लबमा पुगेर रोकियो । त्यो भ्यानमा महिलाहरू भने थिएनन् । समा पव्रmाउ परिन् वा परिनन् राजनलाई थाहा भएन । जेठको टन्टलापुर घाम । गर्मीले उखुम बनायो सबैलाई । नजिकै रुख थियो । त्यहाँ ओत लाग्नसमेत दिइएनन् उनीहरूलाई । दिनभर घाममा राखेर बिस्कुन सुकाए जस्तै सुकाएपछि एक जना प्रहरीको अधिकृत आएर भन्यो, “तिमीहरू भर्खरका छौ । यसरी आन्दोलनमा लाग्नु हुन्न । कसले भन्यो तिमीहरूलाई आन्दोलनमा लाग्न । ल अबदेखि आन्दोलनमा लाग्दैनौँ भनेर कागज गरेर घर जाओ । हामी तिमीहरूलाई केही गर्दैनौँ ।” प्रहरीको कुरा त्यहाँ कसैले पनि सुनेनन् । युवाहरूसँग जोस् थियो । सँगै सङ्कल्प पनि । उनीहरूले एकै स्वरमा भने, “हामी प्रजातन्त्रका लागि लड्न आएका हौँ । पञ्चायत ढालेर प्रजातन्त्र देऊ, हामी घर जान्छौँ ।” प्रहरीको त्यो अधिकृतले फकायो, तर्साउन खोज्यो तर उसको केही लागेन । अन्त्यमा हार खाएको त्यस प्रहरी अधिकृतले भन्यो, “तिमीहरू कागज गरेर घर फर्कंदैनौ ?” उनीहरूले भने, “हामी प्रजातन्त्रका लागि लड्न आएका हौँ । आत्मसमर्पण गर्न होइन । कागज नगरीकन पठाउने भए जान्छौँ । नभए हाम्रा साथीहरू सेन्ट्रल जेलमा छन् भन्ने कुरा सुनेका छौँ, हामीलाई पनि त्यहीँ लग्नू ।” त्यसपछि रिसले आगो भएको त्यो प्रहरी अधिकृतले हामीलाई सुरुमा तीन महिनाको पुर्जी थमायो । हाम्रो यात्रा सेन्ट्रल जेल तय भयो ।
जेलमा सत्याग्रहमा समातिएका राजनीतिक बन्दीहरू केही सङ्ख्यामा थिए । त्यहाँ रहेका राजनीतिक बन्दीहरू बिचको सद्भाव, प्रेम अचम्मको थियो । पालैपालो खाना पकाउने, एकअर्काको दुःखमा दुःखी हुने, सुखमा खुसी हुने दिनचर्या थियो उनीहरूको । जेल जीवन पनि एक प्रकारको सुखी र हार्दिकताले भरिएको घर बनेको थियो उनीहरूका लागि । जेलमा बस्दा पनि अरूको जस्तै राजनको मनमा पनि व्रmान्तिको आगो बलिरहेकै थियो । अझ साथीहरू, आफूभन्दा ठुला र अनुभवीहरूसँगको सङ्गतले उनीभित्र हुर्किरहेको स्वतन्त्रता रूपी वृक्षले अझ हराभरा हुने अवसर मिल्यो । आफ्ना नेताहरूसँगको संसर्गबाट देशको मात्र होइन विदेशका बारेमा पनि थुप्रै कुरा बुझ्ने अवसर पनि मिल्यो राजनलाई । देशमा राजनीतिक परिवर्तन गरेर जनतालाई नागरिक हक र अधिकार प्रदान गर्ने उनको दृढ इच्छाशक्ति अझ बलियो हुँदै थियो । जेलमा रहँदा कहिलेकाहीँ भने एक्ली आमाको यादले निक्कै सताउँथ्यो राजनलाई । “एक्ली आमा, के गर्दै होलिन् ? म जेलमा परेको कुरा पनि थाहा छैन होला । विचरी मेरी आमा ! छोरो भएर जन्मिएर पनि कुनै सुख दिन सकिनँ आमालाई ।” यस्तै कुरा मनमा खेलाएर भक्कानिन्थ्यो राजन । फेरि आफूलाई सम्हाल्थ्यो । “सत्यको मार्गमा लागेका मानिसहरूले क्षणिक दुःख पाए पनि कालान्तरमा दीर्घकालीन सुखको उज्यालो छरिने छ हरेक झोपडीमा । अनि आमाका जस्तै लाखौँ आमाबाहरूको चाउरिएका गालामा लाली पोतिने छ ।” फेरि आफूले आफैँलाई सान्त्वना दिँदै भन्थ्यो ।
घण्टा, दिन, हप्ता हुँदै तीन महिना पुग्दै थियो । उनीहरूलाई थमाएको तीन महिनाको पुर्जीको म्याद पनि सकिन लागेको थियो । केही साथीहरूको म्याद थपियो । उनीहरूको जेल बसाइ अझ लम्बिने निश्चित भयो । राजन र अन्य केही साथीहरूको म्याद भने थपिएको थिएन । दुई हप्तापछि जेलबाट रिहा हुँदै थियो राजन । एक रात राजनलाई अचानक ज्वरोले समात्यो । जेलमै ज्वरोका लागि सामान्य औषधी उपलब्ध गरायो । तर औषधीले उसलाई छोएन । रातभर राजन छट्पटियो । ऊ सुत्न पनि सकेन । ज्वरो उन्नाइसको बिस भएन । साथीहरूले खुट्टा र टाउकोमा पानीपट्टी लगाउन छोडेको थिएन तर पनि ज्वरो नओर्लिएपछि सबैले जेल प्रशासनमा अस्पताल लैजान आग्रह ग¥यो तर रातको समयको बहानामा राजनलाई रातमै अस्पताल लगिएन । जेलमा रहेका सत्याग्रहीहरूको चर्को दबाबपछि बल्ल भोलिपल्ट बिहान राजनलाई अस्पताल पु-याइयो । त्यसबेलासम्म उसको हालत बिग्रिसकेको थियो । अघिल्लो दिन हनहनी ज्वरो आउँदा आफ्नी आमालाई सम्झँदै थियो राजन । समाको स्मृति पनि आँखामा नाचेकै थियो । साथीहरूसँग कुरा गर्दा आमाको चिन्ता अनुहारभरि छल्किरहेको थियो । साथीहरू, त्यहाँ रहेका नेताहरूले पनि भन्दै थिए, “तिमी नेपाल आमाका सच्चा सपुत हौ । यस्तो सामान्य ज्वरोले तिम्रो केही बिगार गर्दैन राजन । पिर गर्नुपर्दैन ।” त्यो रात, आफू बिमार परेर राम्रोसँग बोल्न नसक्दासमेत प्रजातन्त्र, सम्पन्न नेपालकै बारेमा कुरा गरिरहेको थियो राजन । डाक्टरले दिसा, पिसाब, रगत सब जाँच भयो । चिसो छिँडी, उचित खानपानको अभावका कारण राजनलाई निमोनियाले समातेको रहेछ । राजनको यस्तो अवस्थाका बारेमा जानकारी पाएका केही साथीहरू अस्पतालसम्म हेर्न आए, हाल खबर बुझे । राजनका बारेमा समाले पनि जानकारी पाएपछि उसलाई हेर्न समा पनि त्यहाँ चौथो दिन पुगिन् । त्यस दिनदेखि समा दिनभर राजनको हेरचाहमा लागिन् । हुन त राजनलाई आइसियुमा राखिएको कारण उनीसँगै सधैँ बसिरहन पर्दैनथ्यो । तर पनि समा दिनभर अस्पतालमा बस्ने, केही पर्दा सहयोग गर्ने गर्थिन् । राजन बोल्न सक्ने अवस्थामा थिएन । समा राजनको समीप पर्दा ऊ समालाई हेरिरहन्थ्यो । आँखाको भाकाले केही भनिरहन्थ्यो । समा भने “तपाईंलाई केही हुन्न । सब ठिक हुन्छ ।” भन्दै राजनको हौसला बढाउँथिन् । उनको कुरा सुनेर होला राजन आँखाबाट बरर आँसु झाथ्र्यो ।
रोगले शिथिल बनाएको राजनको शरीरले लगालग नौ दिनसम्म मृत्युसँग लडाइँ लड्यो । त्यो लडाइँमा उसको हार भयो । जुन दिन जेलबाट ऊ रिहा हुँदै थियो त्यही दिन ऊ संसारबाट बिदा भयो ।
जेलमा रहेका साथीहरूले भावुक हुँदै उसलाई बिदा गरे । समाले पनि भारी मनले आफ्नो मनमितलाई श्रद्धाञ्जली दिइन् तर गाउँमा रामदेवी भने छोरा आउने बाटो हेरिरहेकी थिइन् । मधुपर्क