• ३ साउन २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई लीको बधाई

चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक

blog

प्रधानमन्त्री केपी शर्मा ओली र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङ

काठमाडौँ, साउन ३ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।  

चीनका प्रधानमन्त्री लीले बुधवार पठाउनुभएको सन्देशमा नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हाे । 

चीनका प्रधानमन्त्री लिले सन्देशमा दुई देशका शीर्ष नेताहरूबिच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधैँ मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ ।

 चीन–नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गर्दै सन्देशमा कूटनीतिक सम्बन्ध कायम भएको ६९ वर्षदेखि दुवै देशले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालन गर्दै आएका र यो समानता र विन–विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ । 

यसैबिच, प्रधानमन्त्री ओलीसँग नेपालस्थित चीनका राजदूत छङ सोङले मङ्गलबार शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । भेटमा दुई देशबिचको मित्रतालाई थप प्रगाढ बनाउन र व्यावहारिक सहकार्यलाई गति दिने विषयमा छलफल भएको थियो । 

 भारत, पाकिस्तान र भुटानका प्रधानमन्त्रीबाट प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना 

यसअघि नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा छिमेकी मुलुक भारत, पाकिस्तान, भुटानका प्रधानमन्त्रीका साथै अमेरिकालगायतका मित्रराष्ट्रबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्नुहुँदै दुई देशबिचको मित्रताको गहिरो सम्बन्धलाई अझ सुदृढ गर्न र दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभयुक्त सहयोगलाई अझ विस्तार गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबिचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

पाकिस्तानका प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत बधाई दिनुहुँदै दुई देशबिचको सम्बन्ध बलियो बनाउन तथा क्षेत्रीय सहकार्य थप प्रवर्द्धन गर्न सहकार्यका लागि इच्छुक रहेको जनाउनुभएको छ । 

यस्तै, प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । 

भेटमा भारत र चीन दुवै छिमेकी मुलुकका राजदूतहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्य अगाडि बढाउन बसाल्नुभएको आधारहरूको स्मरण गर्दै त्यसै आधारबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।