• १ साउन २०८१, मङ्गलबार

घना जङ्गलमा भेटिए अशक्त वृद्ध

blog

जंगलमा भेटिएका वृद्ध।

हरि कोइराला 

उर्लाबारी, साउन १ गते। मोरङको बेलबारी-१ नक्सल उत्तरको घना जङ्गलमा अन्दाजी ६५/६६ वर्षका वृद्ध भेटिनु भएको छ। 

आफन्त कोही नभएका बेलबारी-७ का जामुनलाल झाँगड मङ्गलबार दिउँसो १ बजेतिर जङ्गलको बिचमा भेटिनु भएको हो। बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका बनहेरालुहरूले जङ्गल गस्ती गर्ने क्रममा वृद्धलाई भेटेका हुन्। 

जङ्गलका वृद्ध भेटिएपछि वन हेरालुहरूले सब डिभिजन वन कार्यालयका राजेन्द्र घिमिरे र गणेश कार्कीको सहयोगमा उद्धार गरी बेलबारी ल्याएका थिए। साझेदारी वनका अध्यक्ष दिनेशप्रसाद गिरीले वृद्धलाई उद्धृत गर्दै भन्नुभयो, ‘चार दिन अघि कसैले मोटरसाइकलमा हालेर जङ्गलमा छोडेको बुझिएको छ। तर, कसले छोडेको खुलेको छैन।’ 

बेलबारी–७ कि वडाध्यक्ष सुनिता चौधरीले वृद्धका छोरा भारत तिर रहेको र गाउँमा उहाँका आफन्त कोही नभएको बताउनुभयो। उहाँले जङ्गल लगेर छोड्नेको पहिचान नभएको बताउनुभयो। वृद्धको अहिले बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ।