• १६ भदौ २०८१, आइतबार

सुरक्षा समितिमा निर्वाचनसम्बन्धमा गर्नुपर्ने कामबारे छलफल

blog

सुरक्षा समितिमा निर्वाचनसम्बन्धमा अहिलेसम्मका काम र अब गर्नुपर्ने कामबारे छलफल गर्दै गृहमन्त्री बालकृष्ण खाणलगायत सुरक्षा निकायका प्रमुखहरू। तस्बिर : गृह मन्त्रालय

काठमाडौँ, १९ बैशाख । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ । बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचनको प्रचार प्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घटन नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसावले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको प्रवक्ता पोखरेलले बताउनुभयो । 

बैठकमा गृहमन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंशायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनु पर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

‘सरकारको मुख्य ध्यय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘अहिलेसम्म तपाईहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंशायोग्य छ । अब पनि त्यो भन्दा अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनु होला ।’

निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउँदावित्तिकै सुरक्षा निकायले एकअर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिनुभयो । घटना घटिहालेमा समन्वयात्मक तरिकाले सामान्यीकरण गर्न पनि उहाँले सुरक्षा निकायका प्रमुख र गृह प्रशासनलाई निर्देशन दिनुभयो । बैठकमा सोमबारमात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो । 

गृहमन्त्री खाणको अध्यक्षतामा भएको सुरक्षा समिति बैठकमा गृहसचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुंगेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।