• १ साउन २०८१, मङ्गलबार

बाढीले ४२ परिवार विस्थापित

blog

बाढी पीडित परिवारका सामानहरु सुरक्षित स्थानतर्फ सार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १ गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका ४२ घर परिवार विस्थापित भएका छन् । बाढीको कारण यहाँका ४२ परिवार विस्थापित भएका हुन् ।

स्थानीय गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका २२ घरपरिवार र वडा नम्बर ११ को सिमबजारका २० घरपरिवार विस्थापित भएका हुन्। झिन्चौर र सिमबजार करिब ६० घर बाढी पहिरोको उच्च जोखिममा छन् । 

झिन्चौरका विस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । सिमबजारका विस्थापितहरू राडी बजार र गोईरीमा बसेका छन् । उनीहरूको आफन्तको घरमा सरेको बताइएको छ । 

रेडक्रसद्वारा राहत वितरण

यसैबिच नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर बाढी पीडितहरूलाई राहत उपलब्ध गराएको छ । रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामग्रीहरू उपलब्ध गराइएको हो । ९२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामग्रीहरू बाढी पीडित परिवारलाई उपलब्ध गराइएको सभापति गौतमले जानकारी दिनुभयो । 

बाढी प्रभावित परिवारलाई राहत वितरणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको छ । बाढीले घर क्षति गरेपछि घरभित्रका सामग्रीहरूको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयंमसेवकहरु परिचालन गरिएको छ ।