• १ साउन २०८१, मङ्गलबार

पहिरोको उच्च जोखिममा नरहरिनाथ

blog

पहिरोको जोखिममा रहेको बस्ती । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, साउन १ गते ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा छ । २०७५ साल यता पटक–पटक पहिरोका कारण यहाँका नागरिकले ज्यान गुमाउँदै आएका छन् । सोमबार राती आएको पहिरोका कारणले चार चौपाया मरेका छन् ।

बाढीसँगै आएको पहिराले वडा नं ५ का मनसुरे सहकारीका दुई भैंसी मरेका छन् भने वडा नं ७ का बिरु बटालाका एक हल गोरु ढुङ्गाले च्यापिएर मरेका छन् । घरको आँगनमा बाँधेका गोरु पहिरोले ल्याएको ठुला ढुङ्गाले च्यापिएर मरेका हुन् ।

पहिरोका कारणले नरहरीनाथ गाउँपालिका वडा नं ५ का २० घरपरिवार विस्थापित भएका छन् । उनिहरु आफन्तका घरमा रहेका छन् भने उक्त गाउँका एक सय घर उच्च जोखिममा छ । नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिका सभापति राम बटालाले नरहरिनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको २०७५ साल यताका घटनाले पुष्टि गरेको बताउनुभयो ।

बस्ती स्थानान्तरणको कुरा पटक पटक उठे पनि बस्ती सार्ने काम नहुँदा वर्षेनी पहिरो र खहरेखोलाको बाढीका कारणले नागरिकले ज्यान गुमाउने गरेको बताउनुभयो ।

पहिरोका कारणले २०७५ यता नरहरिनाथ गाउँपालिकामा धेरैले ज्यान गुमाइसकेका छन् । सभापति बटालाले यस विषयमा सरकारसँग नागरिक पनि गम्भीर नभएको जिकिर गर्नुभएको छ ।

२०७७ साल साउन १३ गते बिहान आएको पहिरोमा परेर नरहरिनाथ गाउँपालिका वडा नं ७ का गङ्गे बुढाका सात जना परिवारको मृत्यु भएको थियो । राती पहिरोले घर छोपिँदा छोरा बुहारी, नातिनातिनासहित गङ्गे बुढाका सात जना परिवारका सदस्यको मृत्यु भएको थियो । नरहरिनाथ गाउँपालिकाको एक गाउँबाट अर्को गाउँ जान समस्या भइरहेको छ । खहरेखोलाले पूरै बगर बनाइरहेको र पुल नभएका कारणले आउजाउ गर्न समस्या भइरहेको छ ।

वडा नं ९ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बाढी र पहिरोले गाउँपालिका भरी वितण्डा मचाएको बताउनुभयो । अहिलेसम्म मानवीय क्षति नभए पनि गाईवस्तु भने धेरै मरेको र खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको बताउनुभयो । २०७७ साल जस्तो मानवीय क्षति त गरेको छैन । तर किसानले लगाएको मकैबारी पहिरोले बगर बनाएको प्रवक्ता बोहोराले बताउनुभयो ।

२०७७ सालमा गाउँपालिकाभरि बाढी र पहिरोमा परी ३३ जनाको ज्यान गएको थियो । तत्काल प्रदेश सरकारले वडा नं ४ को सुगुरखालमा नयाँ बस्ती नै निमार्ण गरेर सारेको थियो । तर समुन्द्री सतहदेखि तीन हजार उचाइमा बस्ती भएकाले चिसोका कारणले त्यहाँ बस्न नसक्दा नागरिक पुरानै बस्तीमा सरेका थिए । वडा नं ५ का वडा अध्यक्ष मानबहादुर सहकारी जीवनले पहिरोको उच्च जोखिममा रहेको पुरान्छानी, खातिरुप्सा, दमायाठोक्ना, लगायतका गाउँ जोखिममा रहेको बताउनुभयो । वडा कार्यालय र बस्तीको सम्पर्क विच्छेद भएको बताउनुभयो ।

पहिरोले गर्दा सबैभन्दा बढी प्रभावित वडा नं ५ र ६ बनेको छ । साविकको रुप्सा गाउँविकास समितिका सबै बस्ती जोखिममा छन् । जिल्लाको पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिकाको समालगाउँ लगायतका क्षेत्र पनि उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानतर्फ त्रिपाल भए पनि टाँगेर बस्न भनेको र त्यही अनुसारको सूचना स्थानीय तहले  गरिरहेको जानकारी दिनुभयो ।